• राजनीति भनेको बुढेसकालमा टाइमपास गर्ने थलो होइन

    म्यूजिक खवर
    प्रकाशित: ७ श्रावण २०७२, बिहीबार

    गायक, बद्री पंगेनी


    पश्चिम नेपालको पाल्पा जिल्लाको रामपुर गाउँमा जन्मिएका गायक बद्रि पंगेनी नेपाल र नेपालीमाझ लोकप्रिय नाम हो । गीत संगीतको अलवा राजनीति र खेलकुदमा पनि चासो राख्ने पंगेनी आफूलाई शरीर रहेसम्म नेपालमै रहेर नेपाली संगीत क्षेत्रमै सक्रियता रहनेछु भनेर प्रतिज्ञा गर्नुहुन्छ । लाहुरे गाउँ भएकाले सानो छँदा लाहुरेप्रतिको मोह अति नै भएको र खेलकुदमा पनि रुचि भएको बताउनुहुन्छ । आफु फूटबल र क्रिकेटको राम्रो खेलाडी पनि भएको बताउनुहुन्छ । स्कुले जीवनमा विज्ञान विषय अति नै मन पर्ने र जीव विज्ञानमा चासो भएको हुँदा चाल्र्स डार्विन झैं खोलामा जाने, एकोहोरीने, सोचिरहने गरेको क्षण सम्झँदै उहाँ भन्नुहुन्छ – ‘नेपाल रहे पो नेपाली बन्न सकिन्छ त्यसैले आ–आफ्नो क्षेत्रबाट सकेको जति देशका लागि केहि गरौं ।’ ससुरालीमा, लाउ चेली सिन्दुर लाउ, अझै नि गणतन्त्र आको छैन है, म त नेपाली लगायत रातो पछ्र्यौरी जस्ता चर्चित गीतहरु श्रोता माझ ल्याइसक्नुभएका राष्ट्रप्रेमी भावनाका लोकप्रिय गायक पंगेनीसँग म्यूजिक खबरका तर्फबाट सविता पोखरेलले गरेको कुराकानी ः

    गायक बद्रि पंगेनी बन्नुभन्दा अगाडिको पृष्ठभूमि भनिदिनुहोस् न ?
    म गायक बद्रि पंगेनी बन्नुभन्दा अगाडि पनि फुच्चे गायक बद्रि पंगेनी नै थिएँ । कसरी भने अहिले म राष्ट्रियस्तरमा गायक छु चिनिएको छु तर त्यतिबेला स्थानीय गायक तथा कलाकारको रुपमा चिनिएको थिएँ । घाँस दाउरा गर्न जाँदा होस् या मेलापर्ममा जाँदा होस् सबैले मलाई गीत गाउन कर गर्थे । गाउँमा भएको हरेक पुजा अनि रोधीमा पनि मैले अनिवार्य रुपमा गीत गाउनु पथ्र्यो । १०÷११ वर्षदेखि नै मैले तीजका गीत गाउँथे, भजन तथा बालन गाउँदै अभिनय पनि गर्थें साथै ७/८ कक्षामा अध्ययन गर्दा त म गाउँमा चर्चित नै भैसकेको थिएँ ।
    मेरो परिवार सांगीतिक परिवार त हैन । म परिवारकै पहिलो कलाकार हुँ । तर मेरो गाउँ पाल्पाको रामपुर भने संगीतमय गाउँ थियो । साँझ पर्दा नपर्दै साथीहरु मादल लिएर रोधी बस्नु हुन्थ्यो । म पनि स्कुलबाट आएर पानी लिन जाने बहाना गरेर रोधी घर जान्थें अनि रातको ९÷१० बजे सम्म गाइन्थ्यो, नाचिन्थ्यो अनि रमाइलो गरेर घर फर्किन्थें । यसर्थ म गायक बद्रि पंगेनी बन्नुपूर्व पनि स्थानिय चर्चित गायक तथा कलाकार बद्रि पंगेनी नै बनिसकेको थिएँ । हा हा (लामो हाँसो) बरु स्थानिय बद्रि पंगेनी पूर्व चाहिं चकचके स्वभावको बद्रि पंगेनी थिएँ ।

    आमा बुबाको सपना के थियो ?
    आमा बुबाको सपना भनेकै मेरो खुशी थियो । उहाँहरुलाई थाहा थियो कि मलाई गीत संगीत एकदमै मन पथ्र्यो । त्यसैले मेरो संगीतमोहलाई उहाँहरुले कहिल्यै रोक्नु भएन । सामान्य कृषक परिवार भइकन पनि म लाठे छोरा घरमा हुँदाहुँदै बुबाले आफैंले हलो जोतेर भए पनि मेरो खुशीको लागि उत्प्रेरित गरिरहनु भयो । कहिले पाल्पाको सदरमुकाम तानसेनमा त कहिले पोखरामा विभिन्न पार्टीका विभिन्न कार्यक्रमहरु भैरहन्थे, जिल्लास्तरीय सांस्कृतिक कार्यक्रमहरु पनि भैरहन्थे यस्ता कार्यक्रमहरुमा मेरो इच्छा तथा भावना बुझ्दै बुबाले तँ जा, तैंले जानुपर्छ भन्दै मलाई उचित वातावरण दिनुहुन्थ्यो । यसर्थ उहाँहरुको सपना भनेकै असल र सफल छोरा बन्नु थियो । र, म उहाँहरुको सपना भन्दा बाहिर गएको पनि छैन र जाने पनि छैन ।

    badri pangeni Singer_America
    अहिलेका लोक तथा दोहोरी भनिएका कतिपय गीतहरु त हेर्दा, सुन्दा त लाजै लाग्ने छन् नी ?
    हो, यो यथार्थ कुरा हो । अहिलेको परिप्रेक्ष्यमा साह्रै जायज प्रश्न गर्नुभयो । मलाई पनि टेलिभिजनमा कतिपय लोक गीत हेर्दा मलाई पनि असहजता हुन्छ । कताकता लोक पारा पनि मिसाउने गीतहरु हुन्छन् । यस्ता गीतहरुका बारेमाभन्दा पनि हामीले लोक गीतको वास्तविक भाव नमारौं, पहिचान नमेटाऔं । लोक गीत संगीतको मौलिकता र पहिचानलाई नष्ट गर्ने काम नगरौं । हामी सबै मिलेर हाम्रा भाषाहरु, हाम्रा लयहरु शैलीहरु कायम राखौं । साथै यस्ता प्रश्न गर्ने दिन चाँडै समाप्त होस् भन्ने कामना पनि गर्दछु । सकिन्छ राम्रो गरौं सकिँदैन भने नराम्रो चाहिं नगरौं है भन्न चाहन्छु ।

    त्यसको लागि को सर्तक हुने त ?
    पछिल्लो समयमा हेर्नुभयो भने मौलिक लय तथा शैली भएका गीतहरुलाई नै दर्शक तथा श्रोताहरुले रुचाउनुभएको छ । नराम्रा गीतहरुलाई दर्शक तथा श्रोताबाट नै निस्तेज गर्नुहुनेछ । साथै नीति नियम तथा कानुन पनि बन्नुपर्छ भनेर राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान पनि अगाडि बढिरहेको छ । हाम्रो कुरालाई सरकारले पनि सुनिदिनुपर्छ । लोक गीत संगीत तथा नेपाली बृहत संगीतले नै संविधानमा ठाउँ पाउँनुपर्नेछ । हाम्रा हक अधिकार कर्तव्य दायित्व प्रष्ट पार्दै हामी अगाडि बढ्ने तयारीमा छौं ।

    संविधान पनि छिट्टै बन्दैछ भनेपछि हामीले के अपेक्षा गर्न सक्छौं त ?
    संविधानको भर्खर त मस्यौदा तयार हुँदैछ । संविधान आफैंमा पूर्ण कहिले पनि हुँदैन । पहिले नेपालको अन्तरिम संविधान जारी होस् त्यसपछि त्यसमा सन्तुष्टि हुने वा त्यहाँ थप गर्नु पर्ने कुराहरु वा हाम्रा मागहरुका कुरा आउँछन् । त्यसपछि हामीले कुन किसिमको दबाब दिन आवश्यक छ त्यो किसिमको दबाबका लागि हामी तत्पर रहनेछौं । अपूर्ण संविधानलाई पूर्णताका लागि पहलकदमी गर्नेछौं ।

    कतिपय प्रोगाममा त तपाँई राजनीतिक रुपले पनि प्रस्तुत हुनुभएको छ नी ?
    हरेकको आ–आफ्नो राजनीतिक लगाव हुन्छ । म चाहिं सच्चा गणतन्त्रवादी लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्दछु भने राजतन्त्र र अरु कुनै निरंकुश तन्त्रमा विश्वास गर्दिनँ । यति भन्दा भन्दै अहिलेसम्म मैले कुनै विशुद्ध पार्टी विशेषको झण्डा भने बोकेको छैन । कुनै विचार सिद्धान्तलाई मन पराउनु वा सपोर्ट गर्नु मेरो कुनै महापाप होइन । यो हरेक व्यक्तिको बैचारिक नैसर्गीक अधिकार हो ।

    लोकदोहोरी क्षेत्रलाई प्रतिनिधित्व गर्दै राजनीति गर्ने व्यक्तिको रुपमा तपाईंलाई लिइन्छ नी ?
    हा हा हा….. राजनीति भनेको बुढेसकालमा टाइमपास गर्ने थलो होइन । राज्यले आवश्यकता ठान्यो भने, जनमत बद्री पंगेनीको उपस्थिति हुनुपर्छ भनेर समर्थन आयो भने र अहिलेका गणतन्त्र तथा लोकतन्त्रवादी पार्टीहरुले पत्यायो भने र कुनै राम्रो जिम्मेवारी दियो भने म पछि हट्ने कुरा हुँदैन । राजासँग साँठगाँठ नगर्ने पार्टीसँग म आवद्ध हुन सकुँला तर अहिले म सबै छाडेर कुनै पार्टीको झण्डा बोकेर हिंड्ने छैन । सिंगो राष्ट्रका खातिर आवश्यक परे सबै पार्टीको सामुहिक आन्दोलन तथा समर्थन सभा ¥यालीमा उपस्थित हुन्छु । तर म लोकदोहोरी गायक भनेर जति चिनीएको छु माया पाएको छु साथ पाएको छु इज्जत पाएको छु राजनीतिमा गएर यो पाउन सक्दिनँ ।

    हाल लोकदोहोरी प्रतिष्ठानको बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भावी अध्यक्षको तयारीमा हुनुहुन्छ रे नि ?
    हैन हैन, यो विषयमा मेरो कुनै तयारी छैन । भोली म अध्यक्ष हुन्छु या हुन सक्दिन त्यो त मलाई नी थाहा छैन । लोकदोहोरी प्रतिष्ठान संस्था एउटा असल संस्कारमा र सिष्टममा बसेको संस्था हो । हाम्रा अग्रजहरुका कारण यहाँसम्म आइपुगेको छ । म अग्रजलाई सम्मान गर्छु र उहाँहरुले हामीलाई प्रोत्साहन गर्नुहुन्छ । म कला र उमेरको सम्बन्धको सम्मान गर्छु यो संस्कारबाट बिचलीत हुन चाहन्नँ । मेरो काम कर्तव्य र जिम्मेवारीलाई निर्वाह गर्नेछु । प्रतिष्ठानलाई कसरी अगाडी लैजाने र मेरो योगदान के रहन सक्छ त्यो गर्न चाहन्छु । हाल अध्यक्ष चन्द्र शर्मा हुनुहुन्छ उहाँलाई साथ सहयोग गर्दै अगाडी बढ्नेछु । यहि कार्यकालमा नेपाली लोकसंस्कृति र लोक संगीतका लागि हाम्रो संस्थाबाट के गर्न सकिन्छ त्यो पुरा गर्नु नै हामी सबैको उदेश्य हो । अझै एक वर्ष हामीसँग छ यो समय भित्रमा ऐतिहासिक निर्णय गर्न सकियोस् भन्ने चाहना छ । तर अहिले मैले प्रतिष्ठानको भावी नेतृत्वको बारेमा तयारी त परै जाओस् सोचेको पनि छैन ।

    यो क्षेत्रमा आएर सन्तुष्ट हुनुहुन्छ ?
    नेता मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति अथवा अन्य उच्च ओहदाको पद भनेको कुनै निश्चित समयको लागि हुने पद हो भने गायक भनेको आजीवन पाउने पद हो । यसर्थ म खुशी छु सन्तुष्ट छु । गायक भएर इज्जत मान सम्मान माया पाएको छु भने सन्तुष्ट नहुने कुरै भएन नी । यहि क्षेत्रमा कर्म गर्न पाउँ निरन्तरता दिन सकुँ यो नै मेरो सन्तुष्टी हो । अहिलेसम्म यो क्षेत्रमा आएर मलाई कुनै पश्चाताप पनि छैन ।

    badri pangeni_musickhabar

    अमेरिका जाँदै हुनुहुन्छ, उतै बस्ने योजना छ की ?
    तँपाइलाई म ग्यारेन्टी दिन्छु, नेपाल छाडेर स्थायी बसोबासका लागि विदेश रोज्दिनँ । अहिले बाराक ओबामाले बद्री पँगेनी अमेरिका आउनु प¥यो सम्मान सहित बसोबासको व्यवस्था मिलाईदिन्छु अमेरिकी नागरिकता लिनुस् भने पनि म लिन तयार छैन । मलाई नेपालीभूमी, नेपाली संस्कार, नेपाली सभ्यता, नेपाली संगीतको जति माया अरु केहिको पनि लाग्दैन । भोली मलाई जिवीकोपार्जनका लागि साह्रै कष्ट भयो भने पनि पाल्पाको रामपुर गएर कृषक पेशा गर्छु, एक वर्षमा काठमाण्डौ आउँछु अनि एउटा गीत गरौंला तर मेरो राष्ट्रियता बेच्न सक्दिनँ । युरोपको सबै चाँजोपाँचो मिलाइदिन्छु भन्ने साथीहरु धेरै हुनुहुन्छ तर मैले धेरै चोटि बहिष्कार गरिसको छु । सके संगीत क्षेत्रमा लागेर नेपाल बस्छु, नसके जुन सुकै क्षेत्रमा लागेर भए पनि नेपाल छाड्दिन ।

    संगीत क्षेत्रमा लागेर बाँच्नु भएको छ है ?
    त्यो त घाम जस्तै छर्लङ्ग छ नी । म संगीत क्षेत्रमा लागेर मेरो परिवार पालेको छु । तर सबै कलाकारमा यो लागू हुन सकेको छैन । आठ दश जना कलाकार व्यस्त छन्, कमाएका छन् तर बाहेक अरु प्रतिभा भएका पनि पिछडिएका छन् । जीविकोपार्जनका लागि धौ धौ परिरहेको छ । हाम्रो माग के भने राज्यसँग प्रतिभा भएका सबैले आफ्नो राज्यमा बाँच्न सक्नु प¥यो । नाँच्न जानेकाले नाँचेर, गाउन जानेकाले गाएर जसले जे जानेको छ उसले त्यही गरेर आफ्नै देशमा बाँच्न सक्ने वातावरण सृजना हुनुप¥यो ।

    जीवनको संघर्ष कस्तो छ ?
    म पाल्पाको बिकट रामपुर भन्ने ठाउँबाट सामान्य किसान परिवारबाट आएको व्यक्ति । रेडियो नेपालमा बज्ने लोक तथा गीतहरु सुनेर यहाँसम्म आएको मान्छे । कहिले त रेडियो बजाउनलाई ब्याट्रि नै हुँदैनथ्यो न त व्याट्रि किन्ने पैसा नै । यस्तो दिनहरु पनि बिताइयो भने संघर्ष त अवश्य गर्नु प¥यो ।
    मलाई कसैले तँ चाहिं लोक गायक बद्रि पंगेनी बन्नु तथास्तु भनेर आएको हैन । संघर्ष गरेरै आएको हो । संघर्ष त अहिलेसम्म पनि गरिरहेको छु । रामपुरबाट हवाई चप्पल र स्कुले युनिफर्म आकाशे रङ्गको सर्ट र निलो पाइन्टमा काठमाण्डौ छिरेको, रामपुरको खाल्डोबाट कहिल्यै ननिस्केको मान्छेले राजधानीमा आएर कति दुःख गरियो होला भनि साध्य छैन । दुई रोपनी जग्गा बेचेर काठमाण्डौं छिरेको हुँ । कुनै दिन मेरो संघर्षको बारेमा छुट्टै स्टोरी बन्नेछ ।

    पाइरेसीका बारेमा के भन्नुहुन्छ ?
    पाइरेसी नेपालको मात्र समस्या हैन । यो विश्व संगीत क्षेत्रकै ठूलो समस्या हो । कानून बलियो र कार्यान्वयन गर्न सक्ने देशहरुमा चाहिं अलि कम समस्याको रुपमा छ । तर हाम्रो जस्तो विकाशोन्मुख देश र फितलो कानुन भएको र कानूनलाई पनि कार्यान्वयन गर्न नसक्ने देशमा यो बिकराल समस्या हो । त्यसैले पाइरेसीलाई नियन्त्रण गर्नका लागि हामी कलाकारहरु, स्रष्टाहरु, सर्जकहरु साथै दर्शक श्रोताहरु समेत सजक तथा सचेत रहनु पहिलो पाटो हो भने राज्यले नै बलियो कानून बनाएर कानून कार्यान्वयन गर्नु दोस्रो पाटो हो । अहिले भनिएको छ गाडिमा गीत बजाए बापत, रेष्टुरेन्टमा गीत बजाए बापत रोयल्टी तिर्नुपर्छ । यसैले यी कुराहरुको राज्यले नै कार्यान्वयन गर्नु पर्छ । मुलुकमा राजनीतिक अस्थिरता छ । राजनीतिक स्थिरता भएको दिन, व्यवहारिक कानून पाएको दिन यो समस्या समाप्त होला भन्ने आशा गरौं ।

    यदि तपाँई प्रधानमन्त्री बन्ने अवसर पाउनुभयो भने ?
    यदि म प्रधानमन्त्री बन्ने अवसर पाएँ भनें दुई दिनमा मेरो कुर्सी जाओस् तर राष्ट्रिय हितका लागि ऐतिहासिक निर्णय गर्ने थिएँ । कुनै अन्तर्राष्ट्रिय शक्तिसँग नडगमगाई सबै कामहरु फटाफट गर्ने थिएँ । अनि कुर्सी त्याग्ने थिएँ । प्रचण्डले प्रधानमन्त्री भएर चीनको भ्रमणबाट आएपछि एयरपोर्टमै भारत शक्तिसँग डराएर ‘मेरो औपचारिक भ्रमण भारत नै हुनेछ’ भने त्यो बेला मेरो जति चित्त कसैको दुखेन होला । अहिलेसम्मका प्रधानमन्त्रीले जसरी अन्तर्राष्ट्रिय शक्तिलाई प्रभु मानेर १८० डिग्रीमा दण्डवत गर्ने परिपाटी छ म यो संस्कारलाई अन्त्य गरि राष्ट्रिय हितका लागि निर्णय तथा कामहरु गर्थे ।

    तपाईंको सबैभन्दा मिल्ने नजिकको संगीतकर्मी को हो ?
    सबै नजिक छन् । सबैभन्दा गाह्रो कुरा नै हो । कसैसँग मन मिल्छ, कसैसँग बिचार मिल्छ भने कसैसँग भावना मिल्छ । भगवान भण्डारीको नाम मैले छुटाउन मिल्दैन त्यस्तै स्व. खेम रानाको नाम पनि छुटाउन सक्दिन । पुरुषोत्तम न्यौपाने, राजेन्द्र लम्साल क्षेत्री, नारायण रायमाझी मेरा अग्रजहरुको नाम मैले कहिल्यै पनि छुटाउनु हुँदैन । व्यक्तिगत रुपमा एउटा साथीको हिसाबले चाहिं राजु परियार एउटा यस्तो व्यक्ति हो जसले मलाई तँ भन्ने गर्छ मलाई अहिलेसम्म कसैले तँ भनेर बोलाउँछ भने त्यो पनि राजु परियार हो, त्यस्तै मैले पनि कसैलाई तँ भन्छु भने त्यो राजु परियार नै हो । राजुको र मेरो सम्बन्ध दिलको सम्बन्ध हो । लक्ष्मी न्यौपाने दिदी, बिमा कुमारी दुरा दिदी म फूच्चे भइकन पनि उहाँहरुको सगरमाथाको हाइटको व्यक्तित्वहरुसँग काम गर्ने मौका पाएँ साथ दिनु भयो । उहाँहरुलाई पनि धन्यवाद भन्छु । सिन्धु मल्ल बहिनी भिनाजु साली बनेर गीत गाएका छौं सालीलाई बिर्सने कुरै भएन । शिला आलेसँग स्टेजमा सबैभन्दा बढी प्रफमेन्स दिएको छु उहाँलाई पनि सम्झन्छु । शर्मिला गुरुङ दिदी जसले मलाई ६, ७ वर्ष भात पकाएरै ख्वाउनु भयो उहाँलाई सम्मान सहित सम्झन्छु । सकुन्तला थापासँग अहिले सँगै गीत गाइएको छ उहाँको नाम कसरी छुटाउँ । यहि नजिकको यहि टाढाको भन्ने कोहि छैन । सबैसँग सुमधुर सम्बन्ध छ ।

    कति चेली तपाईंको पर्फमेन्समा रुन्छन् कति पछि लाग्छन् नि ?
    खोइ म त राम्रो छैन । नाक थेप्चो, कपाल गुन्द्रुके, आँखा चिम्सो, होचो कदको व्यक्ति म, राम्रो भएर मेरो फ्यान हुनु भएको होइन । मैले उहाँहरुको पक्षमा गीत गाएको छु त्यसैले पनि उहाँहरुले मलाई सम्मान गर्नुभएको हो माया गर्नु भएको हो । उहाँहरुले सामिप्यताका लागि गरेको यो व्यवहारले मलाई पोजेटिभ बनाउँछ । हो कतिपयले मलाई आइलभयू पनि भन्नुहुन्छ, खाना खाने अफर गर्नुहुन्छ, यसलाई मैले सकारात्मक रुपले हेरेको छु । यो नै मेरो इज्जत हो प्रतिष्ठा हो । सबै चेलीहरुलाई म सम्मान गर्छु ।

    अन्त्यमा ?
    विभिन्न घटनाक्रम, ठूला ठूला राजनीतिक परिवर्तनसँगसँगै अहिले हाम्रो गीत संगीत क्षेत्रमा हिन्दी गीतले अतिक्रमण गर्दै नेपालीहरुको प्रतिष्ठामाथि आँच आउने अवस्था भइरहेको छ । नेपाल यस्तो देश हो जुन अत्यन्त सानो क्षेत्रफल भइकन पनि हरेक तीन–तीन कोषको फरकमा हामी अलग अलग भाषा बोल्छौं, फरक फरक शैलीमा गीत गाउँछौं यस्तो संस्कृतिका धनी हामी अब चुप लागेर नबसौं यसको जगेर्नाका लागि आ–आफ्नो ठाउँबाट उठौं । अंग्रेजी सभ्यता, संस्कृति र गीत संगीत र चलचित्रले हामी माथि बम प्रहार गरिरहेको छ । यसबाट बच्न अब हामीले सुरुङ खन्नैपर्छ, एकजुट हुनैपर्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु