• नारायणी किनारमा गायक गायिकाको जमघट

    म्यूजिक खबर
    प्रकाशित: ९ कार्तिक २०७३, मंगलवार

    काठमाडौं । तिहारको पूर्वसन्ध्यामा आधा दर्जन गायक गायिका नारायणी किनारमा भेला हुने भएका छन् । तर उनीहरु भाइटीका लगाउन त्यहाँ भेला हुन लागेका भने होइनन् । उनीहरु भेला भएका हुन् नेपालमा दुर्लभ हुँदै गरेको सामूहिक कन्सर्टका लागि । धेरै जना कलाकारलाई एउटै मञ्चमा उतारेर कन्सर्ट गर्ने परम्परा हराइरहेका बेला काठमाडौंको फेम नेपाल र चितवनको बि टू एच मिलेर आधा दर्जनभन्दा बढी कलाकार भेला गरेर कन्सर्ट गर्ने भएका छन् । टिएसएन इभेन्ट्स समेतको संलग्नतामा आउँदो शनिबार नारायणघाटको नदी किनारमा कन्सर्ट हुन लागेको हो ।

    rythem-highway
    ‘रिदम हाइवे’ नाम दिइएको सो कन्सर्टमा ८ जना कलाकारले गीत प्रस्तुत गर्नेछन् । आयोजक मध्येको एक फेम नेपालका साइमन राईले दिएको जानकारी अनुसार कन्सर्टमा दि एज ब्यान्ड, सबिन राई, नरेन लिम्बु, अलमोडा राना उप्रेति, आस्था राउत, पशुपति शर्मा, गिरिश खतिवडा र बि एटले आ– आफ्ना गीत सुनाउनेछन् ।

    आयोजकले नेपाली संगीतसँगै नेपाली कलाकारलाई समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ कन्सर्ट आयोजना गर्न लागेको जानकारी दिएको छ । ‘सामूहिक कन्सर्ट कम हुँदै गएकोमा यस्ता कन्सर्टको निरन्तरतासँगै यो क्षेत्रमा आउन चाहानेलाई पनि यस्तो माहोलले प्रोत्साहन होस् भन्ने उद्देश्यले कन्सर्टको आयोजना गरेका हौं । दर्शकबाट राम्रो साथको अपेक्षा राखेका छौं,’ फेम नेपालका विमल पछाईले भने ।

    कात्तिक १३ गते हुने कन्सर्टमा दर्शकले दुई सयको टिकट लिएर कन्सर्टको मजा लिन सक्नेछन् । कन्सर्ट दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जानकारी गराएको छ । देशका चर्चित गायक गायिकाले आफ्ना चर्चित गीत सुनाउने भएकाले पनि दर्शकले कन्सर्टमा गएर पछुताउनु नपर्ने दाबी गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु