संगीत रोयल्टी समाजले लामो अध्ययन र अनुसन्धानपछि गत मंसिर महिनामा नेपालको समग्र सांगीतिक क्षेत्रको पछिल्लो अवस्थाका सम्बन्धमा प्रकाशित गरेको तथ्यांकले संगीतकर्मीहरूलाई मात्र होइन समाजका हरेक क्षेत्रका प्रबुद्ध वर्गलाई सोच्न बाध्य बनाइदिएको छ । समाजका अध्यक्ष संगीतकार सुरेश अधिकारीद्वारा सार्वजनिक गरिएको तथ्यांकमा भनिएको छ—’नेपालको सांगीतिक क्षेत्रमा एक वर्षमा १ अरब ३५ करोड रुपैयाँ लगानी भैरहेको छ ।’ अधिकारी भन्छन्—’एउटा गीत रेकर्डिङ गर्न सरदर ५० हजार रुपैयाँ लगानी भैरहेको छ, जसअनुसार दैनिक ७५ वटा गीतका लागि ३७ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ । यस आधारमा एक वर्षमा १ अर्ब ३५ करोड लगानीमा २७ हजार नयाँ गीत उत्पादन हुँदै आएका छन् ।’ यति ठूलो लगानी भैरहेको संगीत क्षेत्रमा प्रतिफल करिब-करिब शून्य बराबर छ ।
नेपाल टेलिकमले २०६३ सालदेखि सीआरबीटीको सुरुवात गरे पनि त्यसबाट चित्तबुझ्दो रोयल्टी नपाएको र सरकारी स्वामित्वको नेपाल टेलिभिजनले अहिलेसम्म रोयल्टी नै नतिरेको संगीतकर्मीहरूको दावी छ । समाजका अध्यक्ष अधिकारीले ५०-६० हजार रुपैयाँ तिरेर उत्पादन गरिएका नेपाली गीत सित्तैंमा उपयोग भैरहने क्रम वर्ष २०७१ मा समेत जारी रहेको बताएका छन् ।
वर्ष २०७१ को अन्त्यसम्म आइपुग्दा नेपालमा करिब २ हजार ६ सय सर्जक नियमित रूपमा गीत-संगीतमा सक्रिय छन् भने ११ सय जना गीतकार तथा १ हजार संगीतकार गरी कुल २ हजार १ सय सर्जक रोयल्टी समाजसँग आबद्ध छन् ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा ७५ वटा गीत रेकर्डिङ स्टुडियो सञ्चालनमा छन् । हरेक स्टुडियोमा दिनमा कम्तीमा एउटा गीत रेकर्डिङ भैरहेको छ । यो तथ्यांकलाई आधार मान्ने हो भने वर्ष २०७१ मा नेपालमा दैनिक ७५ वटा गीत रेकर्ड भएका छन् । यो हिसाबले देशमा यो वर्ष मात्र करिब २७ हजार गीत रेकर्ड भएका छन् ।
गीत-संगीतको रेकर्ड जुन गतिले बढिरहेको छ, म्युजिक भिडियोको निर्माणको गति त्योभन्दा कम छैन । एउटा तथ्यांकअनुसार वर्ष २०७१ मा दैनिक औसत ५ वटा गीतका म्युजिक भिडियो निर्माण भएका छन् । एउटा म्यूजिक भिडियो निर्माण गर्न औसत १ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ । जसअनुसार एक वर्षमा करिब २ हजार वटा म्युजिक भिडियोका लागि करिब३० करोड रुपैयाँ खर्च भैरहेको छ ।
रोयल्टी समाजका उपाध्यक्ष शान्तिराम राईका अनुसार नेपालमा करिव १२ वटा टेलिभिजन च्यानलले म्युजिक भिडियो प्रसारण गर्दै आएका छन् तर ती च्यानलले म्युजिक भिडियोको उत्पादनमा लगानी गर्दैनन्, न त ती च्यानलले म्यूजिक भिडियो प्रसारण गरेबापत स्रष्टालाई रोयल्टी नै दिन्छन् ।
वर्ष २०७१ को अन्त्यसम्म आइपुग्दा संगीत उद्योगमा ५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको तथ्यांक सार्वजनिक भएको छ ।
यस्तो रह्यो उतार-चढाव
२०७१ सालमा नेपालको सांगीतिक क्षेत्रले मिश्रति प्रतिफल दिएको छ । गीति एल्बमहरूको बिक्री करिब-करिब शून्यमै झरे पनि विभिन्न विधाका एल्बम सार्वजनिक हुने क्रम रोकिएन ।
नेपाली सांगीतिक क्षेत्रले यो वर्ष गैरआवासीय नेपाली -एनआरएन) को ठूलो साथ र सहयोग पायो । खासगरी विदेशमा बसोबास गर्ने नेपालीहरू गीतकारकारूपमा उदाउँदा स्वदेशमा संगीतमा सक्रिय संगीतकर्मीहरूले बेरोजगार बन्नुपरेन । एल्बम बिक्री हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि काठमाडौंका तीन दर्जनभन्दा बढी स्टुडियोले एकै दिन पनि फुर्सदमा बस्नु परेन । संगीतकार, संगीत संयोजक, वाद्यवादक तथा रेकर्डिस्टहरू वर्षभरि नै व्यस्त भए । खासगरी अमेरिका, बेलायत, अस्टे्रलिया, हङकङ, जापान, कोरिया आदि देशमा आफ्नै व्यवसाय तथा रोजगारीमा व्यस्त थुप्रै सर्जक गीतकारकारूपमा उदाउँदा सांगीतिक क्षेत्र वर्षभरि नै चलायमान रह्यो ।
सुगम संगीतदेखि लोकदोहोरीसम्मका लोकप्रिय गायक-गायिकाहरूलाई स्वदेशका अधिकांश सञ्चालित भएका महोत्सवहरूले व्यस्त बनाए । प्रमोद खरेल, राजेशपायल राई, रामकृष्ण ढकाल, हेमन्त शर्मा, आनन्द कार्की, हिमाल सागर, नवीन के भट्टराई, सुगम पोखरेल, मिलन अमात्य, आस्था राउत, इन्दिरा जोशी, नीमा रुम्बादेखि मिलन लामा, पशुपति शर्मा, कोमल वली, सुनिता दुलाल, कुलेन्द्र बिक, नवीन पौडेल, मुना थापा मगरसम्मका गायक-गायिकाहरूले यो वर्ष फुर्सदमा बस्नुपरेन ।
लोकप्रिय गायक-गायिकाहरूलाई स्वदेशका महोत्सवमात्र होइन, विदेशका सांगीतिक कार्यक्रमले पनि उत्तिकै साथ दिए । वर्ष २०७१ मा विदेशमा नियमित रूपमा आयोजना भैरहेका सांगीतिक कार्यक्रममा कलाकारहरूले सहभागिता जनाउने क्रम बढ्यो ।
वर्ष २०७१ मा सांगीतिक बजारमा सीडीको व्यापार खस्किएपनि कतिपय संगीतकर्मीले संगीतको डिजिटल व्यापारबाट लाभ हासिल गरे ।
सिंगल ट्रयाकको फेसन
स्थापित गायक-गायिकाले यो वर्ष एल्बम निकालेनन् । अधिकांश गायक-गायिकाले सिंगल ट्रयाकमार्फत श्रोताहरूलाई मनोरञ्जन प्रदान गरे । प्रमोद खरेल, रामकृष्ण ढकालदेखि हेमन्त शर्मासम्मले यो वर्ष सिंगल ट्रयाक सार्वजनिक मात्र गरेनन्, ती ट्रयाकमार्फत श्रोताहरूको मन समेत जिते ।
चलचित्र संगीतको वर्ष
प्रदर्शन हुन बाँकी रहेको चलचित्र ‘रेशम फिलिली’ को ‘जाल…’ गीतले सफलताको इतिहास रच्यो । यसअघि संगीतकारकारूपमा मात्र सक्रिय कालीप्रसाद बाँस्कोटाले नव-गायिका सोमिया बराइलीसँग गाएको यो गीतको लोकप्रियता यसरी बढ्यो कि युट्युबमा मात्र यसका सयौं कभर भिडियो बने । चलचित्रको आधिकारिक भिडियो सार्वजनिक नभए पनि यसको कभर भिडियो कसले आकर्षक बनाउने भन्ने प्रतिस्पर्धा नै चल्यो ।
वर्ष २०७० को अन्तिम दिन प्रदर्शन भएर वर्ष २०७१ मा व्यवसायिक सफलता हासिल गरेको चलचित्र ‘नाइँ नभन्नु ल-२’ लाई सांगीतिक पक्षले ठूलो साथ दियो । वसन्त सापकोटाको संगीत निर्देशनको यो चलचित्रका अधिकांश गीत स्रोताले मन पराए । वर्षको अर्को सफल चलचित्र ‘नोभेम्बर रेन’ को ‘तिमीलाई के भनौं…’ गीत लोकप्रिय भएपछि पाश्र्व गायक युवराज चौलागाईं वर्ष भरी नै चलचित्रको गायनमा व्यस्त भए । वर्ष २०७१ मा युवराजले आधा दर्जनभन्दा बढी चलचित्रका दुई दर्जन गीत गाए । तीमध्ये ‘हवल्दार सुन्तली’ को ‘तिम्रो डोला डोला हातमा…’ लोकप्रिय भैसकेको छ । प्रहलाद तिमिल्सिनाले पाश्र्व गायनमा आफूलाई स्थापित गरेको वर्ष पनि यही नै हो । गायक तिमिल्सिनाले गायिका मिलन अमात्य तथा माण्डवी त्रिपाठीसँग गरेको पाश्र्व गायनका अधिकांश गीत लोकप्रिय भए । चलचित्र संगीतकारतर्फ अर्जुन पोखरेल तथा वसन्त सापकोटा वर्षभरी नै व्यस्त रहे । त्यसबाहेक शम्भुजित बाँस्कोटाले चलचित्र ‘कोहिनूर’ मार्फत आफूलाई पुन: एक पटक प्रमाणित गरे । ‘कोहिनूर’ का प्राय: सबै गीत दर्शकको जिब्रोमा झुन्डिन सफल रहे । महेश खड्काले पनि केही चलचित्रमार्फत सफलता हासिल गरे ।
तीज गीतमा विकृति
महिलाहरूको महान् पर्व तीजलाई गीत-संगीत बाढी आउने अवसरका रूपमा चित्रण गर्न थालिएको छ । तीज आउनुभन्दा केही महिनाअघि देखि नै बजारमा आउने तीज गीतमा विसंगति समेत भित्रिन थालेको छ । वर्ष २०७१ मा मात्र ५ सय भन्दा बढी तीज गीतका एल्बम बजारमा आएको तथ्यांक छ । खासगरी तीज गीतमा यौन कुण्ठातथा उच्छंृखल शब्द प्रयोग गर्ने प्रतिस्पर्धा नै चल्यो । द्विअर्थी शब्द राखेर तयार पारिने तीज गीतले तीजको वास्तविक मर्मलाई ओझेलमा पारेको गुनासो पनि उत्तिकै रह्यो ।
वर्षका उपलब्धि
– वर्षको उत्तरार्द्धमा गायक रामकृष्ण ढकालले अन्तर्राष्ट्रिय सफलता हासिल गरे । उनलाई बंगलादेशमा आयोजित दक्षिण एसियाली संगीत महोत्सवमा ‘साउथ एसियन म्युजिक एवार्ड-२०१५’ बाट पुरस्कृत गरियो । गायिका लता मंगेशकरसंग ‘बाँचुञ्जेलीलाई…’ गाएपछि रामकृष्णलाई यो अन्तर्राष्ट्रिय उपलब्धि हासिल भएको अनुमान गरिएको छ ।
– नेपाली गीत—संगीतको प्रारम्भदेखि वर्तमानसम्मका उपलब्धिहरूलाई समेटेर संगीतकार बुलु मुकारुङद्वारा तयार पारिएको पुस्तक ‘नेपाली संगीतको अभिलेख’ सार्वजनिक भयो । २०५६ सालदेखि कृति र संगीतकर्मीहरूको वायोग्राफी बटुल्न थालेका मुकारुङले २०७१ सालमा मात्र यसलाई पाठकसमक्ष पुर्याउन सफलता प्राप्त गरे । ८ सय ४८ पुष्ठको ‘नेपाली संगीत अभिलेख’मा ६ हजारभन्दा बढी संगीतकर्मीको बायोग्राफी तथा परिचय समेटिएको छ, जसमा सेतुराम, मेलवादेवीदेखि पछिल्लो समयका उदीयमान संगीतकर्मीहरूलाई समेटिएको छ ।
– केही वर्षको अन्तरालपछि वर्ष २०७१ मा देशले नयाँ नेपाली तारा पाएको छ । सिजुवा, मोरङका प्रताप लामाले नेपाली तारा-३ को उपाधि जिते । निणर्ायक प्रतिस्पर्धामा प्रतापले देवेश राई र सुरेश लामालाई पछि पारेका थिए ।
साप्ताहिकबाट