सुमन बैरागी
काठमाडौं, २८ भाद्र । इलाम शान्तिपुरमा जन्मिएर गीतसंगीतको क्षेत्रमा आफूलाई क्रियाशील बनाउँदै आएकी सुमी सिंह यतिखेर एकल एल्बम सुमी लिएर बजारमा आएकी छिन् । इलाममा नै रहेर नेपाल परिवार नियोजन संघमा कार्यरत रहँदै आफ्ना गीति सिर्जनालाई मजबुत बनाउँदै आएकी सुमीका एकल रचना रहेको एल्बम सुमीमा अविदको एकल संगीत रहेको छ । एल्बम सुमीको केही समय अगाडि मात्र सार्वजनिक गर्दै सुमीले आफ्ना मनका भावनाहरुलाई गीतमार्फत् पोख्न सफल भएको बताइन् ।
पर्खिएँ कि कतै तिमीलाई सम्झी सम्झी लजाउँछु
थाहै नपाई सप्तरङ्गी सपनाहरु सजाउँछु
देख्न थालेँ उत्साहले क्षितिज पनि नागबेली
राखूँ कहिले तिमी सामु रहरहरू मन खोली
यादभरि तिमी छाउँदा कहाँ कहाँ हराउँछु
थाहै नपाई सप्तरङ्गी सपनाहरु सजाउँछु
टोलाउँछु जून हेर्दै एकान्तमा घरीघरी
सँगालेँ कि खुशी कतै मोती जस्तै जतन गरी
सर्माउँदै तिमै्र बारे के–के सोच्दै रमाउँछु
थाहै नपाई सप्तरङ्गी सपनाहरु सजाउँछु
स्वरः अन्जु पन्त
११ वर्षको उमेरदेखि गीत लेख्ने र गाउने गरेकी सुमीले स्कुलका धेरै कार्यक्रमहरुमा आफ्ना प्रस्तुति दिइसकेकी छिन् । इलाम आफैंमा सिर्जनशील जिल्लाका रुपमा देखिन्छ । त्यही इलामको प्रकृतिसँग रहेर आफ्ना मनका भावनाहरु तरङ्गित बनाउँदै आएकी सुमीले कसैलाई पर्खिएर सप्तरङ्गी सपनाहरु सजाउने गरेको देखिन्छ । आखिर मनका भावना नै हुन् कहिँ न कहीँ त पक्कै छुने गरेकै हुन्छ । मनमा भएका सपनाहरुले गीतशब्दका मालाहरु गाँस्दै गर्दा कसैको यादले उनलाई पनि सताएको देखिन्छ ।
फोरेर मुटु के देखाउँ तिमीलाई पीडाले दुखेको
सम्झेर कति आफैं दुखूँ व्यर्थैमा भेटेको
वचनै मिठो बोले’थ्यो सायद साटिदै गयो मन
छल मात्रै भयो लोभ्याउने बोली परेको रहेछ भ्रम
बताउँ म किन सहेथेँ चुपाचाप चोट यो विछोडको
कल्पनाभरि थियौ र तिमी तड्पाइ’नि मिठो थियो
हराए सारा मनका भाका धून भर्न नपाई
साइनो गाँस्दा म आफैंसँग भएछु पराइ
कसरी देखाउँ विक्षिप्त मन छ कति दुखेको
सपनाभरि थियौ र तिमी पर्खाइ’नि मिठो थियो
स्वरः रिमा गुरुङ होडा
स्कुलमा हुने गीत कविता प्रतियोगितामा भाग लिँदा सधैं प्रथम हुने गरेकी सुमी सिंह कलेजमा पनि स्टेज कार्यक्रममा गीत गाउने गर्थिन् । कलेजमा पढ्दा उनले नारी अधिकारको बारेमा पनि गीत लेखिन् गाइन् पनि । तर आखिर नारी अधिकारभित्र माया प्रेमको भावना अझ गहिरो रहेछ भन्ने उनका शब्दबाट प्रष्ट भयो । विहे गर्ने रहरलाई बैंशको वसन्तमै छाडेर समाजसेवामा तल्लिन भइरहँदा सुमी सिंह एउटा साथीको पर्खाइमा बसिरहेको अनुभूति गरिरहेकी छिन् । मनभरि पीडा लिएर लोभी र पापीको संसारमा दौडिरहेकी सुमीले मनका धूनहरु पनि भर्न नपाई हराएको महसुस गरिरहेकी छिन् । मिठो पर्खाइमा दुखेको मन लिएर आफैंसँग पराइ बनिरहेकी सुमीले गीत लेखेर आत्मसन्तुष्टि भन्दा केही पाएकी छैनन् । पहिलो एल्बम बजारमा ल्याउँदा खुशी मात्र मिलेको बताउने सुमीले स्रोता र सर्जकका माझमा आफू पनि गीतकार भएकी छु भन्ने भन्दा अरु कुनै श्रेणी कमाउने आशा लिएकी छैनन् ।
लाखौं पटक म लडे पनि उठ्न सकूँ तिम्रै लागि
लाखौं पटक म मरे पनि जिउन सकूँ तिम्रै लागि
मेरो देश मेरो देश अरु म के दिउँ तिमीलाई
कर्तव्य यति निभाउन सकूँ अधिकार आफँै प्राप्त होस्
नेपाली हुँ भन्नुमा नै मलाई सधैँ गर्व होस्
मेरो देश मेरो देश अरु म के दिउँ तिमीलाई
तिम्रै पवित्र सान बचाउन पाइला बढाउन सकूँ म
परि आए तिम्रा लागि प्राण नै चढाउन सकूँ म
मेरो देश मेरो देश अरु म के दिउँ तिमीलाई
स्वरः सत्यराज आचार्य
गीतकार सुमी सिंह आफ्नो पहिचान बनाउनु नै ठूलो कुरा ठान्छिन् । पछिल्लो समय दामका लागि र नामका लागि धेरै लडाइँ हुने गरेको छ । तर म एउटा स्रष्टा भएकोले नामका लागि दौडिरहेको छु, सुमीले भनिन् । देश रहे नै आफू रहिन्छ र नेपालीको पहिचान हुन्छ भन्ने उनको मूल मान्यतामा देशप्रेमका गीतहरु पनि कोरिएका छन् सुमीको । देशप्रतिको आफ्नो कर्तव्य र नेपाली हुनुको गर्वमा सुमी सिंह पनि पहिचानको खोजीमा नै छिन् । नेपालमा जन्मिएर मात्र नेपाली हुनु र नेपालप्रतिको कर्तव्य पनि बोध गर्नुमा फरक रहेको बताउँदै सुमी सिंहले आफ्नो राष्ट्रप्रतिको पदचाप पहिल्याउन दौडिरहेकी छिन् ।
दोसाँधको संघारमा आहुति नै भयो जीवन
भाग लगाई आधा आधा बाँड्न कहाँ मिल्छ र मन
अन्जानमै बस्ने माया कहिलेकाहीँ पाप हुने
कसैलाई वरदान त्यही त्यही कसैलाई श्राप हुने
ताराजस्तै टुक्रिएर आशिष दिन झर्दैन जून
भाग लगाई आधा आधा बाँड्न कहाँ मिल्छ र मन
रथलाई पछ्याउने असफल त्यो धूलो जस्तै
शून्यतामा बिलाउँछ मन अभिलाषा पनि उस्तै
आफैंसँग टाढा हुने कहिलेकाहीँ आफ्नै धड्कन
भाग लगाई आधा आधा बाँड्न कहाँ मिल्छ र मन
स्वरः थुप्देन भुटिया
वियोगान्त शैलीमा आफूलाई उभ्याउन खोजेकी सुमी सिंहले जीवनका हरेक पाटाहरुसँग आरोह अवरोह गर्दाका क्षणलाई शब्दमा उतारेकी छिन् । कुनै वियोगमा भएर लेखेको हो ? भन्ने प्रश्नमा सुमीले भनिन् – ‘त्यस्तो केही पनि होइन । मलाई मन पथ्र्यो, आफूले लेख्दा पनि यस्तै लेखेँ ।’ हुन त मानिसलाई वियोगका भावनाहरु कुनै न कुनै क्षणमा आइपरेको हुन सक्छ । जीवनका हरेक क्षणमा संयोग र वियोग दुवै भेटिन्छ । तर जीवनको चौतारीमा वियोगान्त भागनाहरुले बढी बास गर्छ नै । विहेबारीको उमेरले नेटो काटिरहेको बेला समयका पावन्दीलाई कुरिरहेकी सुमीले मनका तरंगमा पनि त वियोगको परिभाषा खोजेकी होलिन् । प्रेम गर्नु र नगर्नुमा पनि केही फरक छैन उनका लागि । तर पनि कसैको विशेष पर्खाइमा भने उनी छिन् । प्रत्येक मान्छेसँगको वेदना उनीभित्र पनि छ । गीत भनेको वेदनाको प्रमुख स्रोत हो उनका लागि । फेरी हाम्रो समाज नै वियोगान्त शैलीलाई पछ्याउँदै त्यसैमा रम्ने गरेको छ, सुमीले भनिन् ।
सम्झनाका तरेलीमा राखी नदेउ मलाई
गाह्रो हुन्छ छोडी गए बाँच्न मन जलाई
अन्जुलीमा राखिदे’को खुशी पोखिन्छ कि
थालेका यी यात्रासँगै पाइला ठोकिन्छ कि
सम्झौतामा बाफिइ जाने न्यानो नदेउ मलाई
गाह्रो हुन्छ छोडी गए बाँच्न मन जलाई
पोखिएको खुशी हेर्दै आफ्नो सिरानीमा
हराउँछु कि तिमी बिना कतै विरानीमा
जोगाएर तिर्सनाका मात नदेउ मलाई
गाह्रो हुन्छ छोडी गए बाँच्न मन जलाई
स्वर ः शिव परियार
सुमी आफ्नो हुनेवाला प्रेमीलाई राम्रो सुझाव पनि दिने गर्छिन् । सम्झनाको तरेलीमा राखी नदेऊ मलाई, गाह्रो हुन्छ छोडी गए बाँच्न मन जलाई, सुमीको शब्दले नै उनको जीवनको यथार्थता प्रष्ट पार्छ । इलामको प्रकृति, सुन्दरी सुमी र बैंशको सीमा पार गरिसकेको उनको उमेरले अब दोसाँधको जीवनमा हरेक कुराहरु सोच्नुपर्ने हुन्छ । उनका मायाप्रेमको यात्राले पूर्णता पाउनका लागि गरिरहेको संघर्षको कहानी गीतभित्रै गुम्सिएको छ । सुमीका विचारहरुले मनका बह पोखिरहेका छन् तर के गर्नु जवानीले एकचोटी मात्र रौनकता दिन्छ भन्ने कुरा उनले पत्तै पाइनन् जस्तो देखिन्छ । जवानीका तरेलीमा उनले पोखेका बहले पनि झस्काउँछ माया प्रेमका पारखीहरुलाई ।
बसन्तको न्यानोसरि हिउँदको सिरेटो पनि
सँगै भा’को आभास छ जति टाढा भए पनि
हक जताई तिमीलाई आफ्नो भन्ने रहर हुन्छ
अल्मलिदै बाँचू कति धैर्य थाम्नै गाह्रो हुन्छ
बनाएर बहाना यी मन हुन्छ नजिकिने
मृगतृष्णा हो कि माया प्यास कैले नमेटिने
मन लाग्छ तिम्रा लागि दुनियाँ नै छोडौ पछि
कति खोजूँ जून छुन एकान्तमा एक्लै बसी
सँगालेका सारा रहर इन्द्रेणीझै भागी जाने
बादलसरि उड्छ खुसी पछ्याउँन नसकिने
स्वरः जीना रसाइली
कहिल्यै प्यास नमेटिने मायाको चौतारीमा दौडिएकी सुमी सिंहको वसन्तले पनि काम गर्ला नगर्ला, तर मनका बह पोख्ने ठाउँ भने शब्दका तरेलीहरु नै प्रमुखतामा छन् । वसन्त आउन् जाउन तर मुख्य कुरा भनेको गीत हिट हुनैपर्छ । प्रेम नभए पनि प्रेमको गीत लेख्नु कुनै ठूला कुरा होइन, सुमीले भनिन् प्रकृतिसँग, जीवनका हरेक क्षणसँग पनि वियोगका पाठ पढिएको हुन्छ ।
संगीतकार अविदले एकल संगीत भर्दा माथिका सबै गीतहरुले न्याय पाएका छन् सुमीको भनाइमा । गीतसंगीत भनेको जीवन्त हुनुपर्छ तर सबै गीत जीवन्त बन्न सक्दैनन् । गीतको भाव र संगीतको भावसँग गायक गायिकाको सम्बन्धले कुन गीत जीवन्त बन्छ, त्यो त स्रोताले मात्र पत्ता लगाउँछन् । बाँच्नु र मर्नु भन्दा पनि गीत सदाबहार बन्नु ठूलो कुरा हुन्छ । सुमी पनि यही चाहिन्छिन् । गीत लेखनको हिसाबले धेरै अघिदेखि कलम चले पनि एल्बमका हिसाबले पहिलो हुँदा जिन्दगी नै धरापमा भएको छ की जस्तो उनलाई लाग्छ । तर संगीतकार अविदले यसलाई मर्न नदिने बनाएका छन् सुमीले भनिन् ।