
१८ भाद्र २०७४, काठमाडौं । ज्योतिप्रकाश विश्वकर्मा पेशाले कलाकार हुन् । ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका ज्योतिप्रकाश यतिखेर भने सेतोमा सेतो कलाले भरिपूर्ण हुँदै अगाडि बढेका छन् । ७औं चित्रकला प्रदर्शनीमार्फत हिजो शनिबार राजधानीको नेपाल आर्ट काउन्सिलमा उत्रिएका ज्योतिप्रकाशले ‘आमा’ शीर्षकमा नयाँ प्रयोगका साथ आफू उत्रिएको बताएका छन् । ‘मेरो देश नै मेरी आमा हुन्’, ज्योति प्रकाश भन्छन्, ‘आमा आफँैमा एउटा फराकिलो शब्द हो । यो शब्दले देशको अवस्थालाई प्रतिनिधित्व गर्छ । देशमा भएका हजारौँ आमाका कथा, व्यथा र यथार्थलाई ‘पेन्टिङ’मा झल्काउन सकिन्छ भन्ने लाग्यो । त्यसो त मेरो देशका धेरै आमाहरूमाझ मेरी आमा पनि छिन् । आमाहरूकै सम्मानखातिर मैले एकल प्रदर्शनीको शीर्षक नै ‘आमा’ राखेको हुँ ।’

आमा शीर्षकमा गरिएको एकल प्रदर्शनीमा उनले १५ वटा पेन्टिङ कलर रहेका छन् । मातृभूमिको कथा ‘आमा’ नाम दिएर प्रदर्शनीमा राखिएका चित्रकला सबै चित्र सेतोमाथि सेतै रंगले पोतिएका छन् । सेतोबाहेक अन्य रंग प्रयोग नगरिएको अनौठो चित्र प्रदर्शनी हेर्न दर्शकको घुइँचो लागेको छ ।

प्रदर्शनीमा परावर्तन, दुःखमा बुद्ध, मेरो राहदनी पत्र, ऐश्वर्या, अंकमा मोतिजस्ता चित्र राखिएका छन् । प्रदर्शनी शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले कलाले देश तथा समाजको पहिचान हुने भएकाले यसको विकासमा सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

मूर्तिकार सुदर्शन राणाले आधुनिक कलाकार ज्योतिले नयाँ सोच र नौलो प्रयोग गर्नुभएको बताउँदै सेतो रंगभित्र शान्तिको खोजी गर्न सकिने चर्चा गरे । कला समीक्षक मुकेश मल्लले यस चित्रकलामा सेतोभित्र गहिरिएर जाँदा बुद्ध उत्पत्ति भएको महशुस गराउने बताउँदै कलाकारले बुद्ध मेरो हो र यसभित्र शान्ति पाइन्छ भन्ने सन्देश दिन खोजेको बताए ।

कला समीक्षक रमेश खनालले कलाकारले समाज परिवर्तनको रुप देखाउन खोजेको भन्दै देशलाई सुन्दर र शान्त बनाउन प्रयत्न हुनुपर्छ भने । वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले कलाबाट नै मुलुक चिनिने भएकाले हाम्रो समाजमा कलाको ठूलो महत्व छ भने ।
