• रातो किताबमा लोकदोहोरी, संघसंस्थाका पदाधिकारीलाई सम्मान

    म्यूजिक खबर
    प्रकाशित: ८ श्रावण २०७१, बिहीबार

    काठमाडौं, ८ साउन । सरकारी तबरबाट कुनै पनि क्षेत्रमा गीतसंगीतलाई समावेश नगरिएको अवस्थामा अब लोकदोहोरीको विकास तथा सम्बद्र्धनका लागि रातो किताबमा केही न केही भए पनि योजना बन्ने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा.गोविन्द पोखरेलले लोकगीतको बिकासका लागि राज्यको रातो किताबमा समेट्ने प्रतिबद्धता जनाएका छन् । डा.पोखरेलले राज्यको सांस्कृतिक विकासका लागि भने मठमन्दिरमा करोडौं बजेट निकासा हुने गरेको भए पनि एउटा उद्योगको रुपमा स्थापित भइसकेको गीतसंगीत क्षेत्रलाई अहिलेसम्म राज्यले वेवास्ता गरिरहेको अवस्थामा आफूले रातो किताबमा लोकदोहोरीलाई समेट्ने प्रतिबद्धता जनाएका हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यालय र काठमाडौं समन्वय समितिको संयुक्त आयोजनामा भएको ‘संगीतसंगीतसाग आबद्ध संघसंस्था समन्वय, स्वागत तथा लोकदोहोरी  अवार्ड घोषणा’ कार्यक्रममा डा.पोखरेलले उक्त प्रतिबद्धता जनाएका हुन् । उक्त अवसरमा डा.पोखरेलले गायक पशुपति शर्माको गीतको उदाहरण दिँदै समाज परिवर्तनमा लोकगीतले खेलेको भूमिकालाई राज्यले बिर्सेको बताउँदै राज्य पुनर्संरचनामा गीतसंगीतको ठूलो महत्व रहेको बताएका थिए ।
    प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माको सभापतित्वाम सम्पन्न भएको उक्त कार्यक्रममा प्रष्तिठानका पूूर्व अध्यक्ष तथा बरिष्ठ गायक प्रजापति पराजुलीले प्रविधिमा जापान र जर्मन लोकतन्त्रमा अमेरिका र बेलायतलाई जित्न नसकेपनि लोकसंगीत, सारङ्गी मादलले ती देशहरुसँग प्रतिस्पर्धा गर्ने बताएका थिए । लोकगीत भनेको राष्ट्रको प्रमुख कला संस्कृति भएको हुँदा हामी सबै मिलेर यसलाई जगेर्ना गर्दै विकासतर्फ उन्मुख हुनुपर्ने बताएका थिए । त्यस्तै म्यूजिक नेपालका निर्देशक सन्तोष शर्माले गीतसंगीतको विगत र वर्तमानलाई औंल्याउँदै लोकदोहोरी राज्यले उठाउने करको ठूलो हिस्सा लोकदोहोरीको भएको उल्लेख गरेका थिए ।

    lok
    प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बिसुकुमार केसीले आफ्नो सृजनाको प्रतिलिपी अधिकारप्रति सर्जकहरु सबै बुझ्ने भएको हुँदा कानुनी रुपमा अधिकार प्राप्त गर्नका लागि सर्जक नै अग्रसर हुनुपर्ने बताएका थिए । उनले सर्जकहरुको हक अधिकारलाई स्थापित गर्न सकेमात्र गीतसंगीतको क्षेत्रबाट उनीहरुको आर्थिक अवस्था मजबुत हुने बताएका थिए । प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष बद्री पंगेनीले गीतसंगीत क्षेत्रको मर्म बुझेर राज्यले योजना बनाउन आग्रह गरेका थिए  भने उपत्यका समन्वयन समितिका अध्यक्ष शिव हमालले लोकदोहोरी अवार्ड २०७१ को घोषणा गर्दै रातो किताबमा लोकदोहोरी परेका कारण चन्द्र शर्माको कार्यकाल उपलब्धिमुलक बनेको बताएका थिए ।
    उक्त अवसरमा भर्खरै निर्वाचित भएर आएका विभिन्न संघसंस्थाका कार्यसमितिलाई सम्मान एवं स्वागत पनि गरिएको थियो । संगीत रोयल्टी संकलन समाज, नेपाल संगीतकार संघ, रापती समाज काठमाडौं, राष्ट्रिय लोक सञ्चारकर्मी संघ नेपाललगायतका संघसंस्थाका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु