चैत २१, काठमाण्डौ । रक गीत संगीतको क्षेत्रमा सधैं केही न केही नयाँ प्रयोग गरेर छोटो समयमै यो विधाको संगीतप्रेमीमाझ लोकप्रियता कमाउन सफल नेप्लीज अमेरिकन व्याण्ड द भाईब्ज व्याण्डले फेरि नयाँ प्रयोगका साथ नविनतम म्युजिक भिडियो तयार पारेको छ ।
अध्ययन र रोजगारका सिलसिलामा अमेरिका पुगेका युवा संगीतकर्मीहरुले अमेरिकामै स्थापना गरेको यो व्याण्डले मुर्ख दिवस अर्थात शनिबार परेको अप्रिल फुललाई लक्षीत गर्दै यो रमाईलो म्युजिक भिडियो सार्वजनिक गरेको हो । लेट्स गो वाइल्ड काडमाण्डु सिटी बोलको यो रक गीतको म्युजिक भिडियोमा व्याण्डका ३ सदस्यहरु अनुहार नदेखाई रमाइलो नाचगानका साथ प्रस्तुत भएका छन् । भिडियोमा प्रयन सिंह भोकलिष्ट, रुपक लामा लिड गितार र दिरेकलाल श्रेष्ठ ड्रमर रहेको व्याण्डका प्रयन र रुपकका साथमा अमेरिकामै बस्दै आएका एक युवा भिडियोको शुरुमा विभिन्न जनावरको आकृतियुक्त मास्कका साथ प्रस्तुत हुन्छन् । व्याण्ड सदस्यहरु गीतको भिडियोभरि फिल्मी हिरोको शैलीमा बाद्यवादनका साथ उफ्री उफ्री नाच्छन्। मास्क पहिरेका कारण भिडियोमा देखिने व्याण्ड सदस्यहरु को हुन् भनेर चिनिँदैन। दर्शक अब मास्क खोलान् र चिनिएलान् भनेर आशा गर्छन्, तर भिडियोको अन्तसम्म पनि कौतुहतालाई कायम राख्दै व्याण्ड सदस्यहरु भने मास्कमै प्रस्तुत हुन्छन् । यही रुपमै भिडियो सकिन्छ ।
भिडियो व्याण्डका सदस्यहरु आपैmँले निर्माण गरेका हुन् । यो भिडियोको छायांकन अमेरिकाको सान फ्रान्सिस्कोमा तयार पारिएको हो । व्याण्डका ड्रमर दिरेकलाल श्रेष्ठ भने काठमाडौंमा रहेकाले भिडियोमा देखिएका छैनन् । दिरेकका अनुसार भिडियोमा व्याण्डका सदस्यहरु मास्कमै देखिएकाले तथा फन्नी र सरप्राइज प्याकेज भएकाले यसलाई अप्रिल फुलका दिन सार्वजनिक गरिएको हो । उनले भिडियो सार्वजनिक गरिएलगत्तै यसबाट राम्रो प्रतिक्रिया पाएको पनि बताए । दिरेकले भिडियोभरि व्याण्डका सदस्यहरु मास्कमा प्रस्तुत भएकाले यसलाई मास्क भिडियो पनि भन्न सकिने बताए ।
पहिलो एलबम द भाइब्ज जेनेरेशनबाटै नेपाली सांगितीक आकाशमा तहल्का मचाउन सफल द भाइव्ज व्याण्डले त्यस्तै आकर्षक गीतहरुका साथ दोस्रो एलबम को हुँ म बजारमा ल्याएको थियो भने तेस्रो एलबम ल्याउने तयारी गरेको छ । प्रकाशोन्मुख सोही एलबमको गीतमाथि व्याण्डले नयाँ भिडियो तयार पारेर सार्वजनिक गरेको हो । नेपालदेखि अमेरिकासम्म उत्तिकै लोकप्रियता कमाउन सफल नेप्लिज अमेरिकन रक सांगीतिक समूह द भाइब्ज व्यान्डले रक संगीतमा पनि उच्चस्तरको गीतसंगीतमा मात्र विश्वास राख्ने र सोहीबमोजिमको सांगीतिक सिर्जना पस्कने भएकाले स्तरीयतालाई कायम राख्दै केही समयको अन्तरालपछि मात्र एलबम सार्वजनिक गर्दै आएको छ । द भाइब्जले पहिलो एल्बमस्वरूप द भाइब्ज जेनेरेसन बजारमा ल्याएको थियो । व्याण्डले नेपाल र अमेरिकाका नेपाली रकप्रेमीद्वारा अत्यधिक रुचाइएको तथा एल्बम बजारमा आएकै वर्ष हिट्स एफएम अवार्ड र इमेज अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड जित्न सफल भएको थियो । द भाइब्ज जेनेरसनमा संगृहित थाकिसकें बोलको गीतमाथि बनेको म्युजिक भिडियोले लामो समयसम्म नेपाली टेलिजिभन च्यानलहरूको हिट लिस्टमा उत्कृष्ट स्थान कायम गर्न सफल भएको थियो । अमेरिकाका मनोरम दृश्य कैद गरी कथानक ढंगले निर्माण गरिएको सो म्युजिक भिडियो ६ लाख ४० हजार रुपियाँ (१० हजार डलर) को लागतमा बनेको थियो ।
द भाइब्ज ब्यान्डका सदस्यहरूको रोचक कुरा के भने यसका भोकलिस्ट तथा हटमेल इन्जिनियर प्रयन सिंह र रेस्टुरेन्ट व्यवसायी तथा लिड गिटारिस्ट रूपक लामा अमेरिकामा बस्छन् भने अमेरिकामै पढेर फर्केका ड्रमर तथा कामना न्युज पब्लिकेसन्स्का सीईओ दिरेकलाल श्रेष्ठ नेपालमा बस्छन् । दुई फरक देशमा रहेर पनि यसका सदस्यहरुले स्काइपको माध्यमले एलबमका गीतहरु तयार पार्दै आएका छन् ।