
काठमाडांै, ४ भदौ । काठमाडौं उपत्यकामा दोहोरी साँझहरुको भीडमा अब नयाँ दोहोरी साँझ खुल्ने भएको छ । दरबार म्यूजिक रोधीघर प्रा.लि. एण्ड थकाली भान्छाघर नाम दिइएको रोधीघर अब दरबारमार्गको उत्तरढोकामा खुल्दैछ । भोलिबाट औपचारिक रुपमा सुरु हुन लागेको उक्त रोधीघरमा चर्चित गायक गायिकाहरुको प्रस्तुति रहनेछ । अशोक गिरी, नवीन बुढाथोकी, बज्रेश उपाध्याय, नेत्र भण्डारी, सुनिल थापाको लगानीमा संचालन हुन लागेको यस दरबार म्यूजिक रोधीघरमा मुना थापा, गणेश गुरुङ, लक्ष्मी ढकाल, पिएन सापकोटा, शिव हमाल, दुर्गा गुरुङ लगायतका गायक गायिकाहरुले प्रत्येक दिन मनोरञ्जन दिने भएका छन् । पूर्ण पारिवारिक वातावरणमा पृथक शैलीबाट आफ्नो संचालन गर्न लागेको दरबार म्यूजिक रोधीघरले काठमाडौंमै पहिलोचोटी पूर्ण साउन्डप्रुफ हलको व्यवस्था गरेको दाबी गरेको छ । त्यस्तै उद्घाटन सत्रमा रोधीघरले २५ प्रतिशत छुटको व्यवस्था गरेको छ भने फ्रि वाइफाइको पनि व्यवस्था रहेको बताएको छ । बेलुका दोहोरी संचालन गर्ने र दिउँसो विवाह, पार्टी, सेमिनार, गोष्ठीको लागि हल उपलब्ध गराउने उद्देश्य लिएको यस रोधीघरले लोकदोहोरी, आधुनिक, गजल, नृत्य, हाँस्यव्यंग्यका साथमा पञ्चैबाजाको रौनकता पनि दिने भएको छ ।