• कुनै उमेर थियो मन परेको मान्छे पाइएन भनेर रुने: एकनारायण भण्डारी

    म्यूजिक खबर
    प्रकाशित: २२ पुष २०७३, शुक्रबार

    राधिका अधिकारी/म्यूजिकखबर

    नेपाली गीत संगीतका क्षेत्रमा अहिलेसम्म पनि गीतकार तथा संगीतकारको नाम बिरलै चर्चामा आउँछ । पछिल्लो समय केही गीतकार संगीतकारलाई प्राथमिकता दिन थालिएको छ । तथापि केहि मिडियाकर्मीमा चेतना आए पनि धेरै मिडियाकर्मीले आज पनि रेडियोबाट गीत बजाउँदा गीतकार संगीतकारको नाम भन्ने प्रचलन छैन । त्यसैले धेरै राम्रा गीतका गीतकार र संगीतकार आज पनि ओझेलमा छन् । तर, यहि समयका एक यस्ता भाग्यमानी गीतकार हुन् एकनारायण भण्डारी, जो गीतकारको नाम लिन पनि अप्ठेरो मान्ने देशमा जन्मिएर गीत लेखेरै चिनिएका छन् । उनलाई गीत संगीतले नाम मात्रै होइन सामान्य जीवन धान्न सक्ने पनि यहि क्षेत्रले बनाइदिएको छ ।

    eknarayan-bhandari
    स्याङ्जाको पकवादीको गेजामा जन्मेका भण्डारी गाउँबाट राजधानी छिर्ने बेलामा आमालाई म गीत लेखेर पैसा कमाउँछु, मलाई खर्च पठाउनु पर्दैन भनेर निस्केका थिए । राम्रो गीतकार बन्ने र पैसा कमाउने उनको रहर आमालाई भने झैं सजिलो भएन । उनले राजधानी आएर नाम कमाउन नै संघर्ष गर्नु प¥यो । भण्डारी कुनै समय आफूले लेखेको गीत राम्रो भएन अथवा गीत लेख्ने मुड आएन भनेर रातभरी रोएका छन् । त्यो बेला उनलाई सँगै बस्ने साथीले धेरै पटक सम्झाएका छन् । राम्रो गीत लेख्नकै लागि जति संघर्ष गरे स्थापित हुन त्यति संघर्ष गर्नु परेन । उनलाई नेपाली गीतसंगीतका स्रोताले छिट्टै पत्याए । स्रोता दर्शकले पत्याएपछि भण्डारीलाई बिस्तारै नेपाली लोक गीत संगीतका कलाकारहरुले पत्याए, सुगम संगीतका कलाकारको रोजाइमा परे । चलचित्र जगतका निर्माता निर्देशकको खोजीमा पनि परे गीतकार एकनारायण भण्डारी ।
    ‘डाँफे नाचेर फूल कहाँ फुल्छ र हाँगै भाँचेर’ गीतबाट नेपाली लोक गीतका क्षेत्रमा चिनिएका भण्डारीलाई गायक हेमन्त शर्माले गाएको ‘मुल हौ भने रसाइदेउ’ बोलको गीतले स्रोता मात्रै होइन धेरै गायक गायिकाको रोजाइका गीतकार बनायो । चलचित्र क्षेत्रका मान्छेहरुको रोजाइमा चलचित्र ‘बन्धकी’बाट लोकप्रिय बनेको ‘मेरो मनैको फूल टिपी’ बोलको गीतले पारेको हो ।

    eknarayan-bhandari
    गीतकार भण्डारीको गीत लेखनको पहिलो पाठाशाला उनी जन्मे, हुर्केको उकाली, ओराली, भिरपाखा, भञ्ज्याङ्, चौतारी त्यही परिवेश हो । जसका सुसेलीहरुले भण्डारीलाई गीत लेख्न सिकायो । स्कुल जीवनमा गृहकार्य गर्न घरमाथिको बन रोज्ने भण्डारीको पहिलो रेकर्ड भएको गीत त्यहि चौतारीमा बसेर गाउँबाट अन्मिदै गरेकी बेहुलीलाई हेरेर लेखेका थिए । देउरालीमा हावा बोलको त्यो गीत पछि त्यस्तै कल्पनामा उनले थुप्रै गीत लेखे । गीत लेख्दै जाँदा उनले केहि गीतमा संगीत पनि भरे । गीतलाई जस्तै उनका स्रोता दर्शकले माया गरे संगीतलाई पनि । स्रोता दर्शकको माया पाएपछि उनी माथि लगानी गर्ने लगानीकर्ताको कमी भएन सांगीतिक बजारमा । उनी संगीतकारका रुपमा पनि स्थापित बने । उनले सिर्जना गरेका गीत अथवा संगीत सिधै स्रोता दर्शकको मन मष्तिष्कमा बस्ने गर्छन् । त्यसैले पनि उनले सिर्जना गरेका गीत संगीत प्राय लोकप्रिय छन् । संयोगले पहिलो गीत रेकर्डको अवसर पाएका भण्डारीले क्यासेटको कभर धेरै दिनसम्म गोजीमा बोकेर हिंड्थे । त्यो बेलाको खुशी आज पनि उस्तै गर्वका साथ सम्झिन्छन् भण्डारी ।
    गीतकार भण्डारीले मायाका, वियोगका गीत संगीत थुप्रै सिर्जना गरेका छन् । प्रेम वियोगका गीत धेरै लेख्ने भण्डारीलाई गीत लेख्न भन्दा प्रेम गर्न धेरै सजिलो लाग्छ । उनी भन्छन् ‘माया संसारको सबैभन्दा बलियो चिज हो र यसले पीडा पनि उत्तिकै दिन्छ । सबैले गर्ने माया एउटै हुन्छ तर मान्छेको स्वभाव र व्यवहार अनुसार फरक बन्छ । माया गर्नु र गीत लेख्नु दुबै संयोगले हुने चिज हुन् । प्रेम गर्छु भनेर हुँदैन आफैं हुन्छ । गीत पनि त्यस्तै हो कति बेला फुर्छ थाहै हुँदैन् ।’ कुनै उमेर थियो मन परेको मान्छे पाइएन भनेर रुने, त्यो उमेर उनलाई पनि आयो । मन परेको मान्छे नपाउँदा धेरै तन्नेरी पुस्ता रोए झैं उनी पनि रोए । तर, अहिले जीवनलाई फर्केर हेर्दा प्रेममा आफू भाग्यमानी रहेछु भन्ने लाग्छ भण्डारीलाई । एउटा लेखक अथवा संगीतकार हुनु भनेको एक हिसावले पागलपन देखाउँनु जस्तै लाग्छ उनलाई । गीत संगीत कुनबेला फुर्छ थाहा हुँदैन । उनको यो पागलपनलाई साथ दिने उनकी श्रीमती जीवन र उनको सांगीतक जीवनसँग समझदार लाग्छ भण्डारीलाई । जीवनसँग जति नै समझादर भए पनि एउटै बिछ्यौनामा सुतेपछि लात्ती लाग्छ भने झैं उनको श्रीमतीसँग कहिले सानो तिनो घर व्यवहार र व्यवस्थापनका विषयमा ठाकठुक पर्छ । तर, ठाकठुकलाई लिएर उनी श्रीमतीलाई कमै फकाउँछन् । बरु उनकी श्रीमती नै उनलाई धेरै फकाउँछिन् ।
    सांगीतिक क्षेत्रमा नआएको भए आफू पागल हुन्थे की जस्तो लाग्ने भण्डारीलाई कहिलेकाही देशको प्रधानमन्त्री बन्न पाए हुन्थ्यो जस्तो कल्पना आउँछ । सम्पूर्ण देश नै अभावमा गुज्रिएको पछिल्लो समय प्रधानमन्त्री बन्न पाए सबै समस्याको हल गर्थें जस्तो लाग्छ उनलाई । कसैले सुन्दर नृत्य गरेको हेरे भने उनलाई नाच्न मन लाग्छ । कहिले कहि गायक गायिका बन्न मन लाग्छ, उनलाई ।
    पछिल्लो समय हामी छोराछोरीहरुलाई पढाउँदा अंग्रेजी माध्यमबाट पढाउन सुरु गर्छौं । अहिले बालबालिका सानैबाट स्कुलमा अंग्रेजीमा बोल्न सिक्छन्, घरमा हिन्दी च्यानल र गीतसँग अभ्यस्त हुन्छन् । यहि हिसाबमा समाज अगाडि बढ्दै जाने हो भने नेपाली संस्कृति नै लोप हुने हो की भन्ने पिरलो छ गीतकार भण्डारीलाई । देशको नक्सा त केवल एउटा सिमाना मात्रै सम्झने भण्डारी संस्कृति नै देशको पहिचान हो भन्छन् । त्यसैले देश रहन संस्कृति रहनै पर्ने बताउने भण्डारी आफ्ना नानी बाबुहरुलाई आफ्ना संस्कृति पनि देखाउन र चिनाउन आग्रह गर्छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु