![](https://musickhabar.com/wp-content/uploads/lok-samman-300x150.jpg)
काठमाडौं । ‘प्रसव पीडा साह्रै गाह्रो रहेछ’ आफ्नो गीति पुस्तक सार्वजनिक कार्यक्रममा बरिष्ठ गीतकार तथा कलाकार यासेली योङ्हाङले भने, ‘तीन दशकअघि नै गीति पुस्तक निकाल्ने सोच बनाएको थिए तर, बल्ल अहिले ल्याएँ ।’
लिम्बू कला तथा भाषाविद्समेत रहेका यासेलीको ‘यासेली योङहाङका लिम्बू गीतहरु’ नामक गीति पुस्तकको शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । किरात याक्थुङ चुम्लुङद्वारा ललितपुरस्थित चुम्लुङ हिममा आयोजित कार्यक्रममा बरिष्ठ कवि बैरागी काइँला, डा. नारायणप्रसाद संग्रौला, चलचित्र निर्देशक नविन सुब्बालगायतले यासेलीको पुस्तकलाई लोकार्पण गरेका थिए । कार्यक्रममा कवि काइँलाले लोकार्पित गीति पुस्तकबारे बोल्दै भने, ‘याुसेली योङ्हाङ आफैमा लिम्बू भाषाका गीतहरुको संग्रह हो । आज उहाँले आफ्नो संग्रहभित्रका केही गीत पुस्तकमा ल्याउँनुभएको छ ।’
गीति पुस्तक सार्वजनिक तथा विमर्श कार्यक्रममा गीतकार तथा कलाकार यासेलीले आफ्नो गीतिकारिताबारे स्पष्ट पारेका थिए । उनले आफूसँग कविता र नाटकको पाण्डुलिपीको चाङ नै भएको बताउँदै भने, ‘मेरो ती पाण्डुलिपी कविताहरु कहिले प्रकाशित हुन्छ भन्ने मलाई नै थाहा छैन ।’ तीन दशकअघिको गीति पुस्तक निकाल्ने सोच अहिले बल्ल साकार भएको बताउँदै उनले भने, ‘प्रसव बेदनाको पीडा साह्रै गाह्रो रहेछ । अहिले बल्ल सञ्चो भएको छ ।
यासेली करिब तीन दशकयता लिम्बू भाषा, लिपी, संस्कृति र मुन्धुमको खोज तथा अनुसन्धानमा लाग्दै आएका छन् । यससँगै गीति लेखन र कलाकारितामा समेत सक्रिय यासेली लिम्बू भाषामा सबैभन्दा धेरै गीत लेख्ने गीतकारमा पर्छन् । उनको ‘यासेली योङहाङका लिम्बू गीतहरु’ मा जम्मा ६२ वटा गीत छन् । तीमध्ये अधिकांश रेर्कड भइसकेका गीत रहेका छन् ।
‘पुस्तकमा संग्रहीत केही गीतमात्र रेर्कड नभएका छन््’, उनले भने, ‘ती गीत मलाई आफैलाई मन परेको राखेको हुँ ।’ उनले आफ्ना १५ प्रतिशत गीति सिर्जनामात्र पुस्तकमा अँटाएको बताउँदै भने, ‘अझै मसँग गीतका चाङ् नै छन् ।’ उनले आफूसँग गीतमात्र नभएर कविता, नाटक र कथाका पाण्डुलिपीका चाङ् नै भएको बताउँदै भने, ‘अब नाटक प्रकाशित गर्ने सोच छ तर त्यो सोच कहिले पूरा हुन्छ भन्ने थाहा छैन ।’ सयौं लिम्बू तथा नेपाली भाषाका गीत लेखिसकेका यासेलीको ‘यासेली योङहाङका लिम्बू गीतहरु’ संख्याका हिसाबले दोस्रो कृति हो । यस पुस्तकलाई हङकङमा बस्दै आएकी चिना वनेमले प्रकाशन गरेकी हुन् ।
किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव प्रेम एकतेनको सभापतित्वमा सम्पन्न कार्यक्रममा लिम्बू संस्कृति र रहन–सहनबारे पीएचडी गरेका डा. नारायणप्रसाद संग्रौलालाई तेह्रथुमे ढाका कलेक्शनको तर्फबाट निरु आङबुङले ढाकाको बर्को ओढाएर सम्मान गरेका थिए ।