क्षेत्री, शेरचन, पाण्डे र महतको नाममा पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७१, बिहीबार

काठमाडौं । गीतसंगीतको क्षेत्रमा लामो समयसम्म योगदान दिएका अमर स्रष्टाहरुको नाममा स्मृति पुरस्कार स्थापना गर्दै पुरस्कृत गर्न लागिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले स्व. लोकबहादुर क्षेत्री, कल्याण शेरचन, नारायण पाण्डे र मञ्जु महतको नाममा स्मृति पुरस्कारको स्थापना गर्दै लोक संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । लोकगायक लोकबहादुर क्षेत्री नेपाली लोकगीतको क्षेत्रमा सबैभन्दा माथिल्लो स्थानमा रहेका स्रष्टाका रुपमा लिइने गरिन्छ । त्यस्तै कल्याण शेरचन पनि लोकबहादुर क्षेत्रीपछिको लोकगायनको क्षेत्रमा राम्रो स्रष्टाको रुपमा लिइने गरिन्छ । त्यसैगरी नारायण पाण्डे लोकदोहोरीको क्षेत्रमा उल्लेख्य नाम कमाएका स्रष्टा हुन् । उनको प्रत्यक्ष दोहोरी गीतको सवालजवाफको शैली, शब्द र लयका पदचाप पछ्याउनेहरु धेरै रहेको पाइन्छ । त्यस्तै मन्जु महत लोकदोहोरीको क्षेत्रमा उदाउँदो ताराका रुपमा लिइँदा लिइँदै दुर्घटनामा परी ज्यान गुमाउन पुगेको स्रष्टा हुन् । यिनै चार स्रष्टाका नामबाट स्मृति पुरस्कार घोषणा गर्दै प्रतिष्ठानले लोकदोहोरीको क्षेत्रमा लागेर आफ्नो जीवन समर्पण गर्ने स्रष्टाहरुलाई नगद राशिसहित सम्मान गर्ने भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु