• बुबाको पदचाप पछ्याउँदै गायक रुपक श्रेष्ठ

    म्यूजिक खबर
    प्रकाशित: २४ बैशाख २०७५, सोमबार

    म्यूजिकखबर/काठमाडौं
    कुनै बेला रञ्जना म्यूजिक इन्डष्ट्रिज भनेपछि गीतसंगीतको क्षेत्रमा चर्चित कम्पनीका रुपमा चिनिन्थ्यो । रञ्जनाबाट गीत बजारमा ल्याउन पाए सफल भइन्थ्यो, अडियो बिक्री धेरै हुन्थ्यो, आम्दानी पनि बढ्थ्यो भन्ने कलाकारहरु धेरै थिए । एउटा इतिहास बोकेको म्यूजिक कम्पनी यतिबेला डिजिटल बजारमा मात्रै सीमित छ । अडियोको बजारले विश्राम पाए पाएपछि गीतसंगीतको बजारले ठूलै फड्को मा¥यो । कलाकारहरुको कमाइको क्षेत्रलाई रञ्जना म्यूजिकले धेरैको घर निर्माण गरिदिएको छ । कलाकारमा लगानी गरेर आफ्नो व्यवसायसँगै कलाकारको आर्थिक अवस्थालाई पनि मजबुत बनाइदिएको कम्पनी यतिबेला आफ्नै प्रोडक्सनमा सीमित रहेको छ भन्दा पनि फरक पर्दैन । भगवान कुमार श्रेष्ठ भन्ने वित्तिकै रञ्जना म्यूजिक भनेर चिनिने अवस्था थियो । धेरै कलाकारलाई जन्माए, उनीहरुलाई उचाइमा पु¥याए, तर घरभित्र के भयो भन्ने सोच्न सम्म भ्याएका थिएनन् भगवान कुमारले । बल्ल अहिले आएर घरभित्रै पनि कलाको प्रतिभा बोकेको गायक रहेछ भन्ने सोच्न भ्याएका छन् भगवानले ।

    भगवान कुमारका छोरा रुपक श्रेष्ठ संगीत क्षेत्रले नै आशा राखेको प्रतिभा हुन् । रुपक कक्षा ५ तिर पढ्दादेखि नै बालकार्यक्रमहरुमा सहभागी हुँदै प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्दै हिंडेका थिए । नेपाल टेलिभिजनबाट प्रसारण हुने बाल कार्यक्रममा दोस्रो स्थान हासिल गरेका रुपक लिट्टल एन्जेल्समा पढ्दा पनि गायन प्रतियोगितामा भाग लिँदै आएका थिए । त्यो कुरा भगवानले राम्रोसँग सोच्न भ्याएका थिएनन् मात्र उनलाई कम्पनीको इज्ज्तमाथि आँच आउला कि भन्दै कुन कलाकारको गीत कहाँ बजाउने, कहाँ बिक्रीका लागि लैजाने भन्ने चिन्ता थियो । तर रञ्जनामै कार्यरत डेकेन्द्र श्रेष्ठले भने रुपकलाई गीत गाउने ब्रेक दिए । २०६९ सालतिर डेकेन्द्रकै शब्द संगीतमा रहेको गीत रुपकले गाउने अवसर पाए । कलेज पढ्दै गरेको अवस्था उनले पाएको यो ब्रेक भ्वाइस चेक मात्र भयो अर्थात् एउटा अनुभव भयो तर गीत बजारमा आएन । दोस्रोपटक पनि डेकेन्द्र श्रेष्ठले नै उनको स्वरमा गीत रेकर्ड गराए । त्योबेला भने गायक रुपकलाई अब भने भगवानले मलाई स्वर दिएका रहेछन् भन्ने लाग्यो । पहिलोपटक गायक बनिँदैन जस्तो लागे पनि दोस्रोपटक भने रुपकभित्र अब म्यूजिक क्षेत्रमा नै केही गर्न सक्छु भन्ने आँट आयो ।


    २०७३ को अन्त्य ‘मेरो गीत’ लिएर बजारमा औपचारिक रुपमा उदाएका रुपकले उक्त गीतबाट राम्रै प्रतिक्रिया पाए । त्यसपछि आफूलाई निरन्तर गायनमा नै ल्याउनु पर्छ भन्ने उद्देश्यले ‘सिङ्गल ट्रयाक’ फोकस गर्दै तीन वटा गीत रेकर्ड गरेका छन् । तीन मध्येको एक गीत डान्सिङ विटमा तयार भएको हुँदा उनी पछिल्लो समयको मागलाई समात्दै त्यही गीतको प्रमोशन गर्ने उद्देश्यमा छन् । नेप्लिज स्म्युउल ग्रुप (एनएसजी ग्रुप)ले उनको गायन शैलीलाई अफर गरेर गीत निर्माणको क्रममा लागेका हुन् । कान्छि चाहियो, मेरो देश, हामी एनएसजी सारा जस्ता गीतलाई समावेश गरेर ‘एनएसजी’ एल्बम तयार गरिएको उनले बताए । डान्सिङ बिटको गीतमा भने रुपकले आफ्नै लगानी गरेका छन् ।


    पछिल्लो समय मास्टर्स अध्ययनकै क्रममा रहेका रुपकले गुरु चन्दनकुमार श्रेष्ठसँग चार वर्षे संगीतको शिक्षा लिएका छन् भने अहिले गायक मनोजराजसँग संगीतको कक्षा लिइरहेका छन् । कुमार विवाहितको शब्द, लक्ष्मण शेषको संगीत रहेको सुन सुन बोलको राष्ट्रिय भावको गीत, ललिता कुँवरको शब्द, सुरेश अधिकारीको संगीत रहेको को हौ, योगेन्द्रमणि दाहालको शब्द, राजु सिंहको संगीत रहेको तिमीलाई देखेपछि, भुपेन्द्र खड्काको शब्द, विजु बज्रको संगीतमा भएको भाको कुरा, चन्दन गुरुको संगीत, दुर्गालाल श्रेष्ठको शब्दमा आमा लगायतका डेढ दर्जनभन्दा बढी गीत रेकर्ड गरिसकेका रुपकले गीतसंगीतको क्षेत्रलाई सानैदेखि राम्रोसँग बुझ्ने मौका पाए । घर नै मनोरञ्जनको भण्डार बनिरहँदा उनी पनि त्यही गीतसंगीतभित्र रमाउने गर्थे । रञ्जना म्यूजिकले धेरै कलाकारसँग हातेमालो ग¥यो । त्यो बखत रुपकले पनि गायक तुलसी पराजुली, कर्ण दास भेट्दा मनभित्र गीतसंगीतप्रतिको उर्जा मिलेको बताउँछन् । कम्पनीको काम गर्दै जाँदा कलाकारहरुको संगतले उनलाई पनि संगीततर्फ आकर्षित गरेको बताउँछन् ।

    हुन त उनी सानैदेखि स्कुले जीवनमा नै गाउने, प्रतियोगितामा भाग लिने गर्थे तर उनका बुबा भगवानकुमार श्रेष्ठ भने त्यति ध्यान दिने गर्दैनथे । आमाले छोरा पनि गाउँछ एउटा गीत गरिदिउँ भन्दा बुबाको ध्यान त्यति जाँदैनथ्यो, गायक रुपकले भने – ‘ठीकै छ एक दिन हुन्छ, सिक्दै छ मात्रै बुबाले भन्नुहुन्थ्यो । तर आज बुबाले नै गायनमा आकर्षित गरेको देख्दा म क्षमता विकास होस् भन्ने बुबाको चाहना रहेछ भन्ने लागेको छ ।’ यदि बुबा नभएको भए म पनि यो गीतसंगीतको क्षेत्रमा हुँदैनथें रुपक सम्झिन्छन् ‘बुबाको स्टाटसबाट नै मैले सुरुका दिनमा नाम चलेका विशिष्ट गीतकार, संगीतकारसँग काम गर्न पाएँ त्यसले मलाई अगाडि बढ्ने दबाब दियो, जिम्मेवारी बोध गरायो र म गायनमा लाग्ने सोच लिएर अघि बढें ।’

    भगवानका एक छोरी र एक छोरामध्येका रुपक यतिबेला भने नेटवर्किङ, भिडियो इडिटिङ, अनलाईन मार्केटिङ, ब्रान्डिङ जस्ता काम गरिरहेका छन् । गायनलाई केन्द्रमा राखेर यस क्षेत्रसँग सम्बन्धित कामहरु गर्दै रञ्जना म्यूजिकलाई पुनः व्यापारको क्षेत्रमा ब्यूँताउने लक्ष्य उनीभित्र छ । रञ्जनाको पुरानो नेटवर्कलाई फैलाउँदै गुडविल बचाउने सोचमा उनी छन् । पछिल्लो समय सिस्टमको अभाव भएको उनी महसुस गर्छन् । यदि नेपालभित्र डिजिटल प्रविधिलाई सही सदुपयोग गर्ने सिस्टम बन्ने हो भने गीतसंगीतबाट नै करोडपति बन्न सक्ने रुपक बताउँछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु