• किनआफैँलाई मार्दै जान्छन् गायक–गायिकाहरू ?

    म्यूजिक खबर
    प्रकाशित: २२ श्रावण २०७१, बिहीबार

    –नवराज लम्साल
    गीत केवल अक्षर, धुन र गुनगुनाहट मात्र हैन । गीत जति भावको गहिराइ हो त्यति नै कोमल र प्राविधिक कुरा पनिहो । यी सबैभन्दा माथि एउटा गायक÷गायिक अर्थात् प्रस्तोता पनि हो । संगीतपक्ष, एरेन्जको पाटो र व्यावसायिकता अलग कुरा हुन् तर एउटा गायक मन्चमा उत्रँदा ऊ सँगै उसले गाउने गीतको सङ्लो प्रतिमूर्ति पनि उभिन्छ र कला हिँड्छ ठमठम । धैरै गायकलाई लाग्छ, लाग्न सक्छ म लोकप्रिय व्यक्ति हुँ र मेरो उपस्थितिले दर्शकलाई यसै पनि लोभ्याउँछ, उसै पनि लोभ्याउँछ तर हैन केही हदसम्म मन्चको उपस्थितिले गायकगायिकाको व्यक्तित्वलाई उठाउँछ पनि र धेरै हदसम्म मार्छ पनि । उसप्रतिको दर्शकीय क्रेज र प्रभाव उठाउन पनि सक्छ र टुटाउन पनि तर नेपाली सन्दर्भमा मन्चमा देखा परे पछि कलाकारको कदकम उठेको छ र धेरै टुटेको छ ।
    ग्लोवल युगमा बाहिरको प्रभाव स्वाभाविक होला तर प्रभावबाट प्रभावित हुनुअघि प्रस्तुति र सिर्जनाका भोक्ता र उपभोक्ताको को हुन्, कस्तो धरातल र कस्तो चेतना तथा अपेक्षाको आँगनमा आफू उभिएको छु भन्ने बारे सम्बन्धित सबैले थाहा पाउन जरुरी छ । कोच्याउने वा घिचाउने कि खुवाउने ? दिने कि प्रदान गर्ने ? हुत्याउने वा फाल्ने कि उपलब्ध गराउने ? यी त सामान्य लेनदेनका हरिहर्कत हुन् तर त्यसमाथि कला र कला विनिमयका कुरा त अर्कै । दूध दुहुने भाँडो, रक्सी राख्ने बोत्तल र पानीको गाग्री त फरक फरक हुन्छ भने कला प्रस्तुतिको शिल्प फरक हुने किन हुने ? जहाँ पनि उही शैली उही हापे ताल र उही हुटहुटी । कलाको कित्ता अर्कै किसिमको हुन्छ । गम्भीरताबाट पनि तीब्र कम्पन छुट्न सक्छ र तीब्रतामा पनि गम्भीरताको गहिराइ हुन सक्छ तर कतिपय नेपाली कलाकार र तिनका मन्चीय कला प्रस्तुति भद्दा, झर्को लाग्दो र एकै कुराको सुगा रटान भेटिन्छ सधैँ उस्तै र उही रुपमा । यसको मतलब उसले आफूलाई ‘डेकोरेट’ गर्न नजानेको हो ।
    कुरा अलि सिधै भनूँ – हाम्रा कतिपय गायकगायिका गीत गाउनु अघि मन्चमा भाटा झैँ ठिङ्ग उभिएर भाषण दिन मन पराउँछन् । मानौँ उनीहरु संसारका सबै भन्दा उत्तम बक्ता हुन्, विवेकानन्दको भन्दा बढी दार्शनिक चेत छ उनीहरुमा र अकिन्चन अमुक बबुरा दर्शकलाई यही बेला दिव्य वाणी दिएन भने मौका चुक्छ । मन्च प्रवेश गरेपछि शुरु हुन्छ सनातनी उपदेशात्मक भाषण । दर्शकले मनमनै भन्छ – अरे हजुर कति छाद्छौ जुठा शब्दहरु !
    आयोजकको नाम थाहा नभएर सात पल्ट व्यानर तिर हेर्छ्न्, ठसठस कनेर पढ्छन् भित्ताका अक्षरहरु र आयोजक नामका मनुष्यलाई हार्दिक आभार व्यक्त गर्छन् । ती आयोजक संसारकै महान् हुन्, तिनले मौका दिएर मात्र आफू त्यो दिव्यधाममा आउन पाएको हो, यो मौका  फेरि कहिल्यै मिल्दैन र यतिखेर आभार व्यक्त गरिहालौँ जस्तो भाव खन्याएर मन्चलाई विरक्त पार्छन् । कलाले भरिएको त्यो मन्चको तातोपन सेलाउँदै जान्छ बिस्तारै ।
    आयोजकको नाम, वतन, काम, कमाइ, उदारता, र समाज सेवा सबैसबैको वर्णन विवरण । अझ त्यहाँ कुनै धन वा निजी प्रमुख अतिथि बनेका हुन्छन् । तिनको पनि प्रशँसा–प्रशस्ति गर्नै प¥यो । गीतमा तिनको योगदानको कुनै योग हुन्न तर भन्नै प¥यो उहाँ नभएको भए गीतसंगीत पुरै टुहुरो हुन्थ्यो । बल्लबल्ल सकिन्छ भाषण त्यसपछि ट्रयाक नम्बर उल्टो पर्छ । धुन बज्छ अनि भन्नुपर्छ हैन, हैन यो हैन । अर्को, फेरि अर्कौ … अन्ततः सरी यो पनि उल्टो परेछ । ए लौ …. भैगो यही गाइदिन्छु । मनिटर अलि ठुलो, उताको साउण्ड राम्रो आएन, लाइट, लाइट अलि डिम गरौँ न । प्राविधिकको हुनुहुन्छ ? ए सुन्नुस् त । सरी है रोकियो । अब फेरि शुरुदेखि आदि आदि ………
    निरीह दर्शक जबर्जस्ती भिडाइएको टिकट मुसारेर हेरिरहन्छन् आँ परेर टुलुटुलु । त्यसैमाथि पनि कति त लिप्सिङ वस्ताद निस्कन्छन् । गीतको बोल आइरहेको हुन्छ तर उसको हातको माइक घुँडा तिर ऊसंगै नाचिरहेको हुन्छ । गीत शुरु भएकै हुन्न ताली ताली भनेर कराउँछन् कति । मानौँ त्यहाँ उपस्थित भक्तहरुले गायक नामका भगवानको अवतरणमा  ताली बजाएर स्वागत गर्नुपर्छ । नानी भन्दा आची ठूलो । ५ मिनेटको गीत सुन्नु अघि २५ मिनेट गन्गने गन्थन र गल्याङगुलुङ ।
    उद्घोषकले सटिक टिप्पणी सहित गायकलाई मन्चमा बोलाए पछि सिधै बजोस् गीतको धुन । एउटा दर्शकले गायकको प्रवेश कताबाट हुन्छ होला भन्दाभन्दैमा गीत उठ्नु र गायकको प्रवेश हुनु संगै होस् । दर्शकीय उत्सुकताको सीमा बढ्दै गर्दा प्रिय गायक र मधुरवाणी संगै होस् आँखा र कानमा । यसले ल्याउँछ दर्शकमा उत्तेजना र रोमान्चकता । त्यतिखेर थाहै नभै बज्छ ताली र उमङ्गले उफ्रिन थाल्छ दर्शकका अङ्गप्रत्याङ्ग । आहा भन्दैमा सकिन्छ गीत र मुखबाट फुत्त निस्कन्छ – वान्स मोर । त्यतिखेर दर्शकलाई लाग्छ – यसले अर्को गीत गाइदिए हुन्थ्यो केही बोलिदिए हुन्थ्यो, केही भनिदिए हुन्थ्यो । हेर्ने रुचि र देख्ने–सुन्ने अपेक्षा हुँदाहुँदै जब बाहिर निस्कन्छ गायक अनि दर्शकमा गायकप्रति झन् बढी मोह माया आकर्षण र सुषुप्त तथा अन्तरङ्ग स्नेह बढ्न थाल्छ त्यतिखेरै र अन्तै एकान्तमा पनि । घर पुग्दा पनि रन्को लागि रहन्छ उसका गीत र उसकै उपस्थितिको । घरमा सीडी छैन भने उसले बाटैमा किन्छ नयाँ सीडी र घर पुगेपछि स्वतःबज्न थाल्छन् गीतहरु ।त्यो एक दर्शकका कारण घरका पुरैले सुन्छन् । साँझ घरमा कुरा हुन्छ र शुरु हुन्छ ‘माउथ पब्लिसिटी’ ।
    सेलिब्रेटी त होस् न छोऊँ छोऊँजस्तो, देखूँ देखूँजस्तो, चर्चा गरिरहूँ र सुनिरहूँजस्तो । अनिपो सेलिब्रेटी, अनिपो वाह मेरो गायक, हाम्रो गायक ! वडा अध्यक्ष कराएको जस्तो बोलेको बोल्यै छ । संसारका लोभीपापीका प्रवक्ताजस्तो दानवीरै भएझैँ प्रायोजकको प्रशँसा गरेकै छ । सधैँ उही कुरा, एउटै कुरा, मानौँ ५ सय शब्दभन्दा बढी नेपाली नै नजानेजस्तो ।कार्यक्रम सकिएपछि एकान्तमा तिनै आयोजक प्रायोजकको सत्तोसराप । राती सुरमा बर्बरायो अरुसंग – ए त्यो पुरै ठग … चोर … पैसै दिएन नि .. साला… आदि आदि । दिउँसो गरेको प्रशंसाको सरस्वतीले के भन्लिन् ? कति कमजोर धरातल धैर्य र चेतनाको ।
    गायक गायक मात्रै भएको दिन गायक व्यक्तित्वले उठाउने छ गीतलाई पनि र कलालाई पनि । कला शब्दमात्र हैन, कलागीत, संगीत र गायनमात्र हैन । ती सबै सिर्जना बोक्ने मान्छेको जीवन पनि हो । व्यक्तिको व्यक्तिगत जीवन पनि हुन्छ तर सार्वजनिक कर्ममा सार्वजनिक ठाउँमा उभिँदा उसको जीवन केवल व्यक्तिगत मात्रै हुँदैन । व्यक्ति मिसिन्छ कलामा र त हरेक व्यक्तिको कलाकारिता फरक हुन्छ । त्यो पृथकता रहेन वा भएन भने त कुनै व्यक्ति, समुह वा वर्गले बोक्तैमा कलामय हुँदैन कसैको जीवनर उसले गर्ने कर्म । जति बढ्दै जान्छ कलाको मात्रा त्यति नै जीवन्त हुँदै जान्छन् कलाकार र जति मर्दै जान्छ कलाको मात्रा त्यति नै मर्दै जान्छन् कलाकारहरु । मेरा मित्र गायक÷गायिकाहरु म कुनै पनि मन्चमा तपाईँहरुका बेतुकका भाषणहरु हैन, सुमधुर गीत पर्खिरहने छु । तपाईँ गायन कलाले मात्र गायक÷गायिका हुनुहुने छ र भइरहनु हुने छ । गीतबाहेक कुनै वैकल्पिक शक्तिले बाँच्नु भनेको त व्यक्ति वाँच्नु र व्यक्तित्व मर्नु हो नि ! मिल्छ भने ख्याल राख्नुस्, आजलाई यत्ति ।
    mrsukhadukha@gmail.com
    www.facebook.com/mrnabaraj

    श्रव्य दृश्य मासिकबाट

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु