पौष ८, काठमाण्डौ । विगत एक दशकदेखि साहित्य र सञ्चार क्षेत्रमा सक्रिय रहेका युवा गीतकार टिएन रेग्मीले नेपाली गीतसंगीतमा विद्यमान कुरितिप्रति असन्तुष्ट व्यक्त गरेका छन् । रेग्मीले पछिल्लो समयमा नेपाली संगीत क्षेत्रमा संगीतकर्मीहरु केवल चर्चाका लागि अस्वस्थ प्रतिस्पर्धा गर्ने र अनेक नाजायत हर्कत समेत गर्न पछि नहट्ने प्रवृतिमा लागेकोमा दुखेसो व्यक्त गरेका छन् । डिजिटल प्रविधिले नेपाली गीतसंगीतको बजारमा नकारात्मक प्रभाव परेकोमा र सूचना प्रविधिको प्रयोगले खसी र काउलीको बजार बढ्छ तर गीतसंगीतको किन बढ्दैन ? यो स्वाभाविक होइन । यहाँ केही गडबड छ भन्दै सांगीतिक क्षेत्रप्रतिको असन्तुष्टि व्यक्त गरेका छन् ।
राजधानीमा आयोजित गीतकार टीएन रेग्मीकोे गीति एल्बम ‘मर्यादा’ सार्वजनिक समारोहमा सम्बोधन गर्दै उनले यस्तो आशय व्यक्त गरेका हुन् । ‘मर्यादा’ गीति एल्बम विन्ध्यवासिनी म्युजिक प्रा.लि.मार्फत बजारमा आएको हो । उक्त गीति एल्बममा प्रकाश नेपालीले संगीत भरेका छन् । एल्बममा समावेश ६ वटा गीतहरु रीमा गुरुङ, जुनु रिजाल, सुमिना लो, शिव परियार, विश्व नेपाली र मदन सेन्चुरीद्धारा स्वरबद्ध गरिएको छ ।कार्यक्रममा ‘यादै नआए तिम्रो’ शीर्षकको गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । भिडियोमा रिश्ता बस्नेत, अमृत रिमाल, किरण बराल, सुनिल कटुवाल, दिनेश केसी र सम्झना केसीले अभिनय गरेका छन् । विश्व नेपालीको स्वरमा रहेको ‘माया मैले तिमीलाई’ बोलको गीतको भिडियो यसअघि सार्वजनिक भइसकेको छ ।
सचेतना अभियान नेपालका उपाध्यक्ष कुमार अधिकारी र गीतकार विपिन किरणले कार्यक्रमलाई सम्बोधन गर्दै एल्बमको सफलताको शुभकामना व्यक्त गरेका थिए । गीतकार किरणले यसप्रकारका कृतिले गीतसंगीतको विकासमा टेवा पु¥याउने बताए ।
वरिष्ठ संगीतकार राजु सिंहले मर्यादा एल्बमको संगीत पक्षको समीक्षा गरेका थिए । सिंहले मर्यादा एल्बममा गीत, संगीत र गायनको उत्कृष्ट संयोजन भएको धारणा व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले मर्यादा एल्बमका सर्जक रेग्मी साहित्य सिर्जनामा नयाँ नभएर संगीत क्षेत्रमा मात्रै नयाँ भएको बताए । मर्यादा एल्बममा समावेश गीतमा स्थानीयताको चित्रण, जीवन दर्शन र भोगाइका सवालहरुको उत्कृष्ट संयोजन भएको बरालको भनाइ थियो । शब्द, संगीत, भाव, गायन र प्राविधिक पक्ष हरेक हिसाबले मर्यादा एल्बम उत्कृष्ट कृति भएको बरालको धारणा थियो ।कार्यक्रमका अध्यक्ष विन्ध्यवासिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशक सुवास रेग्मीले गीतसंगीतका लागि डिजिटल प्रविधि आफैमा चुनौती नभएर व्यवसायीहरुको सोच र क्षमतासँग जोडिएको विषय भएको बताए । निर्देशक रेग्मीले संगीत व्यवसायीहरुले डिजिटल व्यापारको रोयल्टी संकलन समेत गर्न नसक्ने अवस्था रहेको उल्लेख गरे । संगीत व्यवसायीहरुमा खुला, व्यावसायिक सोचको अभाव भएको उनको धारणा थियो । सबैजना आफ्नै झोली भर्ने कार्यमा लागेकाले संगीत क्षेत्रमा भद्रगोल देखिएको रेग्मीको भनाइ थियो ।
‘यादै नआए तिम्रो’ गीतको म्युजिक भिडियो :