
सविता पोखरेल/म्यूजिकखबर
२२ मंसिर, काठमाडौं । सानै उमेरमा गीत संगीत भनेपछि भुतुक्क हुने र स्थापित गायक गायिकाको गीत दुरुस्त सुनाउन सक्ने क्षमता भएकी विजु पण्डित यतिबेला नेपाली सांगीतिक क्षेत्रमा गायिकाको परिचय कोर्न सफल भएकी छिन् । काठमाडौंको लभ्ली एन्जल्स विद्यालयबाट एसएलसी सकेकी बिजुले विद्यालयमा आायोजित कार्यक्रमहरुमा समेत सहभागिता जनाउने गरेकी थिइन् । त्यो समयमा नै बिजुको गायकी सुनेर धेरैले उनलाई सम्भावना बोकेकी बाल कलाकार भनेर प्रोत्साहन गर्थे । गीत गाएरै उनले टिचरहरुको असिम माया बटुलेको उनको बुझाई छ । गायक कन्हैया सिंहबाट विद्यालयमा नै उनले संगीतको प्रारम्भिक शिक्षा लिएकी हुन् । विद्यार्थीहरुको ठूलो भिडमा गायक तथा बिजुका गुरु कन्हैयाले उनीमा निहित गायन प्रतिभाको प्रशंसा गर्ने गर्थे र संगीतमै करिअर बनाउन सल्लाह दिएका थिए ।
बिजुको स्वर जति प्रसंशनिय छ, त्यति नै उनको रुपले पनि तारिफ पाउने गरेको छ । त्यसैले त संगीतको नशा चढेकी बिजुले मोडलिङ क्षेत्र मार्फत कलाकारितामा पाइला चालिन् । गीत गाउनका लागि स्टुडियो छिरेकी बिजुको स्वर नसुन्दै रुप र शारीरिक बनावटले चर्चा पायो । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा रहेको गीत ‘यो ज्यानले रोज्यो तिमीलाई’ बोलको गीतमा अभिनय गर्नका लागि संगीतकार आलोकश्रीले उनलाई अफर गरे । शुरुमा त गायनमा सपना बोकिरहेको बेला अचानक यस्तो अफर आएपछि उनले आनाकानी पनि गरिन् तर परिवार र संगीतकर्मी अग्रजकै सल्लाहलाई नकार्न सकिनन् । अन्ततः उनले चर्चित नायक आर्यन सिग्देलको साथमा अभिनय गरिन् । गायनमा स्याबासी पाउँदै आएकी बिजुले गरेको अभिनयले पनि प्रशंसा पाउन सफल भयो । उक्त गीतलाई अहिले युट्युव मार्फत हेर्न सकिन्छ ।
सपना त बिजुको गायनमा थियो नै तर उनमा आफ्नो लागि आफैंले केहि गर्नुपर्छ भन्ने भावना थियो । होटल म्यानेज्मेन्टकी विद्यार्थी कर्मयोगी भावनाकी बिजुले बुद्ध एयरको लागि एयर होस्टेजका लागि आवेदन दिइन् । सुन्दर रुपकी धनी बिजु पहिलो पटकमै सेलेक्ट भइन् । एकाएक गायनको सपनालाई मनभरी मुटुभरी सजाउँदै उनले एयर होस्टेलको जागिर खान पुगिन् । तर लक्ष्य र रहरका अगाडि अरु शून्य जस्तै हुन् । यस्तै भयो बिजुलाई पनि । मनमा हरेकपल नेपाली गीत संगीतप्रति कुण्ठित् हुँदै ४ वर्ष जागिरे जीवन बिताइन् । संगीतप्रतिको उनको कुण्ठालाई बुझेर, अनि हवाई यात्रामा छोरी असुरक्षित भएको महशुस गर्दै परिवारले जागिर छाड्न कर गर्न थालेपछि उनले जागिर छाडिदिइन् ।
नेपाली समुदायमा एयर होस्टेजको जागिरलाई प्रतिष्ठित जागिर मानिन्छ, तर बिजुले हुँदा खाँदाको यहि जागिर छाडिन् नेपाली संगीतको मोहले । संगीतमा केहि गर्न हतार थियो उनलाई जागिर छाडेको केहि समयमा नै उनले सांगीतिक एल्बम ‘बिजु’ ल्याएर सांगीतिक धरातलमा पाइला चालिन् । युवतीहरुको आकर्षणको पेशा हो नि एयर होस्टेज त हतारमा निर्णय गरेर छाड्नु भयो, अहिले पछुतो लाग्छ होला है ? भन्दा उनी भन्छिन् ‘मेरो लक्ष्य भनेको गायिका बन्ने नै थियो । एयर होस्टेज भएर मैले मेरो सपना पूरा गर्न सक्दिनथेँ । त्यसैले पनि गायनलाई अगाडि बढाउन जागिर छाडें । हतारमा निर्णय गरेको होइन ।’ उनी एयर होस्टेजको जागिर खाँदा गायनमा ध्यान दिन नपाएको बताउँछिन् । ‘जागिर कै कारणले गायनलाई पछाडि धकेल्न बाध्य भएँ, जागिर नखाएको भए अहिले म गायन क्षेत्रमा सायद स्थापित भइसक्थेँ होला ।’, उनी भन्छिन्, ‘जागिरकै कारणले मैले गायनलाई निरन्तरता दिन सकिनँ र यतिबेला संगीतमा समर्पित हुन आएको छु हेरौं के के हुन्छ ।’
गीत गाउन भरसक परिवारसँग पैसा माग्नु नपरोस् भन्ने सोचाइ भएकी बिजु भन्छिन् –‘मैले गीत मेरै पैसाले गाएकी छु, मैले परिवारसँग गीत रेकर्ड गर्नका लागि पैसा मागेकी छैन’, उनी भन्छिन्, ‘सानैदेखि गीत गाँउन थाले पनि सांगीतिक क्षेत्रमा प्रवेश गरेको धेरै भएको छैन, यो क्षेत्रलाई बुझ्दैछु, आफुलाई निखार्दैछु ।
संगीतप्रतिको साधना र प्रेमका उपज उनले निकालेको एल्वम ‘बिजु’ले नै उनलाई गायनमा चर्चा दिलायो । उक्त एल्बममा पाँचवटा गीतहरु रहेका छन् । जसमध्ये ‘पाँचौं म्यूजिक खबर म्यूजिक अवार्ड’मा सर्वाेत्कृष्ट गायिका नवप्रतिभाको अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएकी थिइन् । उक्त एल्बममा रहेको जब देखें तिमीलाई र ‘गोर्खाली चेली’ बोलको गीतको म्यूजिक भिडियो पनि रिलिज भइसकेको छ । विजुले संगीतको प्रारम्भिक शिक्षा गायक कन्हैया सिंह लिए पनि औपचारिक शिक्षा भने संगीतकार राम सिटौला र प्रकाश गुरुङसँग लिएकी हुन् । संगीत शिक्षा बिना गायन अपुरो हुने बताउने उनी यतिखेर भने नयाँ गीत निर्माणको तयारीमा छिन् ।
तस्विरः सुमन बैरागी