• नारी सम्मानार्थ ‘एकल साँझ’ गर्दै रेखा शाह

    म्यूजिक खवर
    प्रकाशित: २१ फाल्गुन २०७४, सोमबार

    फागुन २१, काठमाडौं । आफ्नो गायन करियरले २५ वर्ष पुरा गरेको अवसर पारेर गायिका रेखा शाह पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएकी छिन् । यही फागुन २४ गते बिहिबार अन्तर्राष्ट्रिय नारी दिवसका दिन दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजना हुने एकल गायन कार्यक्रममा गायिका शाहले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् ।

    ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा…’ गीत लेखन÷संगीत तथा गायनबाट आफ्नो सांगीतिक यात्रा प्रारम्भ गरेकी गायिका रेखा शाह आफ्नो सांगीतिक करियरमै पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत हुन लागेकी हुन् । उनले स्थापना गरेको सामाजिक संस्था ‘रेखा शाह फाउन्डेसन’ले आयोजना गर्न लागेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    २०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशब्यापी लोकगीत गायनमा सिमसिमे पानीमा…ले प्रथम स्थान प्राप्त गरेपछि सांगीतिक क्षेत्रमा स्थापित भएकी गायिका शाह शास्त्रीय संगीतकी विद्यार्थीसमेत हुन् । शास्त्रीय संगीतमा सिनियर डिप्लोमा अध्ययन गरिरहेकी उनले द लाइन, आकृति, स्मृतिजस्ता एल्वमहरु प्रकाशन गरेकी छिन् । ‘तिमीलाई केही हुँदै नहोस्’, ‘एक दिन तिमी फर्कि आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लै’, ‘पोखूँ भने’ लगायतका उनका गीत चर्चित छन् ।

    बिहिबारको एकल गायन कार्यक्रममा गायिका शाहले आफ्नासहित अन्य अग्रज स्रष्टाका करिब डेढ दर्जन गीत प्रस्तुत गर्ने छिन् । कार्यक्रममा उनले शान्ति ठटाल, डेजी बराइली, अरुणा लामा, नारायण गोपाल, तारादेवी, सरोज गोपाललगायतका गायक–गायिकाका कालजयी गीत–गायनमा द लिजेन्ड व्यान्डले वाद्यवादनमा साथ दिनेछ भने युगल गायनमा सुरजकुमार थापाले साथ दिनेछन् ।

    अन्तर्राष्ट्रिय नारी दिवसको दिन कार्यक्रम गर्नुको औचित्यमाािथ प्रकाश पार्दै गायिका शाह भन्छिन्– ‘मार्च महिना नारी विशेष । म अझै जेन्डर स्टडीकी विद्यार्थी । त्यो दिन नारीको सम्मानका निम्ति पनि कार्यक्रम गर्दैछु ।’

    कमजोर आर्थिक अवस्था भएका बालबालिकाको शिक्षा–दीक्षामा सहयोग गर्दै आइरहेको उनको फाउन्डेसनले सोही दिन राष्ट्र र समाजको उन्नयनमा योगदान दिँदै आइरहेका विभिन्न क्षेत्रका आधा दर्जन नारीहरुलाई नगद र ताम्रपत्रले सम्मानसमेत गर्नेछ ।

    देशव्यापी लोकगायन प्रथम स्थान–रेडियो नेपाल, युवा छिन्नलता गीत पुरस्कार, म्युजिक अनर्स–रेडियो कान्तिपुर, ईमेज, कालिका, अन्नपूर्ण एफएमलगायतका अवार्ड र सम्मान प्राप्त गरेकी शाह अभिनयमा पनि सक्रिय छिन् । आफ्ना गीतहरुमा उनी आफैले अभिनय गर्दै आइरहेकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु