राष्ट्रिय चलचित्र पुरस्कारमा संगम र ऋचा उत्कृष्ट अभिनेत्री

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७२, मंगलवार

काठमाडौं । चलचित्र विकास बोर्डले हरेक बर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधान सम्मान कार्यक्रममा अभिनेत्री संगम विष्ट र ऋचा शर्मा उत्कृष्ट अभिनेत्री हुन सफल भएका छन् ।
मंगलबार राष्ट्रपति कार्यालय शित्तल निवासमा सम्पन्न भएको उक्त कार्यक्रममा लभ यू बाबा चलचित्रबाट संगम विष्ट र टलकजंग भर्सेस टुल्केबाट ऋचा शर्मा उत्कृष्ट अभिनेत्री बन्न सफल भएका हुन् । उत्कृष्ट अभिनेताको पुरस्कार दयाहाङ राईले चलचित्र सम्बोधनबाट प्राप्त गर्न सफल भए ।

sangam bista1
उक्त अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादवले विभिन्न ८ विधामा पुरस्कार पाउन सफल चलचित्रकर्मीलाई पुरस्कृत गरेका छन् । सोही अवसरमा नेपाली चलचित्रका निर्देशक, कलाकार निरविक्रम शाहलाई चलचित्रकर्मी दीर्घ साधान सम्मानबाट सम्मानित गरियो । उनलाई दोसल्ला, ताम्रापत्रका साथमा नगद ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरियो । राष्ट्रपति यादवले उनलाई ताम्रापत्र र नगदसहित सम्मानित गरे ।

sangam
कार्यक्रममा विभिन्न ८ विधामा पुरस्कार प्रदान गरियो । जसअन्तर्गत उत्कृष्ट चलचित्रको पुरस्कार कबड्डीले प्राप्त गरेको छ । यस्तै, उत्कृष्ट चलचित्र निर्देशकको पुरस्कार निश्चल बस्नेतले चलचित्र टलकजंग भर्सेस टुल्केबाट प्राप्त गरे ।
यस्तै, चलचित्र लेखन अन्र्तगतको कथा, पटकथा र संवाद विधाको पुरस्कार भने कबड्डीबाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले प्राप्त गरे । उत्कृष्ट छायांकन र सम्पादन विधाको अवार्ड झिग्रानाले प्राप्त गरेको छ । जसअन्र्तगत छायांकनतर्फ शैलेन्द्रध्वज कार्की र सम्पादनतर्फ निमेश श्रेष्ठले पुरस्कार प्राप्त गरे ।
आदिवासी जनजाति चलचित्रको विधामा मतान चलचित्रलाई पुरस्कार प्रदान गरियो । कार्यक्रममा बोल्दै राष्ट्रपति डाक्टर रामवरण यादवले चलचित्रले देशको भाषा बोल्नुपर्ने बताए । उनले नयाँ बन्न लागेको संविधानमा सम्पूर्ण चलचित्रकर्मीलाई जनताका भनाई राख्नका लागि पहल गर्न आग्रह गरे । कार्यक्रमका विशिष्ट अतिथी सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले आफू मन्त्री हुँदा चलचित्र क्षेत्रका लागि केही काम गर्न खोजेको भन्दै पछि यसलाई चलचित्रकर्मीले संझने विश्वास व्यक्त गरे ।

sangam bista
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले आफ्नो २ बर्षे कार्यकालमा बोर्डले गर्न सक्ने सम्पूर्ण काम गर्ने बताए । उनले नयाँ संविधानमा चलचित्र क्षेत्रलाई पनि समेट्ने कुरामा आफू विश्वस्त रहेको बताए । नेपाल चलचित्र विकास बोर्डले वि.सं २०७१ साल वैशाख १ गतेबाट वि.सं २०७१ साल चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रहरुलाई आधार मानेर यो पुरस्कार प्रदान गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु