काठमाडौँ । मुक्तक सङ्ग्रह स्पन्दनका छालहरु मनको किनारमा उभिनेहरुलाई छुन सफल भएको छ । साहित्यकार विमल गिरीद्वारा लिखित स्पन्दनका छालहरुमा १५० वटा मुक्तकहरु समावेश गरिएका छन् । प्रवासमा रहेर साहित्यमा निरन्तर लागिरहेका विमल गिरीले कविता, गीत, गजल, हाइकुजस्ता विधामा कृतिहरु प्रकाशित गरिसकेका छन् । बेल्जियमा कर्मथलो बनाउँदै आएका विमल गिरी झापा चारपानेका हुन् । पत्रपत्रिकामा समेत संलग्न रहेका गिरीलाई साहित्यमा लाग्ने प्रेरणा भने भोजपुरको साहित्यिक जन्मले पनि दिएको हुनुपर्छ । स्पन्दनका छालहरु लिएर किनारमा उभिएका साहित्यकार गिरी शब्दलाई खेलाउन निकै खप्पिस छन् । मनको अभिव्यक्ति शब्दमार्फत् प्रस्फुटित पार्न सिपालु गिरीले मुक्तकभित्र घरदेशको चासोलाई उल्लेख गरेका छन् ।
प्रेमले थिचेर यो मन न्यानो पार न प्रिया
जूनले चिहायो विस्तारै पर्दा झार न प्रिया
क्षणभरमै चुल्ठोभरि गुराँस सिउरिदिन्छु
तिम्रो लाजको घुम्टो थोरै माथि सार न प्रिया
गराँसलाई चुल्ठोमा सिउरिने उनको स्वभावभित्र प्रेमले व्याकुल बनाएको अभिव्यक्ति प्रस्तुत भएको छ । प्रेमभित्र गहिरिँदै गरेको बेला जूनले चिहाउँदा लाजको घुम्टोलाई खोल्न पनि उनी शब्दबाटै प्रयत्न गरिरहेका छन् । गिरीका हरेक शब्दले मनभित्र काउकुती लगाउँछ । सर्जक गिरी परदेश बस्छन् तर कहिँ न कहिँ घरदेशको दुःख पीडा र परिवेशलाई घुलाउने गर्छन् ।
अभावले डो¥याई लगेको शहरमा फसें म
मेरो भन्नु थोरै रहर थ्यो त्यै रहरमा फसें म
समयले, आफन्तले पालैपालो निचोरे मलाई
त्यसैले त आज परदेशको जहरमा फसें म
बेरोजगारी नेपाली मन सधैं अभावै अभावमा हुन्छ भन्ने उनको शब्दले यहाँ देखाएको छ । अभावले नै परदेशमा डो¥याएको उनको मनलाई पनि रहरैरहरको सागरमा फसाएको छ । उनी त्यो सागरमा पौडँदैछन् । समयले र आफन्तले निचोरेर परदशेको जहरमा फसेका मुक्तककार विमल गिरी वास्तवमै समयको पावन्दीलाई हेक्का राख्ने गर्छन् सिर्जनामा । अतितलाई स्मरण गराउँछ उनको कृतिले, मनलाई विचलित बनाउँछ उनको कृतिले अनि मनभित्र घरदेशको काउकुति लगाउने शब्दशब्द छ उनको कृतिभित्र ।