• तीजमा संस्कृति छाड्दै विकृति पछ्याउँदै

    म्यूजिक खवर
    प्रकाशित: १३ भाद्र २०७१, शुक्रबार

    कालिका खड्का
    काठमाडौँ । ‘तीजको लहर आयो बरिलै…’ हिन्दू नेपाली महिलाले मनाउने धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीजका अवसरमा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीत गुञ्जिरहेका छन । तीजका यस्ता गीतले महिलामा रौनकता बढाउन थप सहयोग पु¥याइरहेको छ । यस पर्वमा महिलाहरू अघिल्लो दिन दर खाएर भोलिपल्ट अर्थात हरितालिकाको दिन निरहार (पानी पनि नखाई) व्रत बसी भगवान शिवको पूर्जा गर्दछन् । विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान शिवजस्तो (असल, गुणी, राम्रो) पति पाऊँ भन्दै व्रत बस्ने प्रचलन रही आएको छ ।

    ‘हिन्दू धर्म ग्रन्थमा भगवान शिवलाई पति पाउँ भनेर देवी पार्वतीले गरेको व्रतको प्रभावले शिव नै स्वामी पाएको भन्ने धार्मिक जनविश्वास रहँदै आएको छ”–धार्मिक तथा संस्कृतिविद् डा गोविन्द टन्डनको भने । तीज पर्वको दिन देशभरका शिवालयका ठूलो मेला लाग्ने गर्दछ । महिलाहरूले सासु÷ससुरा र श्रीमानको खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा साथी सङ्गीसँग यसरी गीतमार्फत गुनगुनाउने गर्दछन,
    ‘तीजको बेलामा सबै जान्छन मेलामा,
    म छोरीको आँशु खस्यो दैला ठेलामा ।’

    महिलाले वर्षभरिको दुःख पीडा एक दिन तीजको पर्वका दिन आफ्ना साथीहरूलाई गीतमार्फत सुनाएर मन हलुका पार्ने दिनका रूपमा मनाउँदै आइरहेका छन् । खाली खुट्टा दिनरात काममा खटिदा पनि आफू दुई गास खान नपाएको महिलाले यसरी आफ्नो पीडा पोख्दछन् ।

    ‘पैतालुको खाला गयो बिझाउने बाटोले
    हृदयको खाला गयो बासी आटोले’
    तीज पर्व महिलाहरूले वर्षभरि भोग्नुपरेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो, लोक संस्कृति झल्काउने खालका गीत गाउँथे तर अहिले यस्ता गीतहरू लोप हुने अवस्थामा पुगेको बताउछिन् लोकगायिका तथा सभासद् सिन्धु जलेसा । महिलाले सासु–ससुरा र पतिको अन्यायका विरुद्ध आवाज उठाउने संस्कृतिमा रूपमा गाउने भाका अहिले फेसनका रूपमा भित्रिन थालेको छ ।

    भगवान शिवलाई पति पाऊँ भनेर देवी पार्वतीले गरेको व्रतको प्रभावले शिव नै स्वामी पाएको भन्ने धार्मिक विश्वास अनुसार तीज पर्वको सुरुवात भएको पाइन्छ । नेपाली महिलाहरूले पनि निरहार दिनभरि व्रत बसेर राति पतिलाई टीका लगाई खुट्टाको पानी खाने प्रचलन छ । तर अहिले संस्कृतिमा खुट्टाको पानी खानु स्वास्थ्यका लागि राम्रो होइन भनेर धरै महिलाहरूले त्यसो गर्न छाडिसकेका छन् । निरहार व्रत बस्ने चलन पनि हट्दै गएको छ । विरामी, अशक्त मात्र नभई अन्य महिलाहरूले पानी, फलफूल, जुस  खाएर व्रत बस्ने गरेका छन् । “व्रत बस्दा स्वास्थ्यलाई ध्यान दिएर बस्नु राम्रो हुन्छ, निरहार व्रत बस्नुपर्छ भन्ने छैन”–संस्कृतिविद् डा टन्डनको सुझाव छ । त्यति मात्र होइन, व्रत बस्ने महिलाहरू पनि सबै पति र हुनेवाला पतिका लागि मात्र बस्दैनन् । उनीहरू परिवारको सुख शान्ति र स्वास्थ्यका लागि व्रत बस्दछन् भने कोही मुलुकको सुख शान्ति, विद्याका लागि, राम्रो बालीनालीका लागि समेत व्रत बस्ने गरेको महिलाहरूको भनाइ छ । “सात कक्षा पढ्दादेखि नै व्रत बसेको हुँ, हरेक वर्ष आफ्नो पढाइ राम्रो होस् भनेर व्रत बस्छु”– कक्षा ११ मा पढने अर्पण कार्कीले सुनाए । तीज पर्वमा माइतीलाई सम्झेर गीत गाउने संस्कृतिको सुरुवात नेपालको लुम्बिनी र गण्डकी अञ्चलबाट आएको पाइन्छ । अन्यायका विरुद्व आवाज उठाउन, आफ्नो जीवनमा भोग्नुपरेका दुःख, पीडालाई विस्तारै अन्य क्षेत्रका महिलाहरूले पनि आ–आफ्नो लोकभाकामार्फत व्यक्त गर्न थालेका छन् ।

    Pro_Ktm_Teej Special (3)

    “चेलीले कर्म घरमा दुःख पाएको व्यथा गीतमार्फत पोख्ने संस्कृति पूर्वमा थिएन, नेपालको लुम्बिनी र गण्डकीबाट यो संस्कृतिको सुरुवात भएको हो”–नेकपा (एमाले) उपाध्यक्ष विद्यादेवी भण्डारीले विगत स्मरण गर्नुभयो । उहाँका अनुसार त्यो बेलामा महिलाले सासु, ससुरा र श्रीमानले दिने यातनाविरुद्ध गीत गाउनु भनेको मुहिला मुक्तिको लागि भएको हो । तीज पर्वमा महिलाहरूले खुलेर आफ्नो अन्याय र अत्याचारका विरुद्वमा आवाज उठाउन थालेका छन् । तीजका कतिपय गीतमा नारी सशक्तीकरणका कुरा समेटिएका छन् । महिला शिक्षा, महिला जागरका बारेमा कुरा उठन थालेका छन् । महिला अधिकारकर्मी शर्मिला कार्कीका अनुसार तीज पर्वलाई समयअनुसार महिला मुक्तिको आन्दोलनका रूपमा अगाडि बढाउनुपर्छ ।  महिलाहरूले वर्षभरि जीवनमा भोगेका तीता अनुभवलाई लय मिलाएर तीजका दिन साथी सङ्गीहरूबीच आपसमा वेदना साट्ने पर्वका रूपमा विकास भएको हो तीज संस्कृति । तर अहिले पहिरन, खाना, गरगहना र तीजका गीत बजारमा ल्याउनमा प्रतिस्पर्धाको मारमा यो पर्व परेको छ । पर्वका नाममा अनावश्यक तड्कभड्क बढेको छ । समाजमा नपच्ने खालको प्रतिस्पर्धा, देखासिकी बढ्दै गएको छ । संस्कृतिलाई कायम राखेर पर्व मनाउनुभन्दा पनि कस्ले कति महँगो सारी लगायो, कति तोलाको फेसनअनुसारका सुनका गहना लगायो भन्ने प्रवृत्तिले प्राथमिकता पाउन थालेको छ । तीज पर्व आउनु एक महिनाअघिदेखि नै दर खाने नाममा पार्टी प्यालेस, रेष्टुरेंन्टमा गएर खाना खाने, महङ्गा गहना लगाउने प्रवृति बढ्दै गएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव समेत रहेका  डा गोविन्द टन्डनले पशुपति आउने महिलाहरूलाई महङ्गो गहना लगाउँदा चोरी हुनसक्ने भन्दै नलगाउन आग्रह गरेका थिए ।  केही वर्षदेखि बजारमा बिक्री गराउने र पैसा कमाउने लहरमा नेपाली लोक कलाकारहरूले पनि आफ्नो संस्कृतिलाई कुल्चेर सस्तो विकाउ गीतहरू बजारमा ल्याएको देखिन्छ । अधिकांश गीति क्यासेटहरू धेरै विक्री गराउने लोभमा तीजको मौलिकतालाई बिर्सेर छाडा खालका गीत र नृत्यले भरिएका छन् । वर्षपिच्छे तीज पर्वमा नयाँ प्रस्तुती लिएर आउने गायिका कोमल ओलीले यो वर्ष यस्तो गीत बजारमा ल्याउनुभएको छ । ‘हल्ला भो शिवजी तिम्रो मरो माया पिरेमको’ यो गीतमा जसोतसो नेपाली समाजले पचाइरहेको छ तर यसअघि ‘पोइल जान पाम’ भन्ने उहाँको गीतले तीज पर्वको नाममा ठूलो प्रहार भोग्नुपरेको ८८ वर्षीया लीलामाया पोखरेलको गुनासो छ । तीजका गीतमा छाडा शब्द र छोटा–छोटा कपडाले लीलामायाको मन दुखाएको छ । आजभोलि सात डाँडापारि कर्म घर बनाएर पठाएकी चेलीको दुःख, कष्ट र पीरमर्का कुनै पनि गीतमा सुनिदैन । सूचना र प्रवधिको विकाससँग आएको इन्टरनेट सामाजिक सञ्जालमा महिलाको कर्म घरका बेदना कसैले पोखेको देखिदैन । अझ सहरी वातावरणमा हुर्केका महिलाले संस्कृतिको महत्वलाई बुझ्नुभन्दा पनि विकृतिलाई नै बढावा दिइरहेका छन् । पार्टी प्यालेस र होटलमा वियर, ह्विस्की र रमका बोतल हल्लाउदै बलिउड र कलिउडका गीतमा मस्त नशामा झुमेका देखिन्छन् । दरको खाने बाहनामा मदिरा पान गरी नेपाली सभ्यताको धज्जी उडाउने विकृतिलाई समयमै रोक्न सकिएन भने नेपाली मौलिकता हराउँदै जानेछ ।

     

     

    Teej
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु