ठाडो भाकाका एक मात्र गुरुका रुपमा परिचित रहेका भेडीखर्के साइला उर्फ दीर्घराज अधिकारी सिकिस्त विरामी भएर थला परेका छन् ।
पछिल्लो समयमा पश्चिमाञ्चलको बहुचर्चित तथा लोपोन्मुख ठाडो भाकाका मूर्धन्य ब्यक्तित्वका रुपमा परिचित भेडीखर्के साइँला यतिवेला विरामीले थलिएका छन् । उनको उपचारका लागि कतैबाट पहल कदमी समेत हुन सकेको छैन ।
दमका दीर्घ विरामी भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारी झण्डै एक महिनादेखि ज्वरोले ओछ्यानमा थलिएका हुन् । लमजुङको सिन्दुरे गाविसको तुर्लुङकोटमा जन्मिएर परेवाडाँडामा बसाइँसरि बस्दै आएका भेडीखर्के साइँला गएको असार अन्तिम सातादेखि नै विरामी परेका थिए । विरामी परेपछि सुन्दरबजारस्थित आफ्नो छोरी ज्वाँइको घरमा वस्दै आएका भेडीखर्के साइँला बोल्न समेत नसक्ने भएका छन् । हाल उनको आफ्नो छोरी लिला लौडारीको घरमा सामान्य उपचार भईरहेको छ । तर पनि सुधार हुन नसकेको लिलाले वताईन् । ८२ वर्षको बृद्ध शरीर, दमको रोग, त्यसमाथि ज्वरोले थलिएपछि उनी निकै कमजोर भएका छन् ।
१२ बर्षको कलिलो उमेरदेखि ठाडो भाका गाउन थालेका भेडीखर्के साइँलाले ७ दशक ठाडो भाकाको साधनामा मात्रै विताए । गला छँदा सवैको वाहीवाही पाउने भेडीखर्के साइँला अहिले भने एक्लै ओछ्यान परेका छन् । विरामी परेर ओछ्यानमा परेपछि अहिले उनलाई साथ दिने त परे जाओस् हालखबर सोधिदिनसम्म कोही पनि छैनन् ।
पछिल्लो पुस्ताले वास्ता नगरेको अवस्थामा यसलाई जोगाईराख्ने एकमात्र भेडीखर्के पनि विरामी परेपछि बहुचर्चित ठाडो भाका लोप हुने अबस्थामा पुगेको छ । भेडीखर्के साइलाको विडो थाप्ने दोस्रो गायक अहिलेसम्म नदेखिएपछि कतै ठाडो भाका नै लोप हुने हो कि भन्ने चिन्ताले बिरामी भई ओछ्यानमा परेका भेडीखर्के साईलालाई सताएको छ ।
भेडीखर्केलाई दोहोरी गायन क्षेत्रका आशुकवि पनि मानिन्छ । कला र गलाका धनी भेडीखर्के साइँलाले वि।सं। ०३५ सालदेखि यो भाका रेकर्ड गराउन रेडियो नेपालदेखि विभिन्न स्टुडियोमा चहारे । तर भनसुन गर्न नसक्दा रेकर्ड हुन नसकेको तीतो यथार्थ अहिले पनि उनीसँग ताजै छ । ०५३ सालमा अल्ट्रासाउण्ड प्रालिले मेरो सेरोफेरो भन्ने एल्बममा ठाडोभाकाको क्यासेट निकालेपनि अहिलेसम्म उनले त्यसको रोयल्टी वापत एक रुपैयाँ पनि नपाएको बताए ।
ठाडो भाकाबाट लमजुङको कला संस्कृतिलाई देश विदेशसम्म चिनाउने भेडिखर्केलाई राज्यले अहिलेसम्म चिन्न नसक्नु राज्यकै लागि ठूलो दुर्भाग्य बन्न सक्छ ।
यसो त राज्यले कला,संस्कृति र गीतसंगीतको क्षेत्रलाई राज्यको गहनाको रुपमा परिभाषित गर्दै आएको छ । पछिल्लो समयमा त कलाकारहरुलाई पनि राज्यको अभिन्न अंगकै रुपमा हेरिदै आएको छ । तर सरकारको यो भनाइ भनाइमै मात्र सीमित रहँदै आएको छ । किनभने अभिन्न अंग र गहनाका रुपमा रहेका तिनै कलाकारहरु विरामी भएर थलिदा भने राज्यको कुनै निकायको नजरसम्म नपर्ने गरेको हुँदा राष्ट्रका मुर्धन्य स्रष्टाहरुको मृत्यु हुने गरेको तीतो यथार्थ हामीमाझ छर्लङ्ग छ ।