• म्यूजिक नेपालले ल्यायो पाइरेसी रोक्ने म्यूजिक एटीएम

    म्यूजिक खबर
    प्रकाशित: १३ आश्विन २०७२, बुधबार

    नेपाली सङ्गीतको बढ्दो पाइरेसीका कारण व्यावसायिक बजारमा देखापरेको प्रतिकूल अवस्थाबाट निकास खोज्न म्युजिक नेपालले एटीएम प्रविधिको प्रयोग गर्ने बाटो सुझाउँदै गत आइतबार यसको सफल परीक्षणसमेत गरेको छ ।
    नेपाल सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति सङ्गीतज्ञ शम्भुजित बासकोटा र नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मासमेतको सहभागितामा प्रथमपल्ट राजधानीमा प्रयोग–परीक्षण गर्दै म्यूजिक नेपालका प्रवन्ध–सञ्चालक सन्तोष शर्माले भने– “यसको प्रयोग सफल भयो भने नेपाली सङ्गीत फेरि पुरानै स्वर्णिम युगमा फर्किन्छ ।” तर उनले पाइरेसीसम्बन्धी मुद्धा सरकारवादी हुने भएकाले पाइरेसी गर्दैआएका केही व्यक्ति र संस्थालाई हतोत्साही गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । “नेपाली सङ्गीतको सामुत्थानमा अब यसको विकल्प छैन,” उनले भने– “त्यसैले सम्बन्धित निकायले यस प्रविधिलाई लागू गर्न सक्रियता देखाउनु पर्छ ।”
    बढ्दो पाइरेसीका कारण नेपाली सङ्गीतको भौतिक (सीडी, क्यासेट) बजार यतिखेर ठप्प भएको छ ।
    सो समारोहमा नेपाल सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति सङ्गीतज्ञ शम्भुजित बासकोटाले नेपाली सङ्गीतलाई व्यासायिक बजारमा पाइलो टेकाउने र यसको बजार बिस्तार गर्दै हिन्दी र अन्य विदेशी सङ्गीतको अतिक्रमणलाई निष्तेज पार्दै आममानिसबीच नेपाली सङ्गीतलाई लोकप्रिय बनाउनेमा म्यूजिक नेपालको भूमिका महत्वपूर्ण रहेको बताए ।

    music nepal

    “म्यूजिक नेपालकै कारण कुनै समय कल्पनै नगरिएको अवस्थामा कलाकारहरूले आर्थिक उन्नति गरे,” उनले भने– “यही म्यूजिक नेपालका कारण कलाकारहरू गाडी चढ्ने अवस्थासम्म पुगे । त्यसैले यो एटीएम प्रविधिलाई स्थापित गर्न कलाकार, सर्जक, सङ्गीत व्यवसायी तथा यसलाई संरक्षण गर्ने सम्बन्धित सरकारी निकाय सबैले जागरुक भएर प्रतिवद्धता साथ लाग्नु आजको आवश्यकता हो ।” बासकोटाले कार्यमा आफ्नो व्यक्तिगत तथा नेपाल सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठानको पूर्ण साथ–सहयोग रहेन पनि बताए ।

    अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले यसका लागि नेपाल प्रहरीले जुनसुकै सहयोग गर्न पनि तयार रहेको विचार व्यक्त गरे । एसआईजी शर्माले भने– “नेपाल प्रहरीलाई जानकारी दिएका खण्डमा हामी यस्ता पाइरेसीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याएर आवश्यक कार्बाही गरिने छ ।” सङ्गीतका स्रष्टा, सङ्गीत उद्यमीलगायत सरोकारवालासितको सहकार्यमा नेपाल प्रहरीले पाइरेसीविरुद्ध चालिने हरेक कदममा साथ दिने बताए । एसआईजी शर्माले मोबाइलको ‘हाम्रो पुलिस’ एप्स प्रयोग गरेर त्यसमार्फत प्रहरीलाई जानकारी गराइयो भने पनि अविलम्ब कारबाही गरिनेसमेत विश्वास दिलाए ।
    हाल यो प्रविधि नयाँ सडक भूगोलपार्क अगाडि अबिरल मोवाइल तथा इलेक्ट्रोनिक्समा परीक्षणका रूपमा राख्एिकोमा निकट भविष्यमै यसलाई राजधानीका विभिन्न सङ्गीत स्टोर र तत्पश्चात देशव्यापी रूपमा प्रयोगमा ल्याइने बताइएको छ । म्युजिक नेपालका सन्तोष शर्माका भनाइमा नेपाल प्रहरी र अन्य सम्बन्धित सरकारी निकायले सहयोग गरेमा छोटो समयमै नेपाली सङ्गीतले पुनः गति लिने छ र मञ्चीय कार्यक्रमबाट मात्र जीविका चलाइरहेका गायक–गायिकाहरू मात्र होइन सम्पूर्ण सङ्गीत–सर्जक तथा व्यवसायीहरूसमेत आर्थिक रूपमा लाभान्वित हुने छन् ।

    02. Press Conference 1

    03. Press Conference 2

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु