• राष्ट्रिय नाटक महोत्सवको समापनमा समीक्षा र एकल नाटक मञ्चन

    म्यूजिक खबर
    प्रकाशित: १७ चैत्र २०७४, शनिबार

    रुपिन्द्र प्रभावी,

    १७ चैत, पोखरा । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय नाटक महोत्सव एकल नाटक मञ्चनसँगै बिहीबार समापन भएको छ । सो अवसरमा महोत्सव अवधिभर मञ्चित नाटकको समीक्षा पनि गरिएको थियो ।

    पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरमा भएको महोत्सवमा मञ्चित नाटकहरुको समीक्षामा लेखक गनेस पौडेलले टिकट काटेर आएका दर्शकलाई कलाकारले पूर्ण प्रस्तुति दिनुपर्नेमा जोड दिनुभयो । मुस्कुराउनु र हाँस्नुको भेदमाथि प्रकाश पार्दै पौडेलले नाटकले दर्शकलाई मुस्कुराउन प्रेरित गर्न सक्नुपर्ने बताउनुभयो । महोत्सवमा मञ्चित केही नाटक प्राविधिक दृष्टिले ठीकै लागे पनि धेरैले सुधार गर्नुपर्ने निष्कर्षले उहाँले प्रस्तुत गर्नुभयो ।

    अर्का वक्ता डा. सचिन घिमिरेले नाट्य परम्परामा परिवर्तन गर्न नसकिएकोप्रति नाट्यकर्मीहरुको ध्यानाकर्षण गराउनुभयो । ‘राजतन्त्र फ्याँक्न ठूलो सङ्घर्ष गरियो तर आजका नाटकमा पनि राजतन्त्रकै अवशेष देखिनु नेपाली नाटकको यथास्थितिवाद हो’ घिमिरेले भन्नुभयो, ‘हाम्रा नाटकहरु प्रगतिका नाममा सक्रियतावादबाट माथि उठ्नु जरुरी छ ।’ महोत्सवमा मञ्चित नाटकमध्ये केहीमा आधारभूत र केहीमा उच्चस्तरका कमजोरी भए पनि यत्तिको महोत्सव हुनु सकारात्मक भएको घिमिरेको भनाइ थियो ।

    कलाकार प्रकाश घिमिरेले सीमित स्रोत र साधनका बाबजुद पनि नेपाली रङ्गकर्मीहरुले गरेको प्रयास प्रशंसनीय रहेको भनाइ राख्नुभयो । पोखरा पनि नाटकका लागि उत्कृष्ट थलो बन्न सक्छ भन्ने प्रमाण महोत्सवमा ४ ओटा पोखराको मात्रै नाटक मञ्चन हुनुले प्रमाणित गरेको उहाँले दाबी गर्नुभयो। समीक्षात्मक बहसको सहजीकरण ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले गर्नुभएको थियो ।

    प्रतिष्ठानका कुलपति सरुभक्तले प्रतिष्ठानले आगामी दिनमा अझै व्यवस्थित ढङ्गले महोत्सव आयोजना गर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय नाटक महोत्सवमा पुग्न सक्ने नाटकहरु यही ठाउँबाट उत्पादन हुने विश्वास सरुभक्तको थियो । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले पोखरामा नाट्य संस्कृतिको विकासमा महोत्सवले टेवा दिने विश्वास व्यक्त गर्नुभयो । थिएटरलाई निरन्तरता दिन सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । सञ्चारकर्मी रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा महोत्सवका संयोजक पुष्कर गुरुङले महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

     

    सोही अवसरमा प्रियङ्का झाको लेखन, निर्देशन र एकल अभिनय रहेको मैथिली भाषाको नाटक ‘कथा नही भेटल’ मञ्चन गरिएको छ । महोत्सवको तालिकाबाहिरको विशेष प्रस्तुतिका रुपमा मञ्चित नाटकलाई दर्शकले निकै मन पराएका थिए ।

    चैत ८ देखि १४ गतेसम्म भएको महोत्सवमा मञ्जरी नाट्य समूह, लमजुङकोे प्रस्तुतिमा पुरु लम्सालको लेखन र निर्देशन रहेको नाटक ‘पानीघट्ट’, हिमाली सांस्कृतिक परिवारको प्रस्तुतिमा चेतन कार्कीको लेखन र मेनकाजी गुरुङको निर्देशन रहेको ‘नारी शिक्षा’, सद्भाव थिएटरको प्रस्तुतिमा नरेश भण्डारीको लेखन र टीकाभक्त जिरेलको निर्देशन रहेको ‘चाँदीको घेरा’, राष्ट्रिय नाच घरको प्रस्तुतिमा हृदयचन्द्रसिंह प्रधानको लेखन र वीरेन्द्र हमालको निर्देशन रहेको ‘एक चिहान’, एक्टर्स स्टुडियोको प्रस्तुतिमा सरुभक्तको लेखन र अनुप बरालको निर्देशन रहेको ‘थाङ्गला’, मण्डला थिएटरको प्रस्तुतिमा सोफोक्लिजको लेखन र राजन खतिवडाको निर्देशन रहेको ‘एन्टिगोनी’, नेशनल आर्ट स्कुलको प्रस्तुतिमा कृष्ण उदासीको लेखन र ममता मञ्जुलको निर्देशन रहेको ‘सान्नानीको सन्ते राजा’, ओथेलो नाटक समूहको प्रस्तुतिमा कृष्ण उदासीको लेखन र आशिष अधिकारीको निर्देशन रहेको ‘जयगान’, युथ क्रियसन थिएटरको प्रस्तुतिमा रामलाल जोशीको लेखन र सौगात पोखरेलको निर्देशन रहेको ‘भर्जिन कथा’ तथा लोक सञ्चार जनकपुर र सिल्पी थिएटरको प्रस्तुतिमा रमेशरन्जन झाको लेखन र घिमिरे युवराजको निर्देशन रहेको ‘सखी’ सहित १० नाटक मञ्चन भएका थिए । महोत्सवका अवसरमा नाटक मञ्चनका अलावा पोखराको नाटकको अवस्था र अबको बाटो, चलचित्र र रङ्गकर्म तथा समीक्षात्मक बहससमेत चलाइएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु