• पञ्चेबाजासँगै सपना पूरा गर्दै डेविट

    म्यूजिक खबर
    प्रकाशित: ३० पुष २०७४, आईतवार

    ३० पुष, काठमाडौं । गीतसंगीतमा लागेको ११ वर्षको यात्राभित्र गायक डेविट शंकर मिडियाभन्दा पर देखिएको जस्तो लाग्छ । माइ ड्रिम्स एल्बम बजारमा ल्याएपछि सांगीतिक क्षेत्रको विभिन्न गतिविधिमा आफूलाई समावेश गर्दै आएका उनी पाँचथर तारा, इलाम तारा हुँदै काठमाडौंको खाल्डोमा सपना बुन्दै आएका छन् । पढाइलाई साथमा लिएर काठमाडौंमा गायक बन्ने सपना बोकेर हिंड्का गायक डेविट शंकरको यात्राले यतिबेला भने सार्थकता पाएको छ ।


    चलचित्र पञ्चेबाजाको घिनघिन मादल बोलको गीत यतिबेला निकै चर्चामा छ । गीतको चर्चासँग गायक डेविट शंकरको पनि चर्चा हुनु स्वाभाविक नै हो । तर गीत जसरी चलिरहेको छ उनी भने पर्दापछाडि परिरहेका छन् । यसरी पर्दापछाडि हुनुमा एउटा त मिडियाबाजी गर्न नजान्नु र अर्को जति छ त्यसमै सन्तुष्ट हुनु हो भन्छन् उनी । विकास चौधरीको संगीत प्रदीप भारद्वाजको शब्दमा रहेको गीत घिनघिन मादलमा गायिका अन्जु पन्तसँग गाएको छन् उनले । एक सयभन्दा बढी गीतमा स्वर दिइसकेका गायक डेविट शंकरकै अगाडि गीत बजाइरहेका हुन्छन्, गीतको चर्चा हुन्छ तर गायक नचिन्दा कता कता दुःखी बनाए पनि गीतले नोटिस गराउँदा डेबिट शंकर राम्रो गायक रहेछ भन्ने चाहिँ बनाएको उनी खुशी पनि छन् ।

     


    आफू बस्ने घरसँगै बसेकाहरुले गीत बजाइरहेका हुन्छन्, यो गीत मैले गाएको हो नि भन्दा कतिले त पत्याउँदैनन् पनि, उनले ती क्षण सम्झिएँ । चलचित्र गोरेको लिटरका लिटर पोखियो माया, चलचित्र चलेछ बतास सुस्तरीको मिठो मिठो, बृन्दावनको गीत जस्ता धेरै गीतले राम्रै चर्चा पाए तर उनलाई भने चर्चामा ल्याउन नसकेको पक्कै हो । चलचित्रका गीत हिट हुन्छन् तर हिरो हिरोइन देखिने हुँदा प्रस्तोता पछाडि परेको जस्तो पनि लाग्छ उनलाई ।


    गीतको चर्चासँगै उनलाई मुलुकभित्र हुने विभिन्न महोत्सवमा निम्तो आइरहेका छन् । उनी यतिबेला महोत्सवको लागि व्यस्त बन्दैछन् । ११ वर्षको दुःख र मेहनतसँगै बल्ल खुशीको दिन भित्रिएको अनुभव उनीसँग छ । काठमाडौं छिर्दा राम्रो गायक बन्ने सपना बोकेका उनी अहिले भने सपना पूरा हुने बाटोमा दौडिएको बताउँछन् । इलामबाट नै संगीतको जिम्मेवारी बोकेर पाँचथर तारा र मेची ताराको उपाधि चुमेका उनले अब भने संगीतको उज्ज्वल तारा बन्ने लक्ष्यमा छन् । गायक बन्न आवाज चाहिन्छ त्यो आवाजका लागि संगीतका सुरहरु राम्रोसँग साधना गर्नुपर्छ भन्नेमा उनको मान्यता छ । निरन्तर लगनशील भएर संगीतको साधना गरेमा एक दिन गायक बनिँदोरहेछ भन्नेमा उनी विश्वास राख्छन् । आफूलाई यो स्थानमा उभ्याउन सफल बनाउने धेरै जना हुनुहुन्छ सबैको नाम लिन नसके पनि सबैप्रति आभार प्रकट गर्दछु उनले भने – ‘मार्गदर्शक धेरै जना हुनुहुन्छ ।’ हौसला दिने मान्छे नै महत्वपूर्ण हो भन्ने सोचेको छ । कुनै दिन निराश भएर यो ठाउँ छोडौं कि भन्ने सोचमा भएका उनी अहिले भने धेरैको प्रेरणाले गायकको स्थानमा पुग्न सफल भएको बताउँछन् ।

    https://youtu.be/qNFICYSISfk

    शब्द/तस्विरः सुमन पण्डित

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु