दोङको शव मलेसियामै अड्कियो

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७०, बिहीबार

काठमाडौं, २७ मंसिर । तामाङ चलचित्रका युवा निर्देशक सुदिप दोङको निधन भएको छ । २ वर्षदेखि मलेसियामा रहेका दोङको क्वालालाम्पुरमा शुक्रवार निधन भएको उनको परिवारले जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको र हालसम्म मृत्युको कारण खुल्न नसकेको परिवार स्रोतको भनाइ छ ।
०५७ सालमा दीपेन्द्र दोङ तामाङले निर्देशन गरेको तामाङ भाषाको चलचित्र ‘मयुङ बुरिङ’बाट कलाकारका रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका दोङ करिब ५ वर्षअघिदेखि तामाङ चलचित्र निर्देशकका रुपमा सक्रिय थिए । त्यसक्रममा उनले ह्युल्ला माया, दोर्जे डन, मयुङ, आङाला मिख्ली, कर्मलगायत आधा दर्जन चलचित्रको निर्देशन गरेका थिए । उनको ह्युल्ला माया चलचित्र हेटौडामा ०६७ मा आयोजित पहिलो तामाङ चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्रको रुपमा पुरस्कृत भएको थियो ।
तामाङ चलचित्र संघको आइतबार बसेको आकस्मिक वैठकले संघको सदस्य तथा निर्देशक दोङको निधनप्रति शोक व्यक्त गर्दै उनको शवलाई नेपाल झिकाउँन नेपाल सरकारलगायत सम्बन्धित निकायलाई अनुरोध गर्ने र आवश्यक अन्य पहल गर्ने निर्णय गरेको छ । साथै शव नेपाल झिकाइएपछि विशेष सम्मानका साथ बौद्ध परम्पराअनुसार अन्तिम अन्तयेष्टि गर्ने निर्णय पनि संघले गरेको छ । काभ्रे पिन्थली स्थायी घर भएका दोङको श्रीमति सहित एक छोरा र एक छोरी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु