• एल्बम पद्धति समाप्त हुने अवस्थामा

    म्यूजिक खबर
    प्रकाशित: ३० पुष २०७०, मंगलवार

    सन्तोष श्रेष्ठ

    कुनै पनि पद्धतिको सुरुवात हुनु र समाप्ति हुनु स्वाभाविक प्रक्रिया जस्तै लाग्न सक्दछन् । तर सबै विषयहरुमा एउटै तरिका लागू हुन्छ भन्न सकिँदैन । विशषगरी नेपाली गीतसङ्गीतको विषयको कुरा गर्दा एल्बम पद्धतिको आफ्नै प्रकारको एउटा महत्वपूर्ण स्थान रहेको पाइन्छ । एक वा एक भन्दा बढी गीतसङ्गीतलाई एकै ठाउँमा जम्मा गरेर राख्ने पद्धति नै एल्बम पद्धति हो । यो पद्धति धेरै पक्षबाट पनि राम्रो मानिएको विषय हो । कुनै पनि गीतसङ्गीत सिर्जना गर्नु भनेको त्यति सजिलो काम होइन । तर अप्ठ्यारोको बीचबाट निर्माण भएका सिर्जनात्मक कामहरुलाई हामी सुरक्षित हिसाबले सङ्ग्रहित गरिरहेका हुँदैनौं, यो गलत कार्य हो । विभिन्न गीतसङ्गीतका सिर्जनात्मक विषयहरुलाई एकै ठाउँमा राख्न वा सुरक्षित तरिकाबाट राख्नको लागि पनि एल्बम पद्धति अत्यन्त उत्कृष्ट मानिन्छ । जहाँ थुप्रै गीतसंगीतहरु एकै ठाउँमा संग्रहित भएर रहने अवस्था सिर्जना भएको हुन्छ ।
    पछिल्ला केही समययता यो एल्बम पद्धति अलि विस्थापित हुन थालेको वा समाप्त हुन खोजेको अनुभूति भइरहेको अवस्था देखिन्छ वा हामी सबैले प्रत्यक्ष रुपमा देखिरहेका छौं । जब हामी एल्बम पद्धतिबाट बाहिरिँदै जान्छौं अनि हाम्रा विभिन्न सिर्जनाहरुलाई असुरक्षित हुने अवस्थामा पुग्न सक्दछन् । किनकी एल्बम पद्धति भनेको एउटा संग्रहित गरेर राख्ने तरिका हो । जब हामी हाम्रा गीतसंगीतका सिर्जनात्मक विषयहरुलाई एउटा संग्रहभित्र संग्रहि तगर्दैनौं अनि एउटा सुरक्षित ठाउँमा हाम्रा सिर्जनाहरु राखेका छौं भनेर ढुक्क हुन पनि सक्दैनौं । अहिलेको अवस्थामा यस्तै यस्तै परिपाटी देखिएको छ । स्वयम् स्रष्टाहरु नै आफ्ना सिर्जनाहरुलाई वा गीतसंगीतलाई सुरक्षित रुपमा एउटा एल्बम वा संग्रहभित्र संग्रहि तगर्नका लागि त्यति लागिपरेको देखिँदैन । यो स्वयम् स्रष्टाहरुको लागि र समग्र सङ्गीत क्षेत्रकै लागि दुखद् कुरा हो । यो विषयमा विशेष ध्यान दिनु अति आवश्यक देखिन्छ । अहिलेको तरिकाले गीतसंगीतको अवस्था अगाडि बडिरहने र आ–आफ्ना सिर्जनाहरुलाई सुरक्षित गर्ने बाटोमा नलाग्ने हो भने केही समयको अन्तरालमै आफ्ना सिर्जनाहरु वा आफ्ना गीतसंगीतहरु आफैंले खोज्दा नभेटिने अवस्था नआउला भन्न सकिँदैन ।
    डिजिटल प्रविधिको नाममा थुप्रै हल्लाखल्ला मच्चाइएको पनि हामी सुनिरहेका छौं । कतिले वास्तविक कुरा बुझेर हल्ला गरिरहेको पाइन्छ भने कतिले नबुझेरै हल्ला गरिरहेको पाइन्छ । कतिले आफैं बुझेकै हुँदैनन् भने कतिलाइ बुझाउने कोशिष पनि गरिएको हुँदैन । आफूलाई थाहा नभएको कुरा अरुबाट बुझ्ने कोशिस गर्नु पनि ठूलो उपलब्धी हो । डिजिटल प्रविधिका नाममा थुप्रै गीतसंगीतहरु आ–आफ्नै ढंगबाट विभिन्न ठाउँमा छरिएर रहेको पाइन्छ । एउटा असल स्रष्टाको कर्तव्य भनेको छरिएर रहेका विभिन्न सिर्जनाहरुलाई संग्रहित गर्नु नै हो । छरिएर रहेका हजारौं सिर्जनाहरुलाई एकै ठाउँमा संग्रहित गर्नु पर्दछ भन्ने कुरामा खासै ध्यान दिएको पाइँदैन । यस तरिकाले अगाडि बढिरहने हो भने भविश्यमा नेपाली गीतसंगीतको संग्रहित अवस्था कस्तो होला सिधै अनुमान गर्न सकिन्छ ।
    एल्बम संग्रहित गरेर प्रकाशन गर्नुलाई पहिले व्यापारिक दृष्टिकोणबाट हेरिँदै आएको पाइन्छ भने अहिलेको अवस्थामा पनि त्यही दृष्टिकोणले नै हेरेको पाइन्छ । पहिलो एल्बम बिक्री भएकै भरमा स्रष्टाहरुको आम्दानी हुने गर्दथ्यो भने अहिलेको अवस्थामा मोबाइल रिङब्याक टोन महत्वपूर्ण आयस्रोतका रुपमा रहेको छ । डिजिटल प्रविधिले सबैजसो कुरा केवल मोबाइल केन्द्रित भएका कारण वा पेनड्राइभ, मेमोरिकार्डमा केन्द्रित भएकोले गर्दा पनि एल्बम पद्धति अति पछाडि पर्न खोजेको देखिन्छ । अहिलेको अवस्था भनेको नेपाली गीतसंगीतको क्षेत्रमा कुन एल्बम आयो बजारमा भन्नु भन्दा पनि गीत बजारमा आयो भन्ने महत्वपूर्ण बन्दै गएको पाइन्छ । एउटा साधकले वा असल स्रष्टाले केवल व्यापारिक दृष्टिकोणबाट मात्रै एल्बम प्रकाशनलाई हेर्नु भनेको दुःखद् कुरा नै हो । अहिलेको अवस्थामा भएझैं आ–आफ्नै तरिकाले चारैतिर छरिएर रहने पद्धति नेपाली गीतसंगीतमा रहिरहने हो भने साँच्चिकै आफ्ना सिर्जना कुने दिन एकै ठाउँमा बसेर सबै सिर्जनाहरु सुनौं भन्दा नभेटिने अवस्था आउन सक्दछ । त्यसैले आफ्ना सिर्जनाहरुलाई सुरक्षित राख्नको लागि पनि एउटा एल्बम पद्धति अपनाउनै पर्ने देखिन्छ । आवरण निर्माणदेखि विभिन्न पक्षका खर्चहरु र बजारमा बिक्री बितरण अवस्थालाई मात्रै मूल्यांकन गरेर अगाडि बढिरहने अनि आफ्ना सिर्जनालाई छरिएको अवस्थामा राख्ने हो भने एल्बम पद्धति त समाप्तै भएर जान्छ साथसाथै हाम्रा सिर्जनाहरु पनि छरिएकै अवस्थामा समाप्त हुनेछन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु