
१ जेष्ठ, काठमाडौं । नेपालकै टप तथा ब्यवसायी उत्कृष्ट मोडल नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का लगायत २४ मोडल एउटै र्याम्पमा प्रस्तुत हुने भएका छन् । आगामी ११ जेठमा (अर्थात २५ मे) मा सोल्टी क्राउन प्लाजाको रोज गार्डेन थिएटरमा आयोजना हुने ‘दलजित सुदान फेसन रनवे २०१८’मा यी मोडल एकसाथ र्याम्पमा उत्रिन लागेका हुन् ।
नेपालमै पहिलो पटक १९२ फिट लामो युसेफ र्याम्प स्टेज सहित आयोजना हुन लागेको फेसन सो अहिले सम्मकै उत्कृष्ट शो हुने आयोजकले बताएको छ । सोमा नेपालका सुप्रसिद्ध फेसन डिजाइनर दलजित सुदानले तयार पारेको बिभिन्न अन्तराष्ट्रिय स्तरका पहिरनहरु प्रस्तुत हुनेछन् । नेक्स्ट मोडल नेपालको ब्याबस्थापन तथा संयोजनामा सोको आयोजना हुन लागेको हो ।
नेक्स्ट मोडल नेपालले सोमबार पत्रकार भेटघाट कार्यक्रम गर्दै सोको बिभिन्न पक्षबारे जानकारी दिएको हो । सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा यो सोपछि नेपालको फेसन उद्योगले बेग्लै छलाङ मार्ने नेक्स्ट मोडल नेपालका अध्यक्ष रबि धमलाले बताए । ‘सोले नयाँ पिडिलाई समेत फेसन प्रति आकर्षित गर्छ’ रबिले भने ‘मोडललाई समेत स्थापित हुन उत्प्रेरण दिनेकाम गर्छ ।’ फेसन सो नेपालमा आयोजना भएका अहिलेसम्मकै भन्दा फरक तथा उत्कृष्ट बनाउने कोसिस आफ्नो रहेको उनले सुनाए ।
१६ महिला र ८ पुरुष मोडलले जफ्रानको जादु, पारदर्शिता र परम्परागत गरि तीन सिक्वेसमा डिजाइनर सुदानले तयार पारेका आकर्षक फेसनहरु प्रदर्शन गर्नेछन् । र्याम्पमा देखिने सबै मोडल उत्कृष्ट मोडल हुने भएकोले सो टपर पनि सबै मोडल भएको आयोजकको भनाई रहेको छ ।
थुप्रै फेसन सो मार्फत आफ्ना डिजाइनहरु प्रस्तुत गरिसकेकी सुदानको यो पहिलो एकल सो हो । फेसन सोका लागि आफु निकै एक्साइटेट रहेको डिजाइनर सुदानले बताइन् । ‘अहिलेसम्म र्याम्पमा प्रस्तुत नभएका र नेचुरल डिजाइनले सोमा प्रथामिकता पाउनेछन् ’ उनले भनिन् ।
मिस नेपालकी कोरियोग्राफर रचना गुरुङले दलजित सुदानका डिजाइनसँग आफु राम्रोसँग परिचित भएको बताउदै सो फेसन पारखीहरुका लागि सरप्राइज हुने बताइन् । उनले सोमा प्रस्तुत हुने पहिरन अहिलेसम्मकै फरक हुने दाबी गर्दै सबैले लाभ उठाउनु पर्ने धारण राखिन् ।
पहिलो मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठले दलजित सुदानका पहिरन आफुले केही पहिले देखी फलो गर्दै आएको बताइन् । ‘ म पनि फेसन सोको हिस्सा बन्न पाएकोमा निकै खुसी छु ’नग्माले भनिन् ‘यस्ता खालका सो सायदै बिरलै हुन्छ ।’ सोले नेपाली फेसन जगतमा एउटा कायापलट ल्याउने उनको भनाई रहेको थियो ।
साँझ ६ बजेबाट सुरु हुने सो तीन घन्टासम्म चल्नेछ । सोले नेपाल पनि फेसनको मावलमा अगाडी छ भन्ने सन्देश अन्तराष्ट्रिय जगतमा पुर्याउने आयोजकको बिश्वास रहेको छ ।