![LP Joshi-Laxmi Prasad Joshi](https://musickhabar.com/wp-content/uploads/Lp-josi-150x150.jpg)
असार ७, २०७४
काठमाडौं । संसारभरि नै आज विश्व संगीत दिवस मनाइंदैछ । नेपालमा पनि विविध संघ–संस्थाले विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाइरहेका छन् । यस्तै नेपाल सांगीतिक संघ, सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, र नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले मंगलबार नाचघरमा संयुक्त रुपमा विविध कार्यक्रम गरेर विश्व संगीत दिवस भव्यरुपमा मनाए ।
नेपाल पर्यटन बोर्ड प्रबद्र्धनमा आयोजना भएको उक्त कार्यक्रममा नेपाली संगीत क्षेत्रमा आजिवन योगदान दिएको भन्दै विभिन्न अग्रज स्रष्टालाई विशिष्ट सम्मानबाट सम्मानित गरियो । सम्मान पाउनेमा गीतकार डा. रामविक्रम सिजापती, संगीतकार जगत मदन थापा, जनपक्षिय गायनका तर्फबाट गायक जेबी टुहुरे, शास्त्रिय गायनका तर्फबाट इन्दिरा श्रेष्ठ, वाद्यवादक किशोर गुरुङ, नृत्य निर्देशक हनि श्रेष्ठ, कलापत्रकार पुष्कल श्रेष्ठ रहेका छन् ।
यस्तै नेपाली सांगीतिक क्षेत्रमा योगदान पु¥याउँदै आएका कलाकारहरुलाई पनि सम्मान गरिएको थियो । गायक आन्नद कार्की, सिताराम पोखरेल लगायत कलाकार सम्मानित भए ।
उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा, संचार मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा र नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्टार राजेन्द्र सिग्देलले सो सम्मान प्रदान गरे ।
उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व संगीत दिवसको अबसरमा सबैलाई शुभकामना दिँदै गीत संगीत मानिसको हरपलको साथी भएको बताए । उनले संगीत र कला बिना जीवनको कल्पना गर्न नसकिने धारणा राख्दै स्रष्टालाई राष्ट्रबाट सम्मान हुनु पर्छ भने। लोकसंगीतबाट सुरु भएको नेपाली संगीत आधुनिक र पाश्चात्य शैलीको हुँदै अहिलेको अबस्थासम्म आईपुगेको पनि उपराष्ट्रपति पुनले बताए ।
नेपाली सेनाको सांगीतिक व्याण्डको प्रस्तुतिबाट सुरु भएको सो कार्यक्रममा नेपालका विभिन्न साँगीतिक संघ संस्थाले विभिन्न गीतसंगीत प्रस्तुत गरे। सो क्रममा सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले स्वागत मन्तव्य राखेका थिए भने नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार राजेन्द्र सिग्देलले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा संस्थानका तर्फबाट गायिका लोचन भट्टराई र अन्य साथीहरुको प्रस्तुतिमा लड्छौ किन बित्थामा मेरा सुपुत्रहरु हो भन्ने बोलको गीत गाएकी थिइन् । यस्तै साधना कला केन्द्रको टिमले रातो र चन्द्र सुर्य बोलको गीतको नृत्य पनि आकर्षक थियो । शशि शर्मा मजगैयाँले पहिलो चरणमा कार्यक्रम सञ्चालन गरेका थिए भने दोश्रो चरणमा कार्यक्रम सन्चालक रमेश बिजी रहेका थिए ।