उत्तम थापाको ‘यो यात्रा’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १३ भाद्र २०७४, मंगलवार

भाद्र १३, काठमाडौं । गायक तथा संगीतकार उत्तम थापाले गाएका एकल गीतहरुको चौथो संग्रह ‘यो यात्रा’ सोमबार काठमाडौंमा सार्वजनिक भएको छ । गायक थापाका सांगीतिक गुरु गुरुदेव कामत, संगीतकार राजु सिंह सहितका व्यक्तित्वले उक्त एल्बम विमोचन गरेका हुन् । विमोचित एल्बममा आधुनिक तथा लोक शैलीका ८ गीत समावेश छन् ।

विमोचित एल्बमका सबै गीतमा गायक थापाकै संगीत निर्देशन छ । एल्बमका ती गीतहरु उत्तम थापा मगर, मनोज धमला, डिपी खनाल, ओम सुनार तथा सुमन लम्सालले रचना गरेका छन् । चन्दु गोर्खाली, सञ्जिव सुब्बा, राजिव शाह, दिपेश प्रधान, चा“द सिंह तथा बुद्ध सान्बोद्वारा संगीत संयोजन गरिएका गीतहरुको उक्त एल्बमलाई सङ्सनेपालले प्रस्तुत गरेको हो । विमोचन समारोहमा एल्बमको पहिलो गीत ‘जोर मादल’ को म्युजिक भिडियो प्रिमियर गरिएको थियो ।

 

समारोहमा सांगीतिक गुरु गुरुदेव कामतले गायक थापालाई आफ्नो कान्छो छोराको रुपमा संगीत सिकाएको स्मरण गर्दै उनको गायकीको प्रसंसा गरे । संगीतकार राजुृ सिंहले पनि गायक थापा संगीतमा मेहनत गर्न पछि नपर्ने प्रतिभा भएको बताए ।

२०६५ सालदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भएका संगीतकर्मी उत्तमले यसअघि आधुनिक तथा सुगम शैलीमा आधारित तीन वटा एकल गीति एल्बम दर्शक तथा स्रोतामाझ ल्याइसकेका छन् । ललितकला क्याम्पसमा संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका संगीतकर्मी उत्तम थापा मगर यतिबेला स्नातक तह चौथो वर्षमा अध्ययनरत छन् भने भारतको इलाहावाद संगीत विद्यालयबाट छैटौं वर्षको अध्ययन पूरा गरिसकेका छन् । वर्ष २०६७÷६८ मा उनले त्यहा“बाट स्वर्ण पदक पनि प्राप्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु