अमर संगीतकार अम्बर गुरुङ

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७३, मंगलवार
tika bhandari

टीका भण्डारी, वरिष्ठ सङ्गीतकार, गायक एवं रेडियो नेपालका उपनिर्देशक हुनुहुन्छ ।

सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली

सिंगो राष्ट्रको गौरवगाथा र महिमा उद्घोष गर्दै परिवर्तन पछिको नयाँ नेपाललाई हरेक दिन ब्यूँझाउने राष्ट्रगानका संगीतकार हुन् अम्बर गुरुङ । यो अवसर उनले त्यसै प्राप्त गरेका हैनन्, आफ्नो सांगीतिक क्षमता, योग्यता, गहन अध्ययन र अनवरत नेपाली संगीतमा ५० वर्षको लामो साधना र जीवन समर्पण पछिको सुखद परिणाम हो । उनले कुनै जमानामा संगीत गरेको अगमसिंह गिरीद्वारा रचित गीत ’नौलाखे तारा उदाए’ भारत देशमै प्रतिबन्ध भयो । यसमा अरु कुनै कारण थिएन, भारतीय भूमिबाट लेखिएको नेपाल र नेपाली प्रतिको माया प्रेम र ज्यूँदो आस्था थियो । प्रवासबाट घरबासमा आएर पनि उनले त्यस्तै गीतहरू लेखे, गाए, संगीत गरे, नेपाली संगीतलाई एउटा मानक र मूल्य सहितको उचाईमा पु¥याउन हरपल कोसिस गरे । म त लाली गुराँस भएछु (नारायणगोपाल), फूललाई सोधें कहाँ गयौ (अरुणा लामा), मेरो आँखालाई राख्ने (नारायणगोपाल), पोखिएर घामको झुल्काभरि संघारैमा (नारायणगोपाल), नौलाख तारा उदाए, हराएझैं केहि लाग्छ (तारादेवी), अरुणा लामाले गाएको सबैले भन्थे, पोहोर साल खुशी फाट्दा, आफ्नै आवाजको किन किन तिम्रो तस्बिर (पुरानो), ए कान्छा मलाई सुनको तारा खसाइदेउन (अरुणा लामा ( रुक्मणी गुरुङ) जस्ता कालजयी र अमर गीतहरू छन् उनका नेपाली संगीतमा । उनले आफैंले संगीत गरेर गाएका गीतहरूमा ’जसै साँझ प¥यो’, ’ए फुल बसन्त’, ’मेरो जीवनलाई’, ’क्षितिज आकासले’, दिल त म, कहीं आफ्नो भुमरीमा आफै प¥यो कि, म अम्बर हुँ तिमी धर्ती, यति शुन्दर प्रित, उकाली चढ्दा’, आँखा भरि तिम्रो, म अम्बर हुँ, सोधुँ सोधुँ लाग्छ, आँशु हाँसो, डाँडा पारी हिउँ, कैले लहर आदि लोकप्रिय गीत गाएका छन् । यस्तै अम्बरद्वारा संगीतबद्ध स्वदेशगानहरूमा ’रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’, नेपालकी छोरी हँु म, मनको तार रेटी, उषाको चोखो लाली, यस्तै नेपाली चलचित्रका संगीतहरूमा जीवनरेखाको कहीं आफ्नो भुमरीमा, हाँस्ने रहरहरू आँशुमा डुबे, तिम्रो नाम अझै, को हुँ म के हुँ म, पल पल चुमेर लोकप्रिय छन् । उनले मुनामदन, मालती मंगले, कुन्जिनी जस्ता ऐतिहासिक नेपाली गीतिनाटकहरूमा समेत सङ्गीत निर्देशन गरेका छन् भने सयौं कलाकारहरूको सहभागिता गराएर कोएर निर्माणगरी प्रदर्शन समेत गरेका छन् नेपाली संगीतमा । उनको सांगीतिक जीवनका अनेकन सफल पाटोहरू छन्, जुन म्युजिक खबर डटकमका पाठकहरूका लागि प्रस्तुत गरिएको छ ।

परिवार र बाल्यकाल 

नेपाली सङ्गीतका शिखर सङ्गीतकार अम्बर गुरुङको जन्म २६ फेब्रुअरी १९३८ मा भारत दार्जिलिङको लालढिकी भन्ने ठाउँमा पिता उजिरसिंह गुरुङ्र तथा माता रेणुकादेवी गुरुङका सुपुत्रकारूपमा भएको हो । पाश्चात्य तथा पूर्विय संगीतको गहिरो अध्ययन गरेका उनले आफ्नो गला र कलालाई नेपाल र नेपाली माटो प्रति समर्पित गरेका छन् । अम्बर गुरुङ आफ्नी प्राण प्यारी आमा रेणुका देवीको प्रेरणाबाट नै सङ्गीत क्षेत्रमा हेलिएका हुन् । त्यसो त उनका बुवा उजिरसिंह गुरुङले उनलाई यो क्षेत्रमा स्थापित गर्न ठुलै तागत र उर्जा थपेका छन् । पिता उजिरसिंह ब्रिटिस ईन्डियन आर्मीका पूर्व सेना हुन् । उनको आफ्नो पुर्ख्यौली थलो गोरखा जिल्लामा छ । त्यहाँबाट उनका पिता जीवन संघर्षकाक्रममा दार्जिलिङ बसाई हुँदै उक्त सेनामा भर्ती भएका थिए । पिताको ईच्छा त छोराले सेनामा गएर आफूजस्तै बन्दुक नै बोकोस् भन्ने थ्यो होला तर अम्बरको बाल्यकालदेखिकै गीत संगीत र साहित्य प्रतिको रुची देखेर त्यसतर्फ नै अग्रसर गराए । उनले ट्रनबुल स्कुल दार्जिलिङ पढे । स्कुले जीवनदेखि नै संगीतमा हेलिँदै गए । दार्जिलिङमा रहँदा तन्नेरी उमेरमै साहित्यकार अगमसिंह गिरीद्वारा रचित ’नौ लाख तारा उदाए’ सन् १९६० मा सङ्गीत गरे पछि यिनको सांगीतिक यात्राले नयाँ गति लियो । अगमसिंहले स्थापना गरेको भानुभक्त बिद्यालयको हेडमास्टर समेत बने उनी । संगीतको बिकास र आफूभित्रको क्षमता उजागर गर्नका लागि उनले दार्जिलिङमा सङ्गीत एकेडेमी समेत चलाए । उक्त बिद्यालयमा, अरुणा लामा, कर्म योन्जन, जितेन्द्र बर्देवा, पिटर कार्थक, ईन्द्र गजमेर, रञ्जित गजमेर, शरण प्रधान आदि नेपाली संगीतका आजका अब्बल कलाकारहरू उनीसँग पढ्थे, र सहकार्य पनि गर्थे । सांगीतिक सहकर्मीका रूपमा स्टेजहरूमा समेत सामुहिकरूपमा प्रस्तुत हुन्थे । स्टेजमा गोपाल योञ्जन बाँसुरी बजाउँथे, रञ्जित गजमेर तबला, अरुणा गीत गाउँथिन, अम्बर कन्डक्टिङ गर्दै हार्मोनियम बजाउँथे । तर यतिमै चित्त बुझाईहाल्ने खालका थिएनन् उनी, संगीतको गहिरो अध्ययनमा लागे । संगीत भनेको गीतको स्थायी र अन्तरा बनाउनु या स्टेजमा गीत गाउनु मात्र हैन भन्ने बुझाईका साथ उनी त्यसबेलादेखि नै बेथोबिन, मोट्जार्ट जस्ता बिश्व प्रसिद्ध शास्त्रीय संगीतकारहरूका बारेमा गहन अध्ययन गर्न थाले । अर्कोतर्फ साहित्यको अध्ययनलाई पनि अघि बढाए । उनको सत्कर्म र सत्कार्यको उच्च मुल्याङ्कन पनि हुँदै गयो, दार्जिलिङमा संगीतको विकास बिस्तार गरेवापत धेरै सम्मान र पुरस्कारहरूद्वारा सम्मानित गरियो ।

amber gurung-1
नेपाल आगमन

अम्बर एक यस्ता श्रष्टा हुन् जसले दार्जिलिङमै रहँदा नेपाल, नेपाली र नेपाली संगीतलाई हृदयमा सजाएका थिए । उनी भारतमा जन्मेर हुर्केर पनि नेपाली साहित्य र संगीतका लागि मरिमेटेर लागिपरिरहेका थिए त्यहाँ । भौगोलिकरूपमा सिमाना काटेर गएपनि उनी भित्र नेपाली रगत नै बग्थ्यो, नेपाली मुटुनै चल्थ्यो । सन् १९६९ (बि.स. २०२६ साल)मा उनी नेपाली संगीत क्षेत्रको बिकासका लागि राजा महेन्द्रको आग्रहमा नेपाल आए । उनलाई नेपाली संगीतमा काम गर्न कसैले नबोलाएको भए पनि उनको भित्री ईच्छा नेपाल मै आएर नेपाली संगीतको बिकाशका लागि काम गर्ने नै थ्यो । तर संयोग उनको नेपाल आगमन त्यसबेलाका राष्ट्र प्रमुखकै निमन्त्रणामा हुन गयो । नेपाल आएपछि उनलाई प्रज्ञा प्रतिष्ठानको संगीत विभाग हेर्ने जिम्मेवारी दिइयो । उनले सन् १९६९ देखि ३० वर्षसम्म लगातार प्रज्ञा प्रतिष्ठानमा सङ्गीत विभागको निर्देशक भएर काम गरे । आफ्नो संगीत सम्बन्धि अध्ययन (अध्यापन र तिनको बिषयगत प्रयोगलाई समेत उचितरूपमा ध्यान दिइनै रहे । सन् २०१० मा त उनि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति जस्तो गरिमामय पदमा नै आसिन हुन पुगे ।

प्रोफेसनल हिस्ट्री

संगीतकार अम्बर गुरुङले सन् १९६८ देखि सन् १९९८ सम्म प्रज्ञा प्रतिष्ठान (कला साहित्य) तर्फ संगीत निर्देशककारूपमा लामो सेवा गरे । उनको सांगीतिक जीवनको सबैभन्दा लामो आयु यहि विधा अनि यहि सेवामा व्यतित भयो । उनको सांगीतिक जीवनको एक महत्वपूर्ण पल संगीत प्रशिक्षककारूपमा डा. ग्राहम्स होमस् कालिङ्गपोङ दार्जिलिङमा पनि बित्यो, यो सन् १९६७ तिरको कुरा हो । उनले त्यहाँ एक अब्बल शिक्षककारूपमा सन् १९६८ सम्म काम गरेका हुन् । उनको जीवन कहिले त्यसै निष्क्रियरूपमा बितेन । उनीमा संगीत सम्बन्धि जुन ज्ञान, क्षमता र प्रतिभा थ्यो त्यो अरुमा थिएन । यसर्थ, उनी जहिलै सबैको रोजाईमा पर्दथे, सरकारको रोजाईमा पनि उनी नै पर्दथे । दार्जिलिङमा रहँदा सन् १९६२ देखि सन् १९६५ सम्म पश्चिम बङ्गाल, दार्जिलिङ, भारत सरकारको अनुरोधमा उनले ’फोक इन्टरटेन्मेन्ट युनिट’को संगीत प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए । सांगीतिक जीवनको पहिलो गीत उनले कवि, गीतकार अगमसिं गिरीको रचनामा आफ्नै संगीतमा ’नौ लाख तारा उदाए’ रेकर्ड गरेका थिए । जुन गीत भारतमा प्रतिबन्ध समेत लगाईएको थ्यो त्यसबेला ।

amber
नेपाली संगीतमा पाश्चात्य संगीत र पुर्बिय संगीतका गुणहरूलाई नेपाली हावापानी माटो र नेपाली जनजीवन सुहाउँदो शैलीमा ढाल्न उनले निकै ठूला र महत्वका सिर्जनात्मक कार्यहरू गरे । यसक्रममा सन् १९६१ देखि सन् २००६ सम्म उनले जीवनमा १००० भन्दा बढी त संगीत सम्बन्धि बिशेष लेखहरू नै प्रकासित गरे । नेपाली कोएर निर्माण गर्ने उनी नै प्रथम संगीतकार पनि हुन्, सन् १९८८ देखि १९९७ सम्म उनले यस क्षेत्रमा पनि उल्लेखनीय कार्य गरे । देशभरिका सफल, असल र अब्बल कलाकारहरूलाई संगठित गरेर कोयर प्रस्तुत गरे । उनले विभिन्न अपेराहरूमा समेत संगीत मात्र दिएनन् तिनको सफल संचालन समेत गरे । सन् १९८६ मा ’मालती मंगले’ त्यसपछि सन् १९७९ मा ’मुनामदन’, सन् १०६३ मा ’कुन्जिनी’मा संगीत दिए उनले । नेपालबाट निर्मित ँक्ष्च्क्त् ल्भ्एब्ीक्ष् ऋब्ल्त्ब्त्ब्क् स्मृतीमा समेत अम्बरले नै संगीत दिएका हुन् । त्यस्तै सन् १९७२ मा ब्रेभ गोर्खाजमा पनि उनले नै संगीत दिए । उनले ३ वटा नेपाली चलचित्रको म्युजिक स्कोर पनि लेखेका छन् । धेरै डक्युमेन्ट्रीमा संगीत भरेका छन् । संगीतकार अम्बर गुरुङलाई नेपाल सरकारले सन् २०१० मा नेपाल राष्ट्रको महत्वपूर्ण जिम्मेवारी सुम्पियो, उनी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बने र आफ्नो कार्यकालमा केहि महत्वपूर्ण कार्यहरू समेत गरे । त्योभन्दा अघि उनले सन् २००६ देखि सन् २००७ सम्म नेपाल म्युजिक सेन्टर काठमाडौँका चेयरमेनका रूपमा समेत कार्य गरिसकेका थिए । बि.स २०६८ सालमा नेपाली सेनाले अम्बर गुरुङलाई महासेनानीको सम्मान अर्पण ग¥यो । उनले सङ्गीत गरेको रातो र चन्द्र सूर्य जङ्गी निसान हाम्रो बोलको गीत (स्वर अम्बर गुरुङ्ग फत्तेमान) लाई आफ्नो सैनिक गान घोषणा गर्दै यो उपाधी नेपाली सेनाले प्रदान गरेको हो । गायक संगीतकार अम्बर गुरुङ्गले जनवरी प्रथम १९१४ मा हिमालयन टोन्स म्युजिक एकेडेमी हङगकङबाट पनि महासंगीतकारको उपाधि प्राप्त गरे ।

कृति र जीवनका बहुमुल्य पाटाहरू

संगीतकार अम्बर गुरुङले जीवनमा ३ वटा पुस्तकहरू जीवन कृतिकारूपमा प्रकाशन गरेका छन् । ती सबै सांगीतिकरूपमा नै लिपिबद्ध छन् । संगीत जीवनका अमूल्य पाटोहरू जोडिएका छन् पुस्तकमा । ’सम्हालेर राख’ गीत संग्रह सन् १९६९ मा प्रकाशित भएको हो भने ’कहाँ गए ती दिनहरू’ संस्मरणात्मक कृति हो । कैले लहर कहिले तरङ्ग, अम्बर संगीत सन्ध्या जस्ता सांगीतिक एल्बमहरू पनि प्रकाशित छन् उनका । विभिन्न संस्मरण तथा निबन्धहरू समेत प्रकासित छन् । बितेका पलहरू उनको महत्वपूर्ण सम्झना कोशेली हो पाठकहरूका लागि जुन सन् २००६ मा प्रकासित भएको थ्यो भने यस कृतिले सन् २००७ मा ’उत्तम शान्ति साहित्य पुरस्कार’ समेत प्राप्त गरेको थ्यो । संगीतकार अम्बर गुरुङले जीवनमा २ दर्जन बढी लाईफ टाइम अवार्ड तथा संस्थागत अभिनन्दनहरू समेत प्राप्त गरेका छन् । उनले अन्तर्राष्ट्रिय संगीत समारोहहरूमा समेत संगीतको बौद्धिक प्रस्तुतीकासाथ नेपालकोतर्फबाट आफ्नो क्षमता प्रदर्शन प्रस्तुत गरिसकेका छन् । फिलिपिन्स, जापान, चाईनामा आयोजित संयुक्त राष्ट्रसंघीय युनेष्कोद्वारा प्रायोजित ’सङ्गस् अफ एसिया कन्फरेन्स’मा उनले नै नेपालको तर्फबाट भाग लिएका थिए । उनको प्रस्तुतिसँगै त्यहाँ नेपालको सांगीतिक सम्पदाकोबारेमा समेत निकै प्रशंसा भएको थियो । संगीत शिक्षाका सम्बन्धमा आयोजित अन्तर्राष्ट्रिय कन्फरेन्समा पनि उनले नेपालको गौरब राख्ने तहमा भाग लिएका छन् ।

सन् १९७० मा रेडियो नेपालबाट संगीतमा प्रथम स्थान हासिल गरे वापत स्वर्ण पदक प्राप्त गरेका थिए । त्यसपछि नै वास्तवमा संगीतकार अम्बर गुरुङ्गको सांगीतिक जीवनले नयाँ मोड र नयाँ सांगीतिक क्षितिज पहिल्याएको हो । सन् १९७१ मा त उनले सरकारको तर्फबाट गोरखा दक्षिणबाहु प्राप्त गरे । सन् १९८३ मा आइपुग्दा उनले गीतकार छिन्नलताको नाउँमा स्थापित छिन्नलता गीत पुरस्कार पनि प्राप्त गरे । सन् १९८७मा उनले ईन्द्रराज्यलक्ष्मी पुरस्कार पनि पाए । उनको सांगीतिक कलाकारिता पनि झाङ्गिदै, लोकप्रियताले अझ उचाई छुँदै गयो । यसले गर्दा अम्बरलाई पुरस्कार दिन पाउँदा कतिपय संस्थाहरू स्वयम् सम्मानित भएको महसुश गर्दथे । त्यसो त उनले नेपाल र नेपालीहरूबाट मात्र पनि पुरस्कारहरू प्राप्त गरेनन् भारतका नेपाली संघ संस्थाहरूबाट पनि पुरस्कार पाए । सन् १९९३ मा भारत सिक्किमबाट उनले गोल्डेन ल्युट अवार्ड (ऋभ्म्इक्) प्राप्त गरे । सन् १९९४ मा दार्जिलिङबाटै ’गिरी पुरस्कार’ पाए । उनी नेपालमा जति लोकप्रिय छन् त्यति नै धेरै लोकप्रिय प्रवासमा पनि छन् भन्ने प्रमाण हो यो उनको । सन् १९९६मा नेपालको सुदूर पूर्वी जिल्ला झापाको सशांक स्मृति प्रतिष्ठान, धुलाबारीले पनि यिनलाई ठुलो सम्मान ग¥यो । सन् १९९८मा उनले भूपालमानसिंह पुरस्कार पनि प्राप्त गरे । सोहि वर्ष जगदम्बाश्री पुरस्कार पनि प्राप्त गरे अम्बरले । उनी टिभी च्यानलमा उनका गीतहरू सम्मानजनकरूपमा प्रसारण भएको, नेपाली सांगीतिक क्षेत्रमा अतुलनिय योगदान पु¥याएको भन्दै ईमेज टिभीले समेत उनलाई ईमेज अवार्ड प्रदान ग¥यो सन् १९९९ मा । यसैगरी उनले सन् १९९९ मा टुबोर्ग आउटस्ट्यान्डिङ अवार्ड, सन् २००० मा मधुरिमा फूलकुमारी महतो पुरस्कार काठमाडौँ, सन् २००१ मा हिट्स एफ. एम. लाईफटाइम एचिभमेन्ट अवार्ड, सन् २००६ मा कान्तिपुर लाईफटाईम एचिभमेन्ट अवार्ड, र सन् २००७ मा उत्तम शान्ती साहित्य पुरस्कार समेत प्राप्त गरेका छन् । यस्तै रातो र चन्द्र सूर्य ऐतिहासिक गीत संगीत गरेवापत अम्बरलाई नेपाली सेनाद्वारा सन् २०११ मा बिशेष सम्मान पनि अर्पण गरिएको थियो ।

एक सफल गायककारूपमा अम्बर

अम्बरले आफ्नो सांगीतिक जीवनमा बहुमुल्य गीतहरू गाएका छन् । तिनमा अधिकांस गीतहरू उनी आफैंले संगीत गरेका छन् । उनी आफुले रचना तथा संगीत गरेको गीत गाउँदा सतप्रतिसत न्याय हुने साथै आनन्दको अनुभूति हुने बताउँछन् । सुरुवातीचरणमा उनले म.बी.बी. शाहको रचनामा आँशु र हाँसो, उनकै शब्द संगीतमा व्यथित दिल, अगमसिंह गिरीको रचनामा नौलाख तारा उदाए र जन्मजन्म है, शंकर लामिछानेको रचनामा जसै साँझ प¥यो, किरण खरेलको रचनामा सोधुँ सोधुँ लाग्छ, अम्बरको आफ्नै शब्द÷संगीतमा म अम्बर हुँ तिमी धर्ती, मेरो उदासीपन, टिप यो जीवन, बैरागी काइँंलाको रचनामा खोजिरहेंछु, हरिभक्त कटवालको रचनामा बतासले झारेका बोलका गीतहरू अम्बर गुरुङ्गले रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरे । यी गीतहरू नेपाली संगीतको क्षेत्रमा कालजयी अजर र अमर बनेर रहेकाछन आज पनि । उनले यो फुल बसन्त, डाँडापारि हिउँ परेछ, आँखाबाट बगाई, उनी पनि त कोहि, दिल त म, जब जब मौसम, आकास झुक्यो लगायतका गीतहरू उनले आफ्नै शब्द र संगीतमा आफैं गाएका छन् । यी गीतहरूका शब्द संगीत र स्वर उनका आफ्नै हुन् । जुन गीतहरूलाई उनले भरपुर न्याय गरेका छन् ।
यसैगरी उनले म.बी.बी. शाहको रचनामा किन किन तिम्रो तस्बिर, नातिकाजीको संगीत माधव घिमिरेको रचनामा पहिलो बास, ईश्वर बल्लभको रचनामा मेरो बेहोशीलाई, बैरागी काईंलाको रचनामा औंलाहरू चुमेर लगायतका गीतहरू रेकर्ड गरेका छन् रेडियो नेपालमा । यी गीतहरूले नेपाली संगीतको क्षेत्रमा एउटा मानक र मूल्य स्थापित गरेका छन् ।

गीतकारहरूसंगको सम्बन्ध

संगीतकार अम्बर गुरुङ्ग आफैंमा पनि एक राम्रा साहित्यकार एवम् गीतकार हुन् । उनी सबै साहित्यिक धारका गीतकारहरू प्रति सम्मान दर्शाउने सङ्गीतकार एवम् गायक हुन । उनले गाएका एक (दुई छोडेर सबै गीत उनी आफैंले रचना समेत गरेका हुन् ।
शब्द छनौटमा निकै माहिर उनले संगीत गरेका रचनाकारहरू ज्यादै कम छन् जो प्राय सबै साहित्यिक विधाका श्रष्टाहरू छन् र उनका प्रिय गीतकार पनि हुन् उनीहरू । उनले संगीत गरेका गीतकारहरू अगमसिंह गिरी, विश्व बि. मोहन, मबिबि शाह, किरण खरेल, ईश्वर बल्लभ, रत्नशम्शेर थापा, लक्ष्मीप्रसाद देवकोटा, राजेन्द्र थापा, शंकर लामिछाने, हरिभक्त कटवाल, सत्यमोहन, दीपक, प्रदीप रिमाल, सुनिल देउजा, फत्तेमान, माधव घिमिरे, बैरागी काईंला, शंकर लामा, भूपी शेरचन, पासाङ्ग, कालीप्रसाद रिजाल, बालगोविन्द राजभण्डारी, चन्द्रकला श्रेष्ठ, हेमराज पाण्डे हुन् । यी गीतकारहरूमा संख्यात्मकरूपमा सबैभन्दा धेरै अर्थात् ९ वटा गीतहरू त किरण खरेलले मात्र लेखेका छन् । त्यसो त उनी आफैंले पनि ५ दर्जन भन्दा बढी उनीद्वारा संगीतबद्ध गीतहरू उनी आफैंले रचना गरेर रेडियो नेपालमा रेकर्ड समेत भएका छन् भने उनी आफंैद्वारा गाइएका ५ दर्जनभन्दा बढी रेडियो नेपालमा रेकर्ड भएका उनका गीतहरू समेत स्वयम् अम्बर गुरुङले नै रचना गरेका छन् । यसर्थ, उनको संगीतमा सबैभन्दा बढी गीतगाउने गायक पनि उनी आफैं नै हुन् । नारायण गोपालले उनको संगीतमा गाएका ’मेरो आँखालाई राख्ने’ अम्बर गुरुङले नै लेखेका हुन् भने ’मेरो यो गीतमा’ हरिभक्त कटवालले लेखेका हुन् । नारायण गोपालले उनको संगीतमा गाएको ’पोखिएर घामको झुल्का’ हरिभक्त कटवालको रचना हो भने ’शिरको टोपी’ माधव घिमिरेको रचना हो । उनको संगीतमा सबैभन्दा धेरै गीत गाउने गायिकाहरूमा निर्मला श्रेष्ठ, अरुणा लामा, तारादेवी हुन् भने गायकहरूमा नारायणगोपाल, फत्तेमान, प्रेमध्वज प्रधान पर्दछन् ।

उनले आफुले गाएका गीतका रचनाकारहरू आफूसंगै अगमसिंह गिरी, म.बी.बी. शाह, शंकर लामिछाने, किरण खरेल, बैरागी काइँला, हरिभक्त कटवाल, माधव घिमिरे, ईश्वर बल्लभ, रत्नशम्शेर थापा, ईश्वर बल्लभ, शंकर लामा, कालीप्रसाद रिजाल रहेका छन् ।

amber gurung
नारायणगोपाल र अम्बर गुरुङबीचको सम्बन्ध
नारायण गोपाल र अम्बर गुरुङबीचको सम्बन्ध केवल गायक र संगीतकारको तहको मात्र थिएन । कलाकारिता भन्दा माथिको सम्बन्ध थियो यी दुई श्रष्टाको । अम्बर र नारायण गोपाल समय समयमा एक अर्काको घरमा भेट हुने, रमाईलो गर्ने, सांगीतिक महफिल जमाउने आदि गर्ने गर्दथे । अम्बर गुरुङ्गका लागि नारायण गोपालको घर मात्र एउटा यस्तो घर थियो जहाँ अम्बर खुशी हुन्थे, रमाईलो गर्ने मुड हुँदा त्यहीं पुग्थे उनी । नारायणगोपाल पनि हरेक सिर्जना प्राय अम्बर गुरुङलाई सुनाएकै हुन्थे उनकै घरमा पुगेर । अम्बर गुरुङ नारायण गोपाललाई निकै नजिकबाट नियाली रहेका, एक किसिमले भनौं परीक्षण नै गरिरहेका हुन्थे । नारायण गोपालका केहि अभावुक र अधैर्य स्वभावगत बानीका कारण अम्बरको मनमा एउटा प्रश्न खेलिरहेको हुन्थ्यो । यति मर्मस्पर्शी गीत गाउने गायक स्वयम् चैं किन सिरियस छैन ? यो अम्बरको मन भित्रको सुसुप्त प्रश्न थियो नारायणगोपाल प्रति । एकदिन गायक दीप श्रेष्ठको घरमा पार्टी खाएर राती १ बजे घर आउँदा नारायण गोपालले अम्बरलाई उनकै घरको गेटसम्म मोटर बाईकमा लिफ्ट दिए । अम्बर बाईकबाट उत्रिसके पछि हात मिलाउँदै नारायण गोपालले अम्बरलाई गम्भीर मुद्रामा भने– सोम (एक अर्कालाई सोम भन्थे) यस्तै छ है जिन्दगी । उनीहरू बिदा भए । धेरै बेर सम्म अम्बर निदाएनन् । कहिलै यस्तो सिरियस कुरा नगर्ने मान्छेले किन आज यसो भन्यो, बाटोमा पो केहि हुने होकि डराईरहे अम्बर । त्यही रात नै वास्तवमा नारायण गोपाल पनि गम्भीर र भावुक कलाकार रहेछ भन्ने अनुभूत गरे अम्बरले ।

एक बिहानको कुरा हो, संगीतकार अम्बर गुरुङ रियाज गर्दागर्दै नारायण गोपाल टुप्लुक्क आईपुग्छन् कोठामा । त्यसबेला अम्बर राग ’बिहाग’ मा ’नि’ कोमल प्रयोग गरेर अभ्यास गरिरहेका थिए । बिहाग रागमा ’नि’ कोमल प्रयोग गरेको सुने पछि नारायणगोपाल त्यसको बिरोध गर्छन । केहीबेर विवाद चल्छ दुई श्रष्टाको । नारायण भन्छन– खै, बदौडाका प्रोफेसरहरूले कहिलै त्यसो गरेननन्, न त मेरो बुवाले नै सितार बादनमा यो राग बजाउँदा ’नि’ कोमल प्रयोग गर्नु भयो । अम्बर कहिले काहिँ अवस्था हेरेर ’नि’ पनि प्रयोग गर्न सकिने बताउँछन् । यतिकैमा कुरा नमिल्दा नमिल्दै नारायणगोपाल घरतिर लाग्छन् । भोलि पल्ट बिहानै ६ बजे नै नारायणगोपाल फेरी टुप्लुक्क अम्बरको कोठामा आईपुग्छन् र भन्छन– अम्बरजी, हिजो तपाईंले भन्नु भएको कुरा ठिकै रहेछ, मलाई थाहा भएन । हाँसी हाँसी नारायणगोपालले आफ्नो गल्ति सच्याउँदा अम्बर धेरै नै खुशी हुन्छन । मनमनै सोच्छन गल्ती सच्याउने आँट गर्नु पनि नारायण गोपालको महानता हो ।
यो त घटनाको कुनै एक उदहारण मात्रै हो । जीवनमा नारायणगोपाल र अम्बर गुरुङ बीच कैयौं यसप्रकारका वादविवाद, सम्वाद, क्रिया, प्रतिक्रिया र अन्तरक्रियाहरू समेत भए संगीतका बारेमा । कुनै विवादले यस्तो अवस्थामा पु¥यायो यी दुई अजम्बरी श्रष्टालाई, बोलचाल नै बन्द गरायो केहि वर्षसम्म ।

नारायणगोपाल र अम्बर गुरुङबीचको पुनमित्रता

गीति नाटक मालती मङ्गलेमा कबिवर माधवप्रसाद घिमिरे नारायण गोपाललाई नै सबै गीत रेकर्ड गराउन चाहन्थे । तर उनलाई अम्बर गुरुङ्ग र नारायणगोपालबीच बोलचाल नै बन्द छ भन्ने कुरा थाहा थिएन । अम्बरलाई आफ्नी कार्य कक्षमा बोलाएर माधव घिमिरेले भने – अम्बरजी, सबै गीत नारायणगोपालकै स्वरमा रेकर्ड गर्न पाए सार्है राम्रो हुन्थ्यो । असमन्जसमा पर्दै अम्बरले भने– खै नारायणले के भन्छ । बल्ल माधव घिमिरेले दुई श्रष्टाबिच बोलचाल बन्द भएको कुरा थाहा पाए । उनले यसैलाई पुनर्मित्रताको अवसरका रूपमा बदल्ने अठोट गरे । कबिबर नारायणगोपाललाई भेट्न सिधै घर पुगेर उनलाई भनेछन्– मालती मङ्गलेमा तपाईले गीत गाईदिनु प¥यो । नारायण गोपालले जवाफमा कबिवरलाई भनेछन्– अम्बरले खै के भन्ने हुन् । माधव घिमिरेले तत्काल जवाफ दिए– अम्बरजी त तपाईं जस्तो गायकले गाउँदा अझ राम्रो हुन्छ भनिरहनु भा’छ, अम्बरजी तपाईलाई धेरै माया र आदर गर्नुहुन्छ । यो कुरा सुने पछि नारायणगोपाल पनि खुशी भए । नारायणगोपाल खुशी भएको थाहा पाएपछि अम्बर पनि खुशी भए । सबैभन्दा खुशी त त्यो बेला माधव घिमिरे भए । अम्बर गुरुङ र नारायणगोपाल दुबैको हात समाएर मिलाई दिए । दुवै खुसी भएर मालती मङ्गलेका गीतहरू रेकर्ड गरेर एउटा इतिहास बनाए । त्यहींबाट मित्रता पुरानै ट्रयाकमा फर्कियो यी दुई अमर श्रष्टाको ।

गायक गायिकाहरू विच अम्बर

संगीतकार अम्बर गुरुङ्ले नेपाली संगीतको क्षेत्रमा कालजयी एबं संगीतको लामो यात्रा हिड्न सफल गायक गायिकाहरूसंग संगत गरेका छन् । उनको संगीतमा गीत गाउने गायिका तथा गायकहरू निकै परिपक्क र साधनारत हुन्थे । उनी जो कसैलाई आफ्ना अमुल्य संगीत प्रदान गर्दैन थिए । सुरुवाती चरणमा उनको संगीतमा गाउने गायक गायिकाहरू अन्जुदेवी– हर गीतलाई, त्यो दिन ढलेर, तिमीले चाहे जस्तै ज्ञानु राणा, स्वरसम्राट नारायणगोपाल (मेरो आँखालाई राख्ने), निर्मला श्रेष्ठ (मेरो हजुर आउँछ), फत्तेमान (कति खोला बगी), प्रेमध्वज प्रधान (मखमली घुम्टो), निर्मला श्रेष्ठ (ए फुल आज), फत्तेमान (भो है तिमी नआउ, जीवन हुरी, तिम्रो माया जीवन, मैले भने खोईत), अरुणा लामा (तरुनीको रात, सबैले भन्थे, स्वप्निल आँखा (अम्बर गुरुङसंग युगल), पोहोर साल खुशी फाट्दा, फेरी कली फुलेर, ए कान्छा मलाई सुनको, (रुक्मणी गुरुङसँग युगल) किन यौवन उदास, घाम जुन पञ्च (अम्बर गुरुङसंग युगल), पोखिएका तारा टिपी आदि बोलका गीतहरू अम्बर गुरुङको संगीतमा गाईएका सर्बाधिक लोकप्रिय गीतहरू हुन् । प्रेमध्वज प्रधानको स्वर तथा अम्बर गुरुङो संगीतमा मखमली घुम्टो, तारा खसेछ, ईच्छा तिम्रो, चलचित्र जीवन रेखामा हास्ने रहरहरू बोलका गीतहरू रेकर्ड भएका छन् । गायिका निर्मला श्रेष्ठको स्वरमा उनका धेरै संगीतहरू रेकर्ड भएका छन् । मेरो हजुर आउँछ, ए फुल आज, टाढा टाढा म कती, अँध्यारो गयो, फेरी फागुमा, सिमल जस्तै, कहाँ छ खोजेको, अरु सित छैन रिस, मेरो मन ऐना भन्दा, तिम्रो माया जीवन (फत्तेमानसँग युगल), आँशु पुछि हाँसो, आज सुन म, जुन सपना, बाँकी कथालाई, निलो निलो आकास, ए एक्लो तारा, लाउँछौ भने यो, आँखैमा काटेर, त्यहि आकास, कसले गीत गायो, तिम्रो फूलहरू, मेरो मर्नु र बाँच्नु, तिम्रो लागि उपहार बोलका गीतहरू रेडियो नेपालमा रेकर्ड भई प्रसारण भईरहेका गीतहरू हुन् । यस्तै ज्ञानु राणाले संगीतकार अम्बर गुरुङ्गको संगीतमा मनको मेरो पखेटा गाएकी छन् भने निरकमलले मिर्मिरे प्रात, शुशिला कंशाकारले आकासमा चोरिएकी, पी. एल. श्रेष्ठले जीवन रंगीलो, तारादेवीले अम्बर गुरुङसंगै टिप यो जीवन, चलचित्र जीवन रेखामा हराए झैं की लाग्छ, तिम्रो नाम अझै छ प्रेमध्वज प्रधानसँग युगल, पलपल चुमेर प्रेमध्वज प्रधानसँगै युगल, उदित नारायणझासँग फुल्की सानी परेली, अम्बर गुरुङसँगै सोधु सोधुँ लाग्छ, यस्तै गायिका शान्ती ठटालले धुन सजाउँला, सम्हालेर राख, अम्बर गुरुङ्गसँग उनकै संगीतमा युगल गीत जाउन फुलको र अम्बरगुरुङसँगै युगल दिल त म गाएकी छिन् । यी सबै गीतहरू अम्बर गुरुङ्गको संगीतमा लाईभ रेकर्ड भएका गीतहरू हुन् ।

अम्बरका स्वदेशगानहरू

संगीतकार अम्बर गुरुङ्गले संगीत भरेका स्वदेशगानले नेपाली संगीतको क्षेत्रमा बेग्लै सांगीतिक सुबास छरेका छन् । आफ्नै पन, आफ्नै शैली र मुर्छना छ उनको स्वदेशगानमा ’रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ गोपालप्रसाद रिमालद्वारा रचित स्वदेशगान स्वयम् अम्बर गुरुङ्ग र फत्तेमानले गाएका हुन् जसमा अम्बरको कालजयी संगीत छ । ’नेपाल आमा कहीं छ घाम’ माधव घिमिरेको रचनामा स्वयम् अम्बर गुरुङ्गकै संगीतमा अम्बर गुरुङ्गकै आवाजले संगीत प्रेमी श्रोताको मन जितेको छ । यस्तै अम्बरको आफ्नै शब्द संगीत र स्वरमा सजिएको मनको तार, स्वदेशी बन, उनकै संगीत विश्वनाथ रूपाखेतीको शब्द, निर्मला श्रेष्ठ र नीरा श्रेष्ठको स्वरमा गुन्जिएको ’छ शुभ साइत’, किरण खरेलको शब्द निर्मला श्रेष्ठको स्वरमा रहेको उषाको चोखो लाली, सत्यमोहन जोशीको शब्द ताराथापाको स्वरमा रहेको देशको सेवामा, अम्बरकै शब्द, तारा थापा, शान्ती थापा र संगीता थापाको स्वरमा सजिएको साना साना झरना, निर्मला श्रेष्ठको स्वरमा अम्बरकै रचनामा रहेको रहेको ’नेपालीको छोरी’ आदि गीतले देशभक्ती भाव जगाउन, मातृत्व र भातृत्वको शन्देश प्रवाह गर्न सफल रहेका छन् ।

मेरो विचारमा

संगीतकै तागत र सामथ्र्यले दुनियाँलाई आफ्नो बनाएका अम्बर गुरुङले नेपाली धर्तीलाई आफ्नैपनको सांगीतिक सुगन्धले सजाएका छन् । नेपाली संगीतको बिकाशमा उनको योगदान अतुलनीय छ । जनस्तरबाट ’महान सङ्गीतकार’, नेपाली संगीतका पिता (फादर अफ नेपाली म्युजिक), नेपाली संगीतका महासेनानी, राष्ट्रगानका संगीत सर्जक, संगीतका ज्ञान सागर, सुगम संगीतका शिखर संगीतकार आदि अनेकन उपनामले चिनिएका अम्बर गुरुङ्गले पूर्वीय, पाश्चात्य दुवै खाले संगीतको गहिरो अध्ययन गरेका मात्र छैनन् नेपाली आधुनिक सुगमको सांगीतिक विरासत निर्माण गर्न पनि उत्तिकै ठूलो योगदान छ । त्यसको प्रयोगवादी दृष्टिकोणबाट पनि उनी अब्बल संगीतकार मानिएका छन् । नेपाली संगीतका ब्यवहारबादी संगीतकार समेत हुन् उनी । किनकि नेपालमा अपेरा म्युजिक, कोयर (विथ ब्याले, FIRST KANTATAS IN NEPAL, डक्युमेन्ट्री, पाश्र्व संगीत निर्देशन (विथ फिल्म म्युजिक स्कोर), चलचित्र संगीत निर्देशन, अन्तर्राष्ट्रिय संगीत सम्मेलनमा संगीत दस्तावेजको सफल प्रस्तोता, एवम् आधुनिक, स्वदेशगान र राष्ट्रगानका समेत श्रष्टा केवल एकै व्यक्तित्व अम्बर गुरुङ् नै हुन् । यो नेपाली संगीत ईतिहासका लागि चानचुने विषय होइन । लोकतन्त्रको स्थापना पछि देशको राष्ट्रगानमा संगीत गर्ने महान अवसर प्राप्त गरेका यिनलाई राष्ट्रले समेत निकै गर्विलो र गौरवशाली जिम्मेवारी दिएकोमा उनले त्यसलाई सफलताका साथ पूरा गरेर आफ्नो र राष्ट्रको नाउँ उचाईमा राख्ने कार्य गरेका छन् । उनी अत्यन्तै अनुशाशित कलाकार हुन् । सङ्गीत मनोरन्जनको विषय मात्र हैन आत्मरञ्जन र आत्मा सुद्धिकरणको माध्यम पनि हो भन्ने मान्यता र सोहि अनुसारको व्यवहार अपनाउने शालीन शिष्ट कलाकार हुन् उनी । उनी नेपाली संगीतमा बौद्धिक धारको प्रतिनिधित्व गर्दछन । संगीतलाई एकेडेमिक करिअर निर्माणको एक महत्वपूर्ण माध्यमका रूपमा स्थापित गर्ने काव्यीक चेतनाले भरिएका यी श्रष्टा नेपाल आमाका एक वरद पुत्र नै हुन् जसले नेपाली सङ्गीतलाई सयौं बर्षलाई पुग्ने कालजयी, अमर र अजर गीत संगीत दिएका छन् । सांगीतिक जीवन संघर्षको एक कालखण्डमा यो पङ्तिकार श्रष्टाले उनीसँग रेडियो नेपालका गीत रेकर्डहरूमा सांगीतिक सहकार्य गरेको हो । उनका झन्डै डेड दर्जन जति गीतका रेकर्डहरूमा मेन्डोलीनका धुनहरू बजाएको सम्झना आलो छ । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति पदबाट बिश्राम लिनु केहि समय अघि मात्र दक्षिणकालीमा प्रतिष्ठानद्वारा आयोजित श्रष्टा सम्मान उनको हातबाट बिशेष श्रष्टा सम्मान ग्रहण गरे पश्चात केहि बेर भलाकुसारी र रमाइलो गरेको सम्झना छ । धेरै सपना थ्यो सोचे जस्तो गर्न सकिन भनेर १०० भन्दा बढी राष्ट्रका श्रष्टाहरू बीच खुला हृदयमा पोखिएका उनलाई झल्झली सम्झन्छु । रेडियो नेपाल विविध गीत रेकर्डिङका क्रममा एक पर्फेक्सनिष्टसंग सांगीतिक सहकार्य गरेको कहिलै नभुल्ने गहिरो अनुभूति छ । जय होस् अम्बर दाई तपाईंको, ऐतिहासिक स्वर्णिम सांगीतिक यात्राको । तिमी भौतिकरूपमा यस धर्तीमा नभए पनि युग युग बाँचिरहने छौ, संगीतको संसारमा गौरवान्वित रही रहने छौ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु