• निशाको ‘ह्याप्पी तिज’

    म्यूजिक खबर
    प्रकाशित: २७ श्रावण २०७१, मंगलवार

    काठमाडौं, २७ साउन । प्रायः गलजमा आफ्नो माधुर्य स्वर भर्दै आएकी गायिका निशा देसारले पहिलोपटक तिज गीत गाइरहेकी भेटिइन् । संयोग पनि कस्तो भने जहाँ बरिष्ठ गीतकार डा. कृष्णहरि बरालमा पनि भेटिए, जो गजल तथा सुगम गीतकारका रुपमा चिरपरिचित छन् । तर, सुगम गायनका यी हस्ती राजधानीको न्युरोडस्थित स्ट्रिङ रेकर्डिङ स्टुडियोमा तिज गीत रेर्कडिङमा व्यस्त भेटिए । गायिका निशा भन्दैथिइन्, ‘पहिलोपटक तिज गीत गाएकी हुँ ।’

    कसका लागि मनाउँछेस् तिज भन्नुहुन्छ आमा
    बिहेसिहे भा’छैन नमान बित्थामा
    हो, यसपटक गायिका निशा तिजका लागि भनेर एउटा गीत गाइन् । गीतकार डा. बरालको शब्द तथा ताराप्रकाश लिम्बूको संगीत रहेको ‘ह्याप्पी तिज’ बोलको गीतको रेकर्डिङपछि निशाले भनिन्, ‘पहिलोपटक तिजको गीत गाउँदा अनौठो लागिरहेको छ ।’ पछिल्लो समय ‘म त अजनबी’ जस्ता चर्चित गजल ल्याएकी निशाले भनिन्, ‘तिज कार्यक्रमका लागि यो गीत गाएकी हुँ । तिजको थुप्रै कायक्रम हुन्छ तर मेरो अहिलेसम्म तिजबारे गीत गाएकी थिइनँ ।’ उनले आफ्नो पहिलो तिज गीतलाई श्रोताले रुचाउने विश्वास लिएकी छन् ।
    यस्तै, सयौं गीत तथा गजलका स्रष्टा डा. बरालको यो दोस्रो तिज गीत हो । यसअघि एउटा मात्र आफूले तिजका लागि गीत लेखेको बताउँदै गीतकार बरालले भने, ‘यसअघि कोमल वलीको जिकिरमा लेखेँ, यसपटक निशाको अनुरोधमा ।’ तिज गीतमा ‘ह्याप्पी’ अंग्रेजी शब्द चयन गरेकामा अलिक अड मान्दै गीतकार बरालले भने, ‘ह्याप्पी भन्ने शब्द हरेक ठाउँमा प्रयोग हुन थालेको छ । फेसबुकमा होस् वा हरेक चाड पर्वमा ह्याप्पी कमन शब्द हुन थालेको छ । त्यसैले सयम सापेक्षित ह्याप्पी तिज उल्लेख गरेको हुँ ।’ ‘ह्याप्पी तिज’ गीतमा गीतकार बरालले केही आधुनिकता ल्याउने प्रयास गरेका छन् । उनका अनुसार ‘ह्याप्पी तिज’ अहिलेका युवा सुहाउँदो तिज गीत हो ।
    ‘पत्नीले पतिका लागि व्रत बस्न मिल्छ भने प्रेमिकाले प्रेमीको लागि किन नमिल्ने ?’ आफ्नो गीतको अर्थ कोट्याउँदै गीतकार बरालले भने, ‘त्यसैले मैले प्रेमी–प्रेमिकाको तिज लागि लेखेको हुँ ।’ उक्त गीतको चाँडै नै म्युजिक भिडियो निर्माण गरिने गायिका निशाले बताइन् । ‘काम गर्दा गर्दै ढिलो भयो’ उनले भनिन्, ‘जतिसक्दो चाँडो भिडियो बनाउँदैछु ।’ तिज गीत गाएपछि यसपालि व्रतसमेत बस्ने निशाले चाँजो बनाएकी छन् । उनले भनिन्, ‘अहिलेसम्म तिजमा व्रत बसेकी थिइनँ । तर गीत नै गाएपछि व्रत पनि बस्ने सोचका छु ।’

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु