• अस्ताए तबलाका महानायक होमनाथ उपाध्याय (जीवनी सहित)

    म्यूजिक खबर
    प्रकाशित: २३ भाद्र २०७३, बिहीबार

    homnath-upadhyaya1-copy

    नेपाली संगीतका तबलाका महानायक होमनाथ उपाध्ययको निधन भएको दुःखद समाचार आज हामीले सु्न्नुपरेको छ । वि.सं. २००० असार २० गते काठमाण्डौंको ज्ञानेश्वरमा जन्मिएका नेपाली संगीतका एक बिशिष्ठ दर्जाका तबलाबादक हुन होमनाथ उपाध्यायले नेपाली शास्त्रिय संगीतमा महत्वपूर्ण योगदान पू¥याएका छन् । हामीबाट सँधैका लागि विदा भएका कुशल र सफल बाद्यबादकको जीवनीलाई सार संक्षेपमा प्रस्तुत गरिएको छ ।

    homnath1
    संगीतलाईनै जीवनको महत्वपुर्ण साधना र सम्पत्ति बनाएका होमनाथ न्यौपानेको जन्म वि.सं.२००० साल असार २० गते काठमाण्डौको ज्ञानेश्वरमा भएको हो । सानैदेखि तबलाबादनमा असाधारण क्षमता दर्साउँदै आएका उनले बनारसमा शिक्षा आर्जनको क्रममा तबला बादन पनि सिकेका हुन्। उनले जीवनमा कति वटा शास्त्रीय रागमा बादन प्रस्तुत गरे, कति गीतमा बजाए स्वयंले कहिलै हिसाबकिताव राखेनन ।

    उनि बिस २०२१ सालमा आइएको अध्ययन गरि बनारसबाट फर्किए । २०२५ सालमा गोरखपुर बिश्वबिध्यालयबाट स्नातक गरे । २०२६ सालमा एकेडेमीमा तबला बादककारुपमा जागिरे भएर २०२९ सालसम्मै काम गरे एक कुशल र सफल बाद्यबादककारुपमा । उनले मुम्बैका हिन्दी फिल्मी गीतमा समेत तबला बादन गरेका छन् । २०२७ सालमा उनि बम्बै मै थिए । त्यहाँ उनले साढे ३ बर्षसम्म संगीत निर्देशक आरडी बर्मनका गीतहरुमा तबला बादन गरे । हिन्दुस्तानका प्रसिद्ध संगीतकार आरडी बर्मनका समेत प्रिय थिए उनि । उनले धेरै फिचर फिल्म, नाटक, नाटिका, वृत्त चित्र, आधुनिक गीत, शास्त्रीय तालबादनमा तबला बादन प्रस्तुत गरेका मात्र छैनन बिशिष्ठ श्रेणीको कला समेत प्रस्तुत गरेका छन् ।

    homnath-upadhyaya
    रेडियो नेपालद्वारा आयोजित सांगीतिक बिशेष प्रतियोगीता, सम्मेलन, उत्सव, आदिमा समेत तालबादन प्रस्तुत गरेका छन् । उनि तबलाका सोलोइष्ट हुन् । तबलाका नेपाली जादुगर हुन् भन्दा अत्युक्ती हुँदैन उनलाई । तबलामा हँसाउन, रुवाउन, छमछमी नचाउन, गीति भावलाई उचाल्न, उराल्न, जुगलबन्दी गर्न सफल हुन् उनि । उनले स्वरसम्राट नारायणगोपालका एकल कार्यक्रमहरुमा पनि तबला बादनमा दर्शकलाई तालयुक्त भाव छरेका र बलियो प्रभाव पारेका छन् । नेपाली स्टेजहरुमा मात्र नभई बिदेशका महत्वपुर्ण स्टेजहरुमा समेत बिदेशी संगीत प्रेमीहरु माझ तबला बादनकला प्रस्तुत गरेर आफ्नो नाम उचो बनाएका छन् ।

    उनि गीति बादक या स्टेजका तबलाका नायक मात्र होइनन, उनले बि।स। २०३२ सालमा प्रयाग संगीत समीति इल्लाहबादबाट तबलाबादनमा संगीत प्रबिण गरेका छन् । उनि बिस २०३० सालमा शुशिल कन्या बिणासंग बैवाहिक बन्धनमा बाँधिई दुई सन्तान जन्माए । छोरा प्रमोद पनि नेपाली संगीतका एक कुशल तबला बादक नै हुन् । होमनाथ उपाध्याय त्रिभुवन विश्व बिद्यालय ललितकला क्याम्पसमा लामो समय तबला शिक्षा शिक्षण गरेका संगीत गुरु पनि हुन् ।

    उनले नेपाली संगीत आफु जस्तै थुप्रै तबला बादकहरु जन्माएका पनि छन् भने अमेरिकाको ३ महिने बसाईमा त्यहांका दर्शकहरुलाई आफ्नो एकल तालबादन प्रस्तुत गरेर तबलालाई आफुसंगै लोकप्रिय बनाउन समेत महत्वपुर्ण योगदान पुर्याए । उनले तबला बादनको शिलशिलामा युरोप अमेरिका गाडी मुलुक भारत पाकिस्तान लगायतका मुलुकहरुको सांगीतिक भ्रमण समेत गरेका छन् । उनले २०२४ साल र २०२६ सालमा रेडियो नेपालद्वारा आयोजित प्रतियोगीतात्मक संगीत सम्मेलनमा राजा महेन्द्रबाट तबला बादनमा स्वर्ण पदक तथा पुरस्कार समेत प्राप्त गरेका थिए ।

    homnath2
    तबलाबादक होमनाथ उपाध्याय एक तबला बादक मात्र नभई तबला बादनमा उत्कृष्ठ कलाकारिता गर्ने, यसको अनुसन्धान र खोजमा समेत योगदान पुर्याउने, तबला बादनमा तकनिकी, शैली, शिल्प, बिबिधता, नबिनता, प्रस्तुत गर्ने कलाकार हुन् । तबलालाई नेपाली संगीतको बौद्दिक तहमा लान हरसम्भव प्रयत्नशील उनि तबलामा व्यापक ज्ञान र त्यसको प्रभावकारिताका बारेमा गहन शोध समेत गरेका श्रष्टा हुन् ।यति सत्कर्म गरेका एक साधक, संगीतका उपासक, नेपाली गायक गायिका संगीतकार एरेन्जर र सम्पूर्ण संगीतकर्मीहरुका एक प्रिय कलाकारको निधनले नेपाली संगीतलाई ठुलो घाटा पुर्याएको छ ।

    हामीबाट सँधैका लागि विदा भएका प्रिय कलाकार उपाध्याय प्रति यो दुःखद घडीमा हार्दिक श्रद्धा सुमन । मृत आत्माले चिर शान्तिको कामना । साथै शोक सन्तप्त परिवार जन प्रति हार्दिक समबेदना प्रकट गर्दछौं ।

    टीका भण्डारी
    गायक /संगीतकार

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु