नीर शाहदेखि बसुन्धरा भुसालसमेतको तारिफ पाएका गायक पाश्र्व गायक युवराज चौलागाईं

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०८३, शुक्रबार १३:१८

गायक युवराज चौलागाईं चलचित्र पाश्र्व गायनमा स्थापित नाम हो । चलचित्र नोभेम्बर रेनको शीर्ष गीत ‘तिमीलाई के भनुँ’बाट चलचित्र पाश्र्व गायनमा लोकप्रियता हासिल गरेका युवराजले त्यसपछि गायनमा फर्केर हेर्नु परेन । तिमीलाई के भनुँ.. गीत नै गायनको टर्निङ प्वाइन्ट भएको बताउँछन् उनी । यही गीतबाट उनले वर्षभरिमा भएका अवार्डहरुमा ८ वटा अवार्ड चुम्न सफल भएका थिए । त्यसपछि उनको हारेँ हारेँ, तिम्रा डोला डोला हातले जस्ता दर्जनौं चलचित्रका गीतहरु बजारमा आए । आधुनिक गायनमा पनि उनको सयौं गीत रेकर्ड भए । उनी देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रम र स्टुडियो रेकर्डिङमा समेत व्यस्त भए । तिमीलाई के भनुँ, लैजा चरी, तिम्रा डोलाडोला हातमा, तिम्रो माया पाउनलाई, हरेक शब्द, छुटेपछि छुट्यो, तिमी साथमा, पल पल, चोट हुँदा नी, हारेँ हारेँ, छ एकान छ, लटरपटर, बधाई तिमीलाई, टुङ्नाको धुनमा (रिमेक)’ जस्ता कयौं गीत उहाँका श्रोता दर्शकको अत्यधिक रोजाइमा रहेका गीत हुन् ।
उनी तेक्वान्दो खेलको ब्ल्याक बेल्ट प्राप्त खेलाडी हुन् । बलिउड र हलिउडका एक्सन फिल्मले उनीभित्र हिरो बन्ने सपना पलाएको थियो । त्यही हिरो बन्न खेल खेले, डान्स सिकेँ तर हिरो बन्न सकेनन् । गायक बन्ने उद्देश्य बोकेर एसएलसीपछि चितवनबाट काठमाडौं छिरेका उनले धेरै संघर्ष गरे । कहिले होटल चलाए, कहिले वैदेशिक रोजगारीको बाटो रोजे तर गायनभन्दा उनीभित्र अर्को सपना थिएन । बाँच्नका लागि संघर्ष धेरै भए, त्यहीभित्र गायनका लागि अझै संघर्ष गरिरहे । गायनको लक्ष्य प्राप्तिका लागि संगीतकार राम सिटौला र श्यामराज सँग अनुराग संगीत विद्यालयमा संगीत शिक्षा लिए । त्यहीबेला टुङ्नाको धुनमा गीतको रिमेक भर्सन गाएका उनी अहिलेका व्यस्त गायक हुन् । उनी प्रतिष्ठित अभिनेता, गीतकार नीर शाहदेखि प्रतिष्ठित गायिका बसुन्धरा भुसाल समेतले तारिफ गरेका गायक हुन् । पुराना कलाकारदेखि नयाँ कलाकारसम्म उनी उदाहरणीय गायकका रुपमा परिचित छन् ।
उनीसँग म्यूजिक खबरका लागि नजिकबाट चिनौं कार्यक्रममा गरिएको भिडियो कुराकानी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु