काठमाडौं । केही दिनअघि मात्रै लोक तथा दोहोरी गीत प्रतिष्ठानले रनिङ शिल्डको आयोजना गरेको थियो । तीन दिनसम्म लगातार अन्तर दोहोरी साँझ स्तरीय प्रतियोगितामा गायक गायिकाहरुले जति दोहोरी भाकामा गीत प्रस्तुत गरे ती सबै पुराना भाका मात्र थिए । त्यहाँ सबै पुराना गीतका भाका मात्र प्रस्तुत गरिएका थिए । यसको मतलब अहिले लोकदोहोरी गीतहरु बजारमा आएका छैनन् भन्न खोजिएको होइन । जति नयाँ नयाँ गीत बजारमा आए पनि ०६५ ६६ पछि बजारमा आएका दोहोरी गीत दाहोरी गीत बन्न सकेनन् । जति ०६५ भन्दा अघिका दोहोरी गीतहरु थिए तिनीहरुले नै अहिलेसम्म मनोरञ्जन प्रदान गरिएका छन् ।
दोहोरी साँझ हुन् या दोहोरी गीत प्रयोग हुने मेला, महोत्सव सबैमा पुराना भाका जति घन्किन्छ, जति गाइन्छ उति नै दर्शकहरुले मनोरञ्जन लिइरहेको देखिन्छ । तर अहिलेका दोहोरी गीत भनेको फुर्सदमा सुन्ने मात्र बनेको छ । भन्न खोजिएको अहिलेका दोहोरी गीत नराम्रा भन्न खोजिएको होइन, सबै राम्रा छन् तर वास्तविक मौलिकताभन्दा टाढा छन् । जसले गर्दा लोकदोहोरी सुन्ने गाउँदेखि शहरसम्मका लोकदोहोरी प्रेमीहरुको मुखमा झुन्डिन सकेको छैन । लोकले गाउन सक्ने गीत मात्र लोक गीत हुन् भन्ने प्रचलनमा अहिलेका गीतहरुले बजार लिन नसकेको भने पक्कै हो । अहिले केही गीतहरुले मात्र स्रोताहरुको मन जित्न सकेका छन् भने ९५ प्रतिशत गीतहरु कहिले आउँछन् कहिले जान्छन् पत्तो हुँदैन ।
पछिल्लो समयलाई हेर्ने हो भने धेरै गायक गायिका उत्पादन भइरहेका छन्, प्रविधिको माध्यमले लोकसंगीत अन्तर्राष्ट्रियकरण भइसकेको छ तर पनि जनताले बुझ्नेखालका गीतहरु आउन सकेको छैन । तीन दिनसम्म चलेको अन्तर दोहोरी साँझ रनिङ शिल्डको वातावरणलाई हेर्दा लोकदोहोरीको वास्तविकता अहिले हराइसकेका रहेछन् । त्यहाँ सबै पुराना भाकाहरु मात्र प्रस्तुत भए । पछिल्लो समय बजारमा आएको एउटा भाका पनि त्यहाँ प्रस्तुत हुन सकेनन् । उक्त रनिङ शिल्डमा जति निर्णायकहरु बसे उनीहरुले नै बजारमा ल्याएका भाकाले प्रज्ञा भवनको प्रेक्षालय गुन्जिरहेको थियो । उनीहरुले पनि त्यहाँ महसुस गरे होलान् कि मौलिकता हराएको समय लोकदोहोरीमा आएछ भनेर । लोकको लागि गाइएको गीत मात्र लोक गीत हो भनिरहँदा लोकसँग जोडिन छोडेका दोहोरीहरु अहिले बजारमा आइरहेका रहेछन् भन्दा फरक पर्दैन ।