• यसकारण अध्यक्षमा उठ्दैछु म: बद्री पंगेनी, अध्यक्षका उम्मेदवार

    म्यूजिक खबर
    प्रकाशित: ७ आश्विन २०७३, शुक्रबार

    राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान, नेपालको नयाँ नेतृत्व चुनिने क्रममा छ । राजधानीमा केही दिनपछि हुन लागेको अधिवेशनमा अध्यक्षका लागि बद्री पंगेनी, विष्णु खत्री र टीकाराम चपाईँले उम्मेदवारी दर्ता गर्ने भएका छन् । अहिले वरिष्ठ उपाध्यक्ष रहेका गायक पंगेनीले प्रतिष्ठानको नेतृत्व दाबी गर्नुको कारण बारे आफ्ना बिचार प्रस्तुत गरेका छन् ।

    vote-for-badri-pangeni
    लोक संगीतको वर्तमान अवस्था
    समाजमा लोकगीत र संगीतको प्रभाव बढ्दै गएको छ । आफ्नो परम्परागत कला, पहिचान वा संस्कृति जे भनेर भए पनि यो विधाको संगीतलाई माया गर्नेहरू बढेका छन् । यससँगै लोकसंगीतलाई करिअरका रूपमा अपनाउनेको संख्या पनि बढ्दो छ । लोकसंगीतप्रति बढेको यो प्रेम कायम बनाइराख्नुपर्ने चुनौती हामीसामु छ । त्यससँगै लोकसंगीतलाई आफ्नो पेशा बनाएर अघि बढिरहेका प्रतिभावान् कलाकारलाई हतोत्साहित हुन नदिने जिम्मेवारी पनि यो क्षेत्रका अग्रजको काँधमा छ ।
    स्टेज कार्यक्रम, मेला पर्वले अहिले सीमित कलाकारलाई जोगाउन सके पनि लोकसंगीतमै ऊर्जावान् समय खर्चिएको कलाकारको ठूलो समूह मर्कामा छ । विशेष गरी श्रमजीवी कलाकार, जो सँग प्रतिभाबाहेक अरू केही छैैन । त्यस्ता कलाकार तडकभडकमा रमाउनेहरूका अगाडि निरीह बनेका छन् । यसले लोकगीतका क्षेत्रमा विसंगति बढिरहेको टीकाटिप्पणी आइरहेका छन् । त्यसैले देशभरि आफ्नो संगठन रहेको र झन्डै ४० हजार लोकसंगीतकर्मी सदस्य रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अबको नेतृत्व लिनेका लागि अनगिन्ती चुनौती छन् ।

    नव कलाकारका सम्बन्धमा
    अहिले सबैभन्दा बढी कष्ट नयाँ कलाकारहरूले उठाउनु परिरहेको छ । लोकसंगीतलाई आफ्नो करिअर बनाउन चाहने धेरै कलाकारको पृष्ठभूमि गाउँ हुन्छ । गाउँघरमा पाएको हौसला बोकेर कलाकार बन्ने सपनाका साथ मानिस काठमाडौँ छिर्छ । काठमाडौँ पुगेपछि रेकर्डिङ स्टुडियोसम्म पुग्नुअघि, संगीतकारकहाँ पुग्नुअघि र गीतकारकहाँ पुग्नुअघि नै बिचौलियाको फन्दामा परेर लुटिइसक्छ । कलाकारले एउटै गीत रेकर्ड गर्न अनेक झन्झट बेहोरेको र धेरै खर्च भइदिँदा घरखेत नै बेच्नुपरेको निकै उदाहरण छन् ।
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाललाई उनीहरूका हकहितमा बोल्ने मात्रै होइन सहजीकरण गर्ने निकायका रूपमा पनि विकास गर्नुपर्छ । गाउँबाटै आएर काठमाडौँमा संघर्ष गरिरहेका नयाँ प्रतिभाको संरक्षण गर्न संस्थागत रूपमा लाग्नुपर्छ । प्रतिभावान् तर आर्थिक अभावका कारण पछि परेको कलाकारलाई अगाडि बढाउने मञ्चका रूपमा पनि प्रतिष्ठानलाई स्थापित गर्नैपर्छ ।
    लोकसंगीतकर्मीलाई अहिले जीवनयापन गर्न दोहोरी साँझहरूले सघाइरहेका छन् । कला र गला तिखार्ने ठाउँ पनि दोहोरी साँझ भएका छन् । त्यहाँ काम गर्नै कलाकार साथीका पनि छुट्टै समस्या छन् । श्रमजीवी कलाकारका बाध्यताको धेरैले फाइदा उठाउँछन् । उनीहरूका लागि पनि व्यक्तिगत र संस्थागत रूपमा लाग्नुपर्ने आवश्यकता देखिएको छ ।

    Badri Pangeni
    अग्रजका सम्बन्धमा
    नेपालको लोकसंगीतका अनेक कालखण्डमा महत्वपूर्ण योगदान दिएका अग्रजहरू जीवनको उत्तराद्र्धमा गुमनाम हुने मात्रै होइन, जीवनयापन र उपचारमा समस्या देखिने गरेको छ । यसका लागि पनि यही संस्थाले केही नकेही पहल गर्नुपर्छ ।

    प्रतिष्ठानको आगामी लक्ष्य
    लोकदोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका कारण अहिलेसम्म यो क्षेत्रले प्राप्त गरेका उपलब्धिको जस र आएका विकृतिको अपजस हामीले लिनुपर्छ । आगामी दिनमा लोकसंगीतलाई जोगाउन र विकृत हुन नदिन हामी नै लाग्नुपर्छ ।
    लोक कलाकारले यतिबेला नयाँ शिराबाट लडाइँ लड्नुपर्नेछ । राज्यसँग अधिकार र कर्तब्यका लागि स्पष्ट रुपमै देखिनुपर्नेछ । लोक गीत र संगीत संरक्षणका लागि राज्यले वर्षेनी ठूलो रकम खर्च गर्ने गरेको छ । तर, लोक संगीतको संरक्षण प्रतिबद्ध कलाकर्मीहरु त्यसबाट लाभावान्दित भइरहेको देखिदैन ।
    यति मात्रै होइन, राज्यले कलाकारबिच नै विभेद सिर्जना गर्ने गरेको छ । जसले गर्दा लोक कलाकारहरुको हकहितका मुद्दा अबका दिनमा चर्काउँदै लैजानुपर्नेछ । राज्यसँग अन्य कलाकारसरह हकहित माग्नका लागि लडाइँ लड्नुपर्नेछ । यसको नेतृत्व राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान, नेपालले गर्नुपर्छ । जसका लागि म तयार छु ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु