अग्रज र अनुजको अनुपम सङ्गमः महेश खड्काको संगीतमा सुवासना र हसनको जादु

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०८३, आईतवार ००:०९

काठमाडौँ । नेपाली सङ्गीतमा सयौँ कालजयी र सदाबहार गीतहरू पस्किसकेका सङ्गीतकार महेश खड्का सधैँ माटोको सुगन्ध र मौलिकतालाई प्राथमिकता दिने स्रष्टा हुन् । यसपटक उनले नयाँ पुस्ताकी प्रवल सम्भावना बोकेकी बालगायिका सुबाशना खड्का केसीलाई आफ्नो कम्पोजिसन सुम्पिएर एउटा अभिभावकीय भूमिका निर्वाह गरेका छन् । सन्दर्भ हो – नयाँ गीत ‘खोर्सानी खायो मैनाले’को ।

महेश खड्काको शब्द तथा सङ्गीत रहेको यही गीतबाट ‘द भ्वाइस किड्स सिजन–५’ की विजेता सुबाशना खड्का केसीले औपचारिक रुपमा सङ्गीत क्षेत्रमा ओजपूर्ण डेब्यू गरेकी छन् । गीतमा सुबाशनालाई भर्सटायल एवं स्थापित गायक हसन राईले गायनमा बलियो साथ दिएका छन् । सुनिल राईको संगीत संयोजन (एरेन्ज) र नरेश बीबीसीको मिक्सिङ तथा मास्टरिङ रहेको यो गीत जि२६ स्टुडियोमा रेकर्ड गरिएको हो ।

मिनाक्षीको निर्देशनमा गीता ढुंगाना र सुरेश कोलीको लोभलाग्दो केमेष्ट्री

अडियो जत्तिकै यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक र भव्य बनेको छ । ग्रामीण परिवेशको ठट्यौली संवादमा आधारित गीतको भिडियोमा चर्चित मोडल गीता ढुंगाना र सुरेश कोलीले मुख्य भूमिकामा अभिनय गरेका छन् साथै सुबास खड्का केसी र क्रिश खड्का केसीलाई पनि देख्न सकिन्छ ।
भिडियोलाई युवा निर्देशक मिनाक्षी कोइरालाले निर्देशन गरेकी हुन् भने यसमा प्रशान्त मगरको कोरियोग्राफी रहेको छ । दिनेश पराजुलीको सिनेमाटोग्राफी र विवेक सुनारको भिजुअल सम्पादनले भिडियोलाई निकै थप निखारता दिएको छ ।

यसका विभिन्न ओरिजनल साउन्डहरू ह्यासट्याग प्रयोग गरेर यसअघि नै करिब १,३०० भन्दा बढी भिडियो र पोस्टहरू सिर्जना भइसकेका छन् । गीतको लोकप्रियता टिकटकमा तीव्र गतिमा बढिरहेकाले यो संख्या लगातार थपिँदै गइरहेको छ ।
‘द भ्वाइस किड्स–सिजन ५’ को मञ्च जितेकी नवप्रतिभा सुबाशनाका लागि नेपालकै दिग्गज सङ्गीतकारको सिर्जनाबाट साङ्गीतिक यात्रा सुरु गर्नु आफैमा एउटा ठूलो कोसेढुङ्गा र आशिष साबित भएको छ । अग्रज र अनुजको यो सहकार्यले नेपाली लोक संगीतको साख बढाएको छ भने गीतलाई जीवन्तता दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु