• दर्शक तान्दै ‘हाउ फन्नी’

    म्यूजिक खबर
    प्रकाशित: १२ बैशाख २०७३, आईतवार

    शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘हाउ फन्नी’ले सोचेभन्दा राम्रो व्यापार गरिरहेको निर्माणपक्षले जनाएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार राजधानीका हलहरुमा ७० देखि ९० प्रतिशतसम्म दर्शकको उपस्थिति पाएकोमा शनिबार भने हाउसफुल भएको जनाइएको छ । ‘फिल्मले राम्रो गर्यो’ भन्ने वितरकमार्फत खबर सुनेपछि फिल्मकी निर्देशक निलु डोमा शेर्पा उत्साहित भएकी छन् । डेब्यु निर्देशन भएकाले पनि उनी प्रायः हलहरुमा आफै पुगिरहेकी छन । ‘शनिबार राजधानीको प्रायः सम्पूर्ण हल हाउसफुल थियो’ उत्साहित छु निलुले भनिन्, ‘नामजस्तै दर्शकलाई हँसाउँन सफल भइरहेको छ चलचित्रले ।’ दर्शकले रुचाएपछि निर्देशकको ओठमा समेत हाँसो देखिएको छ । राजधानी बाहिर पहिलो दिन २२ हल पाएको यस फिल्मले दोस्रो दिन २५ हल पाएको छ । राजधानीमा भने यसले पहिलो दिन १५ हल पाएको थियो भने दोस्रो दिन मल्टिप्लेक्समा शो बढेको छ । क्युएफएक्समा २ शो बढाएको छ भने क्युज, बिग, एफक्युबलगायतले पनि दोस्रो दिन ‘हाउ फन्नी’ को शो बढाइएको छ ।

    how funny

    मल्टिप्लेक्समा बिक्ने अनुहारहरुको राम्रो उपस्थिति रहेको यो फिल्म सिंगल स्क्रिनमा पनि राम्रै ब्यापार गरिहेको छ । ‘हामीले मल्टिप्लेक्स त सोचेका थियौं’ निलुले सुनाइन्, ‘तर सिंगल स्क्रिन पनि हाउसफुल भइरहेको छ ।’ फिल्मले दुई दिनमा ५० लाख ग्रस कलेक्सन गरेको उनको भनाइ छ । सन् २००२ की मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेको यस फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, दयाहाङ राई, निशा अधिकारी, अनुपविक्रम शाही, शिशिर राणा, विजय बराललगायतको अभिनय रहेको छ । शान बस्न्यातको लेखन रहेको यस फिल्ममा दुई जासुसको जासुसीलाई कमेडीशैलीमा प्रस्तुत गरिएको छ ।

    how-funny-poster-1

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु