• किन हेपिन्छन् दोहोरी ?

    म्यूजिक खवर
    प्रकाशित: २५ बैशाख २०७१, बिहीबार

    शिव सुवेदी
    नेपाल कला संस्कृतिमा धनी राष्ट्र हो, हामीले सदियौंदेखि यो भन्दै सुन्दै आइरहेका छौं । हामी गीतसंगीतमा लागेका सबै गीतकार, संगीतकार, गायक, गायिका सरस्वती माताका सन्तान हौं । चाहे आधुनिक, चलचित्र लोकदोहोरी जुनसुकै विधामा कै हौं । तर आजको संगीतका कुरा गरिरहँदा र व्यक्तिगत रुपमा लोकदोहोरीमा लागिरहेका एउटा गीतकारको रुपमा भोगेका घटनाक्रमलाई नियाल्दा केही शब्द लेख्न मन लाग्यो ।
    हिजोआज चलचित्र तथा आधुनिक विधामा लागेर चलेका वा चल्न संघर्ष गरिरहेका केही व्यक्तिहरुले लोकदोहोरीलाई हेर्ने दृष्टिकोण अलि फरक नै छ र हामीलाई यसैमा दुःख लाग्छ । आजभन्दा पाँच वर्ष पहिलाको कुरा हो मैले भुमरीमा परेँ भने म बोलको लोकदोहोरी एल्बमको भिडियोको सुटिङको लागि तत्कालिन समयमा चर्चामा रहेकी एकजना नायिका सोनिया केसीलाई अनुरोध गर्दा करिब १५ दिन कुरेँ नै तर पनि ‘लोकदोहोरीमा अभिनय गर्दिनँ’ भन्ने रुखो जवाफ लिन पनि मलाई धेरै समय कुर्नु प¥यो । पछि यिनै आँखाले हेर्ने मौका पनि पाएँ लोकदोहोरी के हो र ? भनेर हेप्न खोज्ने नायिकाहरु धमाधम लोकदोहोरीमा अभिनय गरिरहेको ।
    यसैगरी लोकदोहोरीकै मोडलिङबाट डेब्यू गर्दै कलाकारितामा आएकी शिल्पा पोखरेलको जो अहिले चलचित्रमा नायिका बन्न सुरु गरेकी छन्, उनको कथा पनि उस्तै छ । सुरुमा लोकदोहोरी लेख्ने साथीभाइसँग भिडियोमा राखन अनुरोध गर्दै हिंड्ने शिल्पाले हिजोआजका दिनमा लोकदोहोरी खेल्न छाडें अब फिल्म खेल्छु सरी भन्ने अभिव्यक्ति दिन लागेको पनि धेरै नै भयो । यी त केही मैले भोगेका उदाहरण मात्रै हुन् । नढाँटी भन्नु पर्दा एकदिनको लोकदोहोरीमा अभिनय गरेको पारश्रमिक राम्रो पाउँदा पाउँदै पनि नायक नायिकाहरु दोहोरीभन्दा फिल्मलाई नै बढी जोड दिन्छन् । फिल्म खेल्न थालेपछि दोहोरी खेल्न हुन्न भन्ने गलत मान्यता र संस्कारको विकास भइरहेको छ । तर तिनै कलाकार चलचित्रमा डेब्यू गर्ने अनि उता ठाउँ नपाएपछि पुनः दोहोरीलाई नै आत्मसात गरेर त्यो बेलाको कुरा छोडौं भन्नेहरुको पनि कमी छैन ।
    यी कुराहरुलाई सम्झँदा लाग्छ किन लोकदोहोरीले इज्जत दिन सकेनन् र ? किन लोकदोहोरीमा अभिनय गर्दा आफ्नो इज्जत घट्छ र ? मेरो मनमा घटेका घटनाक्रमले अनत्तरित प्रश्न गरिरहेका छन् । सायद कुनै नायक नायिका जो लोकदोहोरीमा अभिनय गर्न रहर गर्नुहुन्छ उहाँहरुलाई सोधें भने पनि उत्तर पाउँदिन होला । कमजोरी हामी सबैमा छ । कुनै पनि मान्छे सबैका लागि पर्याप्त हुँदैन । तर हामीले बुझ्नुपर्ने कुरा के हो भने लोकदोहोरी, आधुनिक, चलचित्र सबैका आआफ्नै विशेषता छन् । हामी स्वीकार्छौं आधुनिक गीत वा चलचित्रका गीतहरु लोकदोहोरी भन्दा बढी स्तरीय होलान् तर हामी यति भनिरहँदा गर्वका साथ दावीगर्न सक्छौं लोकदोहोरीमा भेटिने मौलिकता र सरलता अरुमा पाइँदैन, यदि पाइयो भने पनि त्यसमा लोकलयले नै बास गरेको हुन्छ । त्यसैले पनि सबै विधाको आआफ्नै स्थान हुन्छ ।
    लोकदोहोरी गीतका म्यूजिक भिडियोहरु नेपालका दूरदराजसम्म पनि राम्रैसँग रुचाइएका हुन्छन्, जहाँ फिल्म हल छैनन्, त्यहाँ पनि नेपाली लोकदोहोरी घन्किरहेका हुन्छन् । एउटा उपत्यका काठमाडौंमा बसेर समग्र नेपाली गीतसंगीतको अवस्था मूल्यांकनगर्न खोजिएको हो भने यो गलत छ । हामी काठमाडौंमा आफ्नो इज्जत भेटुँला नभेटुँला तर काठमाडौं बाहिर जाने हो भने बल्ल वास्तविक पहिचान भेट्छौं । एउटा कुरा जन रहन आवश्यक छ,नेपालका करिब ४ हजार गाविस र ५८ नगरपालिकाभित्र सबैतिर लोकदोहोरीको माहौल राम्रो छ । वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ कार्यक्रमहरुमा जाँदा दोहोरी गीत गाउनुहुन्छ र चिना हराएको मान्छेमा हविंश आचार्यले नै लेख्नुभएको छ अझै केही लोकगीत गाउने धोको छ । नेपाली चलचित्रमा फरक इतिहास बनाउनु भएका राजेश हमालले पनि लोकदोहोरीमा अभिनय गरिसकेको अवस्था हामीले देखिसकेका छौं । जो चलचित्रको इतिहासमा लामोसमयसम्म आफ्नो अभिनयलाई प्रस्तुत गर्दागर्दै अहिले लोकदोहोरीमा पनि उहाँलाई देख्न पाइएको छ । त्यस्तै लोकदोहोरीबाटै आफूलाई संगीतक्षेत्रमा पाइला टेकाएका संगीतकार अर्जुन पोखरेल (सानी मोरी मलाई मन प¥यो) लोकदोहोरी गीत गाएर नै सांगीतिक क्षेत्रमा आउनुभएको हो । त्यस्तै वसन्त सापकोटा जलजलामा ताल, सोधौं कसरी जस्ता गीतबाट यो क्षेत्रमा प्रवेश गर्नुभएको हो भने गीतकार एकनारायण भण्डारी लोकदोहोरी र आधुनिक क्षेत्रमा छुट्टै पहिचान बनाइसक्नु भएको छ । जसको आधार स्तम्भ भनेकै लोकदोहोरी हो, उनीहरु सधैं क्रियाशील रहिरहेका छन्, पछाडि फर्केर हेर्नुपरेको अवस्था उनीहरुमा छैन । उहाँहरु लोकदोहोरीबाट प्रवेश गरेर आधुनिक, चलचित्र क्षेत्रमा पनि सफल हुनुहुन्छ र अझै पनि लोकदोहोरी गरिरहनुभएको छ । दोहोरी गीतमा अभिनय गर्दा आफूलाई लज्जित सम्झने मेरा साथीहरु अहिले यी मैले दिएका नमूना पात्रहरु हर्नेुहोस् अनि भन्नुहोस् लोकदोहोरीमा अभिनय गर्दैनन् भनेर ।
    लोकदोहोरी जन्माएका गीतकार, संगीतकारले सिर्जना गरेका फिल्मका गीतहरुमा अभिनयगर्दा जो तँछाडमछाड गर्छ तिनै सर्जकले सिर्जना गरेका लोकदोहोरीमा अभिनय गर्न सकभर चाहँदैनन् र चाहे पनि बाध्यता सम्झन्छन् । यी हामीले पछ्याएका कुसंस्कार हुन् । एकदुई गीत नराम्रो भए भन्दैमा समग्र विधालाई नै दोष लगाउनु आफूमा भएको मुर्खता बाहेक अरु केही हुन सक्दैन । त्यसरी हेर्ने  हो भने कुनै संसार अछुतो रहँदैन ।
    गीत भनेका भावना हो, त्यत्तिकै कलमले लेख्दैन र संगीत भनेको पनि भावना हो जो हार्मोनियमले सिधै गर्दैन । सबैका भावना फरक फरक हुन सक्छन् । सबै पढेका मान्छेले लेखेका गीतहरु राम्रा हुन्थे भने नेपाली विषयमा विद्यावारिधी गरेका सबैजना चर्चित गीतकार हुनुपथ्र्यो अनि सबै संगीत सिकेकाले गरेका संगीत राम्रा हुन्थे भने सबै संगीत गुरुहरु नेपालभर चिनिनु हुन्थ्यो होला । मैले यो भन्नुको अर्थ अन्यथा नलागोस् आशय यत्ति हो सिर्जना सबैभन्दा महन्वपूर्ण हुन्छ ।
    अन्त्यमा मेरो अनुरो समग्र सारेगम भित्र अटेर नेपाली गीतसंगीतको क्षेत्रमा जति प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संलग्न छौं सबैले बुझ्न आवश्यक छ, लोकदोहोरी, चलचित्र, आधुनिक, पप सबै विधा आफैंमा महत्वपूर्ण छन् । हामी संगीतभित्रका पात्र मात्रै हौं र हामीले कुनै विधालाई पनि फरक आँखाले हेर्नु हुँदैन । किनकी हामी आफैं बसेको घर आफैंले भत्काउनु राम्रो हुँदैन । सबैलाई चेतना भया !
    लेखक : युवा गीतकार एवं लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका सदस्य हुन् ।
    फिल्मीखबर साप्ताहिकबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु