• नन्दा बस्याल र दिलिप रायमाझीको आँखा जुध्यो

    म्यूजिक खबर
    प्रकाशित: १० बैशाख २०७५, सोमबार

    १० बैशाख, काठमाडौं । कलाकारिता होस् या खेलकूद नन्दा बस्यालको परिचय दुवैतिर माथि नै छ । अभिनेता दिलिप रायमाझीको त कुरै नगरौं । तर कलाकार नन्दा बस्याल हुन् या दिलिप रायमाझी दुवैको आँखा जुधेपछि के के भयो होला ?

    वास्तविकतामा भने गायक शिव संगीत र गायिका पूर्णकला बिसीको स्वरमा रहेको सिंगारु गीत ‘आँखा जुध्यो’मा नन्दा बस्याल र दिलिप रायमाझीको अभिनयभित्र आँखा जुधेको हो । ६ नं प्रदेशतिरको मौलिक भाका सिंगारु गीतमा नन्दा र दिलिपलाई अभिनय गराउन सफल भने प्रकाश भट्ट रहेका छन् । राजधानीमा वन तथा भूसंरक्षण मन्त्री शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा गीत आँखा जुध्यो सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा ६ नं र ७ नं प्रदेशका मौलिक गीतहरुमा नृत्यसमेत गरिएको थियो भने रामकुमार एलनद्वारा लिखित नाटक ‘बोक्सी उद्योग’समेत मन्चन गरिएको थियो ।

    समाजमा बोक्सी आरोपमा महिलामाथि भइरहेको ताडना अन्त्य गर्दै समतामूलक समाज निर्माणमा युवाको भूमिका अपरिहार्य भएको सन्देश नाटकमार्फत दिइएको छ । नाटकमा लालटिन नेपाल समूहका कलाकार केसी राजा, बालानन्द मैनाली, पदम घिमिरे, सञ्जीव राई, अंकिता राई, नितु पौडेल, रुपेश राईलगायतले अभिनय गरेका थिए । नाटक टार्जन दाहाल र केसी राजाले निर्देशन गरेका हुन् ।


    सिस्टर नेपालका अध्यक्ष नन्दा बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले कलाकारले समाजका नराम्रा पाटो अन्त्य गर्न र हिंसारहित समाज निर्माण गर्न अभिनयमार्फत सन्देश प्रवाह गर्नु पर्ने बताए ।  नाटक ‘बोक्सी उद्योग’ सडक नाटकका रुपमा देशका विभिन्न शहरमा र छिट्टै काठमाडौँको कुनै एक नाटक घरमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको निर्देशक टार्जन दाहालले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु