पासाङ भन्छन्ः गीत लेखन र मोडलिङ सँगसँगै लैजान्छु

म्यूजिक खबर
प्रकाशित: ७ पुष २०७३, बिहीबार

पौष ७, काठमाडौं । गीतकार पासाङ तामाङलाई यतिबेला परदेशले गीतकार मात्र बनाएन उनलाई एउटा मोडल पनि बनाएको छ । प्रवासको भूमिबाटै आफूलाई कलाकारितामा सक्रिय गराउँदै आएका पासाङले स्वदेशको मायाभित्र गीति लेखनलाई अगाडि बढाउँदै आएका थिए । प्रवासमा बसेर घरबासको यादभित्र गीत लेख्दा लेख्दै उनले आफ्नो जिन्दगीको यात्रा सांगीतिक क्षेत्रमा मोडिएको पत्तै पाएनन् । पछिल्लो सयमा आफ्नै एकल लेखनमा तयार भएको आधुनिक एल्बम तिम्रो यादमा बजारमा ल्याउने तयारीमा जुटेका छन् । जसमा संगीतकार मनीपाल राईको एकल संगीत छ भने नेपालका चर्चित गायक गायिकाको स्वर समावेश गरिएको छ ।

pasang
पूर्वी नेपालको धनकुटामा २०४६ साल जेठ ३ मा जन्मिएका गीतकार पासाङ हँसिलो मुहार मिलनसार स्वाभावका व्यक्तित्व हुन् । सानैदेखि नेपाली गीति लेखनमा खुबै रुचि राख्ने गीतकार पासाङ फुर्सदको समयमा गीतहरु लेख्ने अनि गाउँघरमा मेलापात, दाउरा घाँस उकाली ओराली गर्दा आफैले लेखेका गीतहरु गुनगुनाउदै हिंड्ने गर्थे रे । त्यो मेलापात, उकाली ओरालीले मात्र होइन उनलाई प्रवासको माटोले पनि गीतकार हुनमा ठूलो सहयोग पु¥याएको छ ।

timro-yadma
स्वदेशकै माटोमा सुन फलाउने सपना मनमा भए पनि बाध्यताले उनलाई प्रवास पस्न बाध्य बनायो । सपना मानिसको ठूलो हुन्छ तर सपनाजस्तै विपना कहिल्यै पनि हुँदैन । गीतकार पासाङलाई पनि सपनाले विपनामा जस्ताको तस्तै बनाउन सकेन । सपना स्वदेशमै रमाउने थियो तर बाध्यताले विदेशिनु परे पनि गीतसंगीतमा लाग्ने उनको सपना भने पूरा भएको छ । मुग्लान हानिएपछि नै उनको सपनाको शहर मलेसियाले उनलाई सर्जक बनायो । प्रवासमा भविश्य खोज्दै गर्दा आफूजस्तै भविश्य खोजिरहेका संगीतकार गायक मनिपाल राईसँग उनको भेट भयो । आफूजस्तै सपना बोकेर भविश्यको खोजी गरिरहेका धेरै नेपालीहरुसँग उनको भेट हुँदै जाँदा मनमा धेरै सिर्जनाहरु सिर्जिएका थिए । हो, त्यही सिर्जनालाई अब उनले संगीतकार मनिपाल राईसँगको सहकार्यमा एउटा मूर्त रुप दिनतर्फ लागे । फलस्वरुप उनको सिर्जनालाई मनिपाल राईले पूर्णता दिलाउनका लागि ठूलो सहयोग गरे र तयार भयो तिम्रो यादमा एल्बम । त्यसो त गीतकार पासाङ तामाङ आफ्नै गीतहरुको भिडियोमा पनि अभिनय गरेर आफ्नो प्रतिभा देखाउनतर्फ लागेका छन् । उनी भन्छन् गीत लेखन र मोडलिङलाई अब सँगसँगै लैजान्छु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु