• किन जम्मा हुँदैछन् चलचित्र पत्रकार हेटौंडामा

    म्यूजिक खबर
    प्रकाशित: २६ भाद्र २०७१, बिहीबार

    काठमाडौं । चलचित्र पत्रकार संघको आयोजनामा समग्र चलचित्र पत्रकारहरुलाई समेटेर अन्तरक्रियात्मक कार्यशाला भाद्र २६ गते विहीबारदेखि हेटौंडामा गरिँदैछ । खासगरी अनलाईन, रेडियो, छापा एवं टेलिभिजन माध्यममा कार्यरत सम्पूर्ण रंगपत्रकारहरुलाई समेटेर यस किसिमको कार्यशाला चलचित्र पत्रकार संघले आयोजना गरिरहेको हो । संघका अध्यक्ष शान्तिप्रियका अनुसार कार्यशालका माध्यमबाट समग्र रंग पत्रकारहरुको क्षमता अभिबृद्धिका साथसाथै नयाँ पुराना पत्रकारहरुबीचमा अनुभवको आदानप्रदान गरी ठोस निष्कर्ष निकालिनुका साथसाथै समग्र चलचित्र पत्रकारितामा उद्देश्यमूलक समाचार प्रवाहको विकासमा योगदान दिन सकियोस् भन्नका खातिर यस किसिमको कार्यक्रम गरिएको हो । संघका महासचिव सन्दिप सापकोटाले चलचित्र पत्रकार संघले आफ्नो उद्देश्य बमोजिम यस्ता किसिमका कार्यक्रमको आयोजना गर्ने योजनामै भएकाले समग्र रंगपत्रकारहरुलाई समेटेर केन्द्रिय मिडियाका देखि मोफसलमा रहेका विभिन्न मिडियामा कार्यरत पत्रकारहरुलाई समेटी यस किसिमको कार्य गरेको बताए ।
    चलचित्र पत्रकार संघले गर्न लागेको यो कार्यशालामा एकले अर्कालाई सिकाउने भन्दा पनि अन्तरक्रियामा बढी जोड दिइएको छ । संघका अनुसार कार्यशालाका लागि संघकै पुराना अनुभवी पत्रकारदेखि केही अतिथिहरुलाई पनि समेटिएको छ । संघकै वरिष्ठ पत्रकारहरु भरत शाक्य, राजेश खनाल, डब्बु क्षेत्रीलगायतले विभिन्न कार्यपत्र प्रस्तुत गर्नुका साथसाथै विभिन्न विषयमा जानकारीसहित अनुभव बाँड्ने छन् भने अखण्ड भण्डारी, मोहन निरौला, कपिल पराजुलीलगायतले विभिन्न कार्यपत्र प्रस्तुत गर्नुका साथसाथै फरक फरक विषयमा अन्तरक्रियात्मक हिसाबले कार्यशालामा भाग लिनेछन् । चलचित्र पत्रकार संघ हेटौंडा शाखाको संयोजनमा भइरहेको यस कार्यशालामा शाखाका सचिव मणिराज गौतमले स्थानीय रुपमा हेटौंडाले चलचित्र क्षेत्रलाई दिएको योगदानका बारेमा चर्चा गर्नेछन् भने अन्य विभिन्न प्रस्तुतिहरु पनि रहनेछ । हेटौंडाका पर्यटन व्यवसायी रामकृष्ण थापाले हेटौंडाको चलचित्र नगरीको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।
    उक्त अवसरमा खासगरी चलचित्र पत्रकारहरुलाई प्रशिक्षित गरी समग्र चलचित्र उद्योगलाई समृद्ध बनाउनुका साथसाथै पत्रकारिताको विकासमा योगदान दिन सकियोस् भन्ने मूल उद्देश्यका साथ संघले यस किसिमको कार्यक्रम गरेको बताएको छ । पत्रकारहरुको क्षमता अभिबृद्धिले पत्रकारिता क्षेत्रमा पनि उल्लेख्य योगदान पुग्ने आशा संघको छ । संघले आफ्ना विभिन्न गतिविधि गर्ने क्रममा यस किसिमको कार्यक्रम गर्ने योजना बनाएको हो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु