• ‘संगीत रोयल्टीको व्यवस्थापनमा एसियामै उदाहरणीय बनेको छ नेपाल’

    म्यूजिक खबर
    प्रकाशित: १ असार २०७५, शुक्रबार

    १ असार, काठमाडौं । नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेल नेपालमा रहेका स्रष्टा सर्जकले सोचेजस्तो कमजोर छैन । नेपाली प्रतिलिपि अधिकारका अभियन्ताले नै यस्तो होला भन्ने अनुमान गरेका छैनन् होला तर गर्दै जाँदा राम्रो बनेको रहेछ भन्ने कुरा विश्वका सिएमओ (कलेक्टिभ म्यानेजमेन्ट अर्गानाइजेशन) को भेलाले बताएको छ ।


    प्रतिलिपि अधिकारसम्बन्धी एशियास्तरीय प्रशिक्षणका लागि काठमाडौं आएका दक्षिण एशिया र युरोपेली मुलुकका प्रतिलिपि अधिकार अभियन्ताले आयोजना गरेको कार्यक्रममा नेपालको संगीत रोयल्टी व्यवस्थापन पद्धति एसियामै उदाहरणीय बनेको बताएका हुन् । नेपाली रोयल्टी व्यवस्थापन संस्थाहरुले विकास गरेको संगीत रोयल्टीसम्बन्धी अवधारणाको वक्ताहरुले प्रशंसा गरेका छन् ।

    नर्वेको संगीत रोयल्टी संकलन संस्था नर्कोडले काठमाडौंमा आयोजना गरेको १० दिने प्रथम एशियास्तरीय प्रतिलिपि अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रमको समापनको अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपालको प्रशंसा गरेका हुन् । कार्यक्रममा वक्ताहरुले नेपालले संगीतको रोयल्टी व्यवस्थापन सम्बन्धी अवधारणालाई विश्वकै नौलो र अनुकरणीय रुपमा विकास गर्दै लगेको बताएका थिए ।


    एशियाली मुलुकका १० वटा देशका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा आएकी फिनल्याण्डकी प्रतिलिपि अधिकार विज्ञ टारिया कोस्किनेन ओल्सनले एशियास्तरीय कार्यक्रमको शुरुवात नेपालबाटै भएकोमा आफू हर्षित भएको उल्लेख गरिन् । ‘संगीत रोयल्टीको व्यवस्थापनमा नेपालले शुरु गरेको संयुक्त लाइसेन्सिङ प्रणाली एशियाली मुलुकका लागि उत्कृष्ट उदाहरण बनेको छ,’ उनले भनिन् ।

    आयोजक संस्थाकी प्रबन्ध निर्देशक इङ्गर डिरडालले पछिल्ला वर्षमा नेपालले बौद्धिक सम्पत्ति संरक्षणमा देखाएको अग्रसरता महत्वपूर्ण रहेको बताउँदै नेपालको मोडलअनुसार एसियामा संगीत रोयल्टी कलेक्सन गर्न सहज हुने बताइन् ।


    विश्व संगीत उत्पादक संस्था (आएफपिआई) का एशिया निर्देशक केटी याङले पनि आफ्नो पछिल्लो भ्रमणको तुलनामा नेपाली प्रतिलिपि अधिकार आन्दोलनले निकै उचाई लिएको धारणा राखेका छन् । याङले आगामी दिनमा पनि नेपाली संगीतको प्रवद्र्धन र संगीतकर्मीहरुको उत्थानका लागि संस्थाहरुसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।

    भारतका प्रतिलिपि अधिकार अभियन्ता रजत कक्करले नेपालले संगीत रोयल्टीका विषयमा हासिल गरेका उपलब्धीलाई दक्षिण एशियाली मुलुकले अनुशरण गर्नुपर्ने बताएका छन् । ‘नेपाल र भारतबीच थुप्रै सांस्कृतिक समानता छन्,’ उनले भने, ‘नेपाली संगीतकर्मीको आर्थिक समुन्नतिका लागि मिलेर काम गर्न हामी तत्पर छौं ।’
    विश्वभरिका लेखकहरुको रोयल्टी संकलन गर्ने संस्था इफ्फ्रोका प्रतिनिधि पियर ओलिभरले चाँडै नै नेपाल लगायतका मुलुकमा लेखक, पत्रकार तथा फोटोग्राफरहरुको पनि रोयल्टी संकलन संस्था स्थापना हुने बताए । उनले त्यसो गर्नसके देशको सांस्कृतिक उत्थान तथा सरोकारवालाहरुको पनि आर्थिक समुन्नतिको ग्यारेन्टी हुने हुँदा मुलुकमा समृद्धिको वातावरण तयार हुने बताए ।


    प्रस्तोता समाज नेपालका सिइओ नारायण कडरियाले सरकारी निकाय तथा सरोकारवाला विभिन्न पक्षहरुबाट सकारात्मक सहयोग रहेकाले रोयल्टी व्यवस्थापनका क्षेत्रमा उल्लेख्य प्रगति भए पनि आगामी दिनहरु उत्तिकै चुनौतिपूर्ण रहेको बताए । उनले नर्कोडले दिएको साथसँगै नेपालको रोयल्टी व्यवस्थापन आजको स्थानमा आइपुगेको बताउँदै अबका दिन उत्साह र चुनौतिको बीचमा रहेको बताए ।

    कार्यक्रममा नेपालसँगै भारत, पाकिस्तान, चीन, भियतनाम, इण्डोनेशिया, म्यानमार, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशबाट २० जना प्रतिनिधि कार्यक्रममा सहभागी भएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु