काठमाडौं । मुलुकमा संविधानसभाको चुनाव आइसकेको बेला कसैलाई भोट माग्दैमा फुर्सद छैन कोही भने नागरिकता लिने बेला भर्खर भएको छ भनेर लाइन बस्दैछन् । अब कुरो कसरी पत्याउने उमेरले २० को नेटो काटिसकेकाहरु नागरिकता नै छैन भनेर लाइन बस्छन् । कलाकार राजु लामिछाने र उनको टोली नै नागरिकता लिन लाइन बसेको देख्दा हामी नै अचम्ममा प¥यौं । यी अब नागरिकता लिन लाइन लागेका हुन् की राम्री युवती देखेर नजिकिँदै गएका हुन् भनेर पत्याउन गाह्रो भयो ।
यो नेपाल नै हो, सक्नेले जे गरे पनि हुन्छ । अब व्यावसाय छाडेर नागरिकता लिने राजु लामिछाने हुन् या विद्यालयका प्रधानाध्यापक मोती जैसी हुन्, यिनका कुरा पत्याउनेहरु पनि कस्ता होलान् । कैलालीको एक स्कुलका प्रधानाध्यापक मोती जैसी, धादिङका प्रकाश श्रेष्ठ, भिम आले, तहुँकी सुष्मा थापा, रामेछापकी शारदा थापा र कलाकार अन्जु निरौला एउटै लाइनमा नागरिकता लिन बसेको देख्दा अब यिनीहरुको जिल्ला सदरमुकाम एउटै रहेछ की भन्ने लाग्यो ।
तर कुरो अर्कै रहेछ । यिनीहरु त देशको नागरिक भएर पनि नागरिकता नपाएकाहरुलाई सजग गराउने जनचेतनामूलक गीतको म्यूजिक भिडियोका लागि पो लाइन बसेका रहेछन् । गोपाल घिमिरेको शब्दमा राजेश पायल राई र टीका प्रसाइको स्वरमा रहेको नागरिकता सम्बन्धि जनचेतनामूलक गीतमा राजु लामिछाने, अन्जु निरौला र उनका साथीहरुले अभिनय पो गर्दैरहेछन् । यसमा समुन तण्डुकारको छायाँकन रहेको छ भने रचनाकार गोपाल घिमिरे आफैंले निर्देशन गरेका छन् । यस गीतको कोरियोग्राफर भने भोगेन्द्र मानन्धर रहेका छन् भने यस गीतलाई कानुन विकास मञ्चको सहयोगमा निर्माण गरिएको हो ।