धर्ममका नाममा गलत प्रचार गरे : अन्जु

म्यूजिक खबर
प्रकाशित: १९ भाद्र २०७१, बिहीबार

काठमाडौं, १९ भाद्र । हिन्दू धर्मको गीत गाउन गायिका अन्जु पन्तले इन्कार गरेको भन्ने समाचारहरु संचारमाध्यममा आइरहेको बेला गायिका पन्तले भने धर्मका नाम जोडेर गलत प्रचारबाजी गरिएको बताएकी छिन् । धर्मसँग आस्था राख्ने दर्जनौं भजनहरु मैले गाइसकेको छु तर पछिल्लो समय म क्रिश्चियन धर्म माने पनि सबैलाई शुभआशिर्वाद दिइरहेको छु अन्जुले म्यूजिक खबरसँगको कुराकानीमा भनिन् । ‘मलाई एउटा गीत गाउनुछ भनेर बोलाउनुभयो । स्टुडियो प्रवेश गरेपछि शुभकामना गीत हो भन्नु भयो तर गीत हेर्दा मेरो जीवनमा लागू नहुने देखेर मैले यो गीत गाउन नसक्ने भए भाइ भनेको थिएँ, उहाँले हुन्छ भन्नुभएको थियो तर अहिले गलत प्रचारबाजीका रुपमा संचारमाध्यममा लिइँदा यसले धर्मका नाममा सामाजिक सद्भाव विथोल्न खोजिएको जस्तो लागेको छ’ पन्तले भनिन् ।
गायिका अन्जु पन्तले दसैंको गीत ‘दुर्गा माताको आशिर्वादले’ भन्ने गाउन नसक्ने बताएकी हुन् । सबै भगवान समान छन् तर आफ्नो जीवनमा लागू नहुने गीतहरु अब गाउन छाडेकी छु म्यूजिकखबरसँग पन्तले भनिन् । पछिल्लो समय गायनमा कम उपस्थिति भइरहेको बेला गायिका पन्तको यो समाचारले उनको गायनयात्रालाई प्रभाव पार्ने भनेर समाचारहरु आरहे पनि पन्त भने आफूले कसैलाई नकारात्मक रुपमा नलिएको बताएकी छिन् । यतिबेला गायिका पन्तका बारेमा अनलाईन संचारमाध्यमहरुले विभिन्नखालका समाचार प्रकाशन गरिरहेका छन् भने सामाजिक सञ्जालमा उनलाई गाली बेइज्जती गरिरहेको अवस्था पनि छ । तर पन्त भने ती समाचार र गाली बेइज्जतीलाई ‘जसले जति बुझे र जाने त्यति नै गरे’ भन्दै त्यो सबै प्रभुले हेर्नुभएको छ भन्छिन् । आफू सबैको गायिका भएको कारण कसैलाई पनि धार्मिक आस्थामा आँच आउने काम नगर्ने बताउँदै उनले भनिन् – मेरो सबै स्रोता, शुभचिन्तकहरुमा आफू हिन्दू धर्मको विरोधी नभएको तर क्रिश्चियन धर्म मान्दा आफ्नो आत्माले शान्ति पाएको छ ।’

anju-panta

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु