• अर्जुन, नारायण र चेतनको जय माया प्रेम

    म्यूजिक खबर
    प्रकाशित: १४ चैत्र २०७४, बुधबार

    १४ चैत, काठमाडौं । जय माया प्रेम यो सबैका लागि प्रयोग हुने शब्द हुने । प्रेमी र प्रेमिकाबीचको सम्बन्धमा मात्र होइन जीवन र जगतसँग मेल खाने विविध विषयमा जय मायाप्रेम लागू हुने गर्छ । दुई आत्माको मिलनलाई मात्र मायाप्रेममा प्रयोग गर्नु गलत हुन्छ, कहिलेकाहीँ प्रकृति, जीव जन्तुसँगको प्रेमले पनि संसार बदल्ने काम भएको हुन्छ । तर एकआपसको सामिप्यता भने मायाप्रेममा पक्कै पनि हुन्छ । त्यही सामिप्यतासँगै सुरु भएको छ संगीतकार चेतन सापकोटासँग गीतकार अर्जुनरत्न भिखारी र गायक नारायण धितालको ‘जय माया प्रेम’ ।


    ‘जय माया प्रेम’ ८ महिनाअघि बेल्जियममा भेट हुँदा बिउ रोपिएको भए पनि दुई महिना अगाडिबाट मात्र काम सुरु भएको थियो । दुई महिना अघि तयार भएको म्यूजिक ट्रयाकलाई चैत १ गतेबाट सबैका लागि सार्वजनिक गरिएको छ । चार वटा गीतहरु रहेको ‘जय माया प्रेम’ मनभरि नेपाली गीतसंगीतलाई बोकेर विदेशिएका युवाहरुको मुटुको ढुकढुकी हो । जसलाई संगीतकार चेतन सापकोटाको साथ मिलेकै कारण पूर्णता मिलेको अनुभव सबैले गरेका छन् । कुनै समय बेल्जियम पुगेका बेला संगीतकार सापकोटालाई गीतकार अर्जुनरत्न भिखारीले सुनाएको दुई लाइन गीतको शब्दले सापकोटाको मन छोयो र एल्बम निकाल्ने उर्जा दिने काम भयो । गीतकार भिखारीलाई जसरी उनले गीत रेकर्ड गर्ने उर्जा दिए त्यही उर्जाभित्र संगीतकार सापकोटासँगै संगीत सिकेका नारायण धितालको पनि भाग्य उदायो । कुनै बेला सँगै गुरु चन्दनकुमार श्रेष्ठसँग संगीत सिक्दाको समयले पूर्णता नपाएका नारायण धिताल बेल्जियमको बसोबासमा समय व्यतित गरेका थिए । तर यो तीन जना स्रष्टाको भेट भएपछि गीत रेकर्ड गर्ने तय भएको भेटघाटमा उनीहरुले बताए । तर यसलाई पूर्णता दिने काममा गीतकार भिखारीकी श्रीमती रत्न श्रेष्ठ र गायक धितालकी श्रीमती सुनिता गुरुङको सबैभन्दा ठूलो हात रहेको छ ।

    चेतन सापकोटा नेपाली चलचित्र, गीतसंगीतको क्षेत्रमा एउटा खम्बा बनिसकेका व्यक्तित्व हुन् । उनको व्यक्तित्वअनुसार गीतसंगीतमा उदितनारायण झाको स्वरको कपिजस्तै भन्ने गरिएको उनको स्वरको पनि आफ्नै पहिचान रहेको छ । झा जस्तै भनिए पनि उनको स्वरमा छुट्टै पहिचान छ, मिठास छ, माधुर्यता छ । जसरी गायकी उनको सबल रुपमा उभिएको छ त्यसैगरी संगीत सिर्जनाले पनि उच्च स्थान ओगटेको छ । सापकोटाको हिट गीतहरुले जति उचाइ थपिदिएको थियो त्यो भन्दा पनि उचाइ ‘जय माया प्रेम’ले थप्नेमा विश्वस्त छन् । माया प्रेमभित्रको पनि जय माया प्रेम सापकोटाको लागि एउटा महत्वकांक्षी प्रोजेक्टका रुपमा उभिएको छ ।

     

    सरल व्यक्तित्व असाधारण गायन

    गायक नाराण धिताल सरल व्यक्तित्व भएका असाधारण गायक हुन् । गुरु चन्दनकुमार श्रेष्ठसँग संगीतको शिक्षा लिएका उनी अध्ययनकै सिलसिलामा विदेशिएका थिए । मिठो स्वरका धनी गायक धिताल राम्रो अभिनय पनि गर्ने गर्छन् । उनी मिठो गीत गाउने भए पनि लुकेको प्रतिभा भएर बसेका थिए । श्रीमती सुनिता गुरुङको उर्जा नै उनको गायनमा निरन्तरता दिने समय बन्यो । संगीतकार चेतन सापकोटा बेल्जियम पुगेको बेलाको भेटमा गायक धितालकी श्रीमती सुनिताले ‘सँगैका साथीहरु गायक संगीतकार हुने उहाँलाई पनि गायक बनाउन प¥यो’ भनेर गरेको अनुरोधसँगै संगीतकार चेतन सापकोटाले सकारात्मक रुपमा लिएर आज ‘जय माया प्रेम’मा अटाउन सफल भए । गीतकार अर्जुनरत्न भिखारीको शब्दमा संगीतकार चेतन सापकोटाले संगीत दिने र धिताले गाउने योजना बन्यो ।


    चित्रकलामा राम्रो दख्खल भएका उनले ललितकला क्याम्पस पढेका हुन् । लमजुङको भकुण्डेमा जन्म भएको थियो भने अहिले उनको परिवार चितवनमा बसाइ सरिसकेको छ । ०५२ सालतिर एसएलसी पास गरेर सपनाको शहर काठमाडौं छिरेका धिताल ०५४ सालतिरबाट गान्धर्व विद्यालयमा गुरु चन्दनकुमार श्रेष्ठसँग सिकेका हुन् । अन्जु पन्त, रामचन्द्र काफ्ले, चेतन सापकोटा, मौसमी गुरुङजस्ता गायक गायिकासँगै संगीत सिकेका नारायण धिताल यतिबेला पुनः गीतसंगीतको क्षेत्रमा उदाएका छन् । भजनदेखि फुटकर एल्बममा गीत गाएका उनले धेरै गीत गाइसकेका छन् ।

    सानैदेखि चित्रकलामा रुचि राख्ने धितालले काठमाडौं छिरेपछि पनि चित्रकलालाई निरन्तरता दिएका थिए । ललितकला क्याम्पसका विद्यार्थी उनी राम्रो चित्र कोर्दा कोर्दै विदेशमा चित्रकला प्रदर्शनीमा जाने मौका पाए । ०५८ सालतिर जुनबेला मुलुकमा द्वन्द्वकालिन समय थियो त्यति नै बेला उनले विदेशमै बस्ने योजना बनाए । विदेशमा बस्दै गीतसंगीतसँग आफ्नो जिन्दगीको आरोह अवरोह गर्दै आएका धितालले आफ्नी श्रीमती सुनिता गुरुङले सधैं गायनमा फर्कन दिएको उर्जाले यतिबेला सोलो एल्बम लिएर आएका छन् । श्रीमती सुनिताको एउटै चाहना श्रीमान गायक बनोस् भन्ने थियो त्यही अनुसार चेतन सापकोटालाई अनुरोध गरेर अहिले एल्बम बजारमा ल्याउन सफल भएको बताएका छन् ।
    चित्रकलासँगै आफ्नो करिअरमा स्वरको माधुर्यता थप्दै आएका गायक हुन् धिताल । चित्रकला र गीतसंगीत भनेको एकअर्कासँग परिपूक नै हुने गरेको पाइन्छ । गीतसँगै चित्रले एउटा पूर्ण दृश्य बनाउने सक्ने खुबीमा धितालले आफ्नो स्वरलाई पस्केका छन् । १३ वर्षअगाडि धड्कन एल्बम लिएर आएका धितालको काइट्स एल्बम बजारमा आएको थियो । जय मायाप्रेम तेस्रो एल्बम हो ।

     

    नाम भिखारी तर सिर्जना धनी
    तिम्रो मायामा सधैं भए तिरस्कार
    सायद तिम्रै कारणले म मर्छु होला
    मरे भने दिनु है दाउरा उपहार
    गीतकार अर्जुनरत्न भिखारी नाम भिखारी भए पनि सिर्जनाका धनी हुन् अजुन । पोखरामा जन्मिएका हुन् । त्यहाँको भूगोल, परिवेश र आँखा अगाडि देखिएका विभिन्न दृश्यहरुसँगै उनको मनमा पनि गीत र कविताका लाइनहरु स्कुल पढ्दा देखि नै आउने गथ्र्यो । स्कुले जीवनमै संगीत गुरु भोला राईसँग दुई महिना मात्रै संगीत सिकेका उनी एसएलसी पाससँगै १६ वर्षे उमेरमै विदेशिएका थिए । अध्ययनकै सिलसिलामा जर्मनी पुगेका उनी २७ वर्ष लामो समय युरोपमै बिताएका छन् । हाल बेल्जियममा व्यवसाय गर्दै आएको गीतकार भिखारीले जर्मनीमा १ वर्ष मात्र अध्ययन गरेका थिए । त्यसपछि उनको जिन्दगीको यात्राले फरक मोड लियो । तत्कालिन समय विदेशीका लागि बस्न सजिलो भएका कारण त्यतै काम गर्ने सोच बनाए र उनी भाडा माझ्नेदेखि कुकसम्मको काम गर्न सफल भए र अध्ययनलाई पनि जारी राखे । त्यसपछि ४ –५ वर्षमा नेपाल आउने सोच बनाएको भएपछि नेपाल फर्केर सँगै स्कुल पढ्दा आँखामा बसेकी रत्न श्रेष्ठसँग विहेबारी गरेका हुन् । जुन बेला उनी २२ वर्षका थिए । भिखारी सुनार थिए तर रत्न श्रेष्ठ परिवारको जहाँ तत्कालिन समय अन्तरजातीय विहेलाई समाजले राम्रो तरिकाले हेर्दैनथ्यो । तर पनि उनीहरुको विहेले पूर्णता पायो । केही समय रत्नालाई समस्या नपरेको भने होइन तर आफूले रोजेको केटा नछाड्ने उनको बाचालाई विस्तारै समयले पनि बदलिदियो । आज सबैभन्दा राम्रो ज्वाइका रुपमा भिखारीलाई परिवारले स्वीकार गरेको छ ।


    यतिबेला भिखारी र रत्न काम गर्दा गर्दै अहिले बेल्जियममा नै लत्तकपडाको व्यवसाय गर्दै आएका छन् गीतकार भिखारी । १४ वर्षदेखि व्यवसाय गर्दै आएका उनीहरुको जोडी नमूना जोडीको रुपमा देखिएको पनि छ । हाल छोरीका साथ बेल्जियमा बस्दै आएको भए पनि पोखरामा पनि उनीहरुको सुनचाँदी व्यवसाय संचालन भइरहेको छ । पोखराको ट्रेड मलमा संचालन भएको पसलमा २० जनाभन्दा माथिले रोजगारी पाइरहेका छन् । आफू जन्मेको भूमि र वरपरका साथीभाइको संगत सधैं मनमा खड्केको महसुस गर्ने गीतकार भिखारी अब नेपालमा नै अर्गानिक फार्म हाउस संचालन गर्ने तयारीमा पनि रहेका छन् । पोखराकै ग्यार्जनीमा ५ जना साथीहरु मिलेर करिब ५५ रोपनीमा फार्म हाउस संचालन गर्न लागेका छन् । गीतकार भिखारी अब ‘भिखारी ट्रष्ट’ सुरु गरेर नेपालमा सिटामोलको अभावमा परेकाहरुलाई औषधोपचार गर्ने सोचमा पुगेका छन् । अहिले पनि आफ्नो व्यवसायको १० प्रतिशत रकम असहाय बालबालिकालाई सहयोग गर्दै आएका छन् ।

    कुनै बेला उनले दुई लाइन लेखेर फोहोर बनाएका डायरीहरु फ्याँकीदिने गर्थिन् उनकी श्रीमती रत्ना । त्यो देखेर रत्नकी साथी दक्षिणाले नफ्याँकिदिनु भन्दै डायरी फिर्ता गराउन लगाएको याद रत्नसँग ताजै छ । डायरी ल्याएर फेरी आफैंले राम्रा अक्षरले गीत सारिदिएको बताउँदै रत्नले भनिन् ‘फिका फिका’ गीत गायक तुलसी शिवाकोटीले गाएपछि पक्कै राम्रा गीत लेख्ने रहेछन् भन्दै गीतसंगीतमा आउने उर्जा दिएको बताइन् । रत्नको नजरमा महिलाहरुलाई निकै नै रेस्पेक्ट गर्न जानेको, इमान्दारी र संघर्षशील व्यक्ति हुन् भिखारी । आमा, श्रीमती र छोरीको उर्जाभित्र संगीतकार चेतन सापकोटाको भेटले अझ सुनमा सुगन्ध थपिएको छ । उनी राम्रा गीतकार मात्र नभएर राम्रा कलाकार पनि प्रमाणित भएका छन् । उनले जय मायाप्रेमभित्रको म्यूजिक भिडियोमा गरेको अभिनयले उनको कलाकारिता नै सफलताको श्रेणीमा भएको महसुस गर्न पाइन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु