प्रतिष्ठानले लोकदोहोरी साँझको रनिङ शिल्ड गर्ने

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७१, बिहीबार

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता २०७१ (रनिङ शिल्ड) हुने भएको छ । आगामी चैत २०, २१ र २२ मा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने भनिएको यस रनिङ शिल्डमा दोहोरी साँझहरुको बीच हुने प्रतिस्पर्धात्मक प्रतियोगिता हो । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले रनिङ शिल्डको घोषणा गरेको हो ।
दोहोरी साँझमा कार्यरत रहेर पनि आफ्नो प्रतिभालाई कतिले राष्ट्रियस्तरसम्म पु¥याउन नसकेका प्रतिभाहरुको उत्थानका लागि पनि यो कार्यक्रम लाभादायी हुने प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले कार्यक्रमका जानकारी गराएका थिए । शर्माले दोहोरी साँझका कलाकारहरुको बीचमा हुने यस प्रतियोगिताबाट पुरस्कृत हुने कलाकारहरुलाई नगद राशिसहित शिल्ड प्रदान गरिने बताएका थिए । प्रथम, द्वितीय, तृतीय, सान्त्वना पुरस्कारका साथै उत्कृष्ट भेषभूषा, अनुशासन जस्ता पुरस्कारबाट पनि सम्मान गरिने शर्माले बताए । त्यस्तै प्रतिष्ठानले उत्कृष्ट हुने कलाकारहरुलाई प्रतिभाको कदर गर्दै एउटा गीत रेकर्ड गरिदिने जानकारी गराइएको थियो ।
प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माको सभापतित्वमा कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका निवर्तमान अध्यक्ष दुर्गा रायमाझी, सल्लाहकार नारायण रायमाझी, राजन लम्साल, एभरेष्ट कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, हरि मरहठ्ठा, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, सीता थापा, प्रतिष्ठानको उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमाल लगायतको आतिथ्यता रहेको थियो । प्रतिष्ठानका उपाध्यक्ष बद्री पंगेनीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सोही अवसरमा प्रस्तोता समाजका कार्यसमितिलाई सम्मान गरिएको थियो । समाजका अध्यक्ष हेमन्त शर्माको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिलाई प्रतिष्ठानले सम्मान गरेको हो । कार्यक्रम निरमाया रोधी क्लबको हलमा सम्पन्न भएको थियो ।
त्यस्तै सोही अवसरमा लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले भारतमा उपचारार्थ रहेका पत्रकार एवं गीतकार सूर्यकुमार क्षेत्रीको उपचारका लागि ५० हजार सहयोग प्रदान गरेको थियो ।

d2 d3

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु