जेष्ठ ३१, काठमाडौं । ‘ऊ जितेर गई या हारेर गई, नतिजा आफैंतिर पारेर गई’ गजलबाट एकाएक चर्चामा आएका गायक राज सिग्देल मंगलबार राजधानीमा गुन्जिए । गजल गायकको छवि बनाएका उनले ‘राज सिग्देल एकल साँझ’ मा आफ्ना र आफूलाई मन पर्ने दर्जनभन्दा बढी नेपाली, हिन्दी गजल र फिल्मी गीत सुनाए ।
दोलखाको कालिका उच्च माविमा पुस्तकालय निर्माण र अक्षयकोष स्थापनार्थ उर्वरा फाउन्डेसन नेपालले एकल साँझ गरेको हो । संगीत क्षेत्रमा लाग्न प्रेरणा दिने गाउँले दाइ शालिकरामलाई सम्झिएर राज एकछिन भावुक बने । उनले भने, ‘दाइले नै शिवराजबाट राज बनाउनुभयो ।
मैले गर्ने सांगीतिक कार्यक्रमहरूमा दाइको नाम आएन भने फिक्का लाग्छ ।’ राजले गीतकार हेमन सुवेदीको शब्द र चण्डीप्रसाद काफ्लेको ‘आँखैमा राखें तुँवालो बन्यौ, दिलैमा सारें भुइँचालो बन्यौ’ गजलबाट शृंखला अगाडि बढाए । आलोक श्रीको संगीत, आनन्द अधिकारीको शब्द र ईश्वर अमात्य स्वरबद्ध गीत ‘सुन्नेलाई सुनको माला भन्दिनेलाई फूलको माला’ गीत मनपर्ने उल्लेख गर्दै कार्यक्रममा गुन्गुनाए । पहिलोपटक भिडियोमा अभिनय गरेको अनुभव सुनाउँदै उनले ‘नजर दामी हजुरको’ गीत सुनाउँदा दर्शक ‘वान्स मोर, वान्स मोर’ भनेर चिच्याइरहेका थिए ।
राजको आउन लागेको नयाँ ‘तस्बिर’ एल्बमको हरि बस्ताकोटीको शब्द रहेको ‘आँखैमा कुनै सपना छैन…’, ‘अमृत भनी विष पिलायौ…’ गीत गाए । उनलाई मन पर्ने हरिप्रसाद रिमालले गाएको ‘फगत एक नजरमा…’, फत्तेमानको ‘बनै खायो डढेलोले…’, तारादेवीको ‘सोचेजस्तो हुन्न जीवन…’ सुनाए । दर्शकहरू राजले ‘ऊ जितेर गई या हारेर गई’ गीत कतिखेर गाउँछन् भनी कुरिबसेका थिए । राजले ‘ऊ जितेर गई या हारेर गई’ गीतलाई हिन्दी ‘चुप्के चुप्के रात दिन आँसु बहाना याद है’ र ‘जति चोट दिन्छौ देऊ मायालु’ गीतसँग म्यासअप गरेर गाउँदा दर्शकले रुचाए । श्रीमती राधिका भण्डारीसँग राजले गाएको ‘गहिरोगहिरो सागरजस्तै’ गीत दर्शकले निकै रुचाइयो ।
भारतीय गायक हरिहरनको गजल ‘हमने काटी है तेरी याद में’, ‘दिन ढल जाए कहीँ रात ना’ गीत गाए । उनले आफ्ना ‘यो माया हराएको सहर हो प्रिया’, ‘यो त जाली सहर हो प्रिया’, ‘नजरमा तिम्रा हजार रहेछन्’ लगायत गीत गाए । कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष एवं कवि देवकी अभिलाषी, संरक्षक बिकु लामा, नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले धारणा राखे ।