मगरको नेतृत्वमा संगीत उद्योग संघ, गफ मात्रै हुन्छ कि काम पनि !

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७२, आईतवार

नेपाल संगीत उद्योग संघको शनिवार भएको १६ औं साधारण सभाबाट सूर्य क्रियशनका संचालक सुर्य मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । प्रज्ञा भवन कमलादीमा सम्पन्न साधारण सभामा मगरको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको थियो ।

संघको उपाध्यक्षमा रामजी प्रसाद पन्त महासचिवमा खगेन्द्र याक्सो, सचिवमा टुकराज काफ्ले, कोषाध्यक्षमा देउमान केरुङ रहेका छन् । त्यस्तै सदस्यहरुमा विमल अधिकारी, सुनिल लामिछाने, केशव सापकोटा, तेजस रेग्मी, नरेश खाती क्षेत्री, उमेश गुरुङ, विजय गोपाल दली र ललित केसी चुनिएका छन् ।

संघको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले शुक्रबार नै नाम फिर्ता लिएपछि सर्वसहमतिबाट नयाँ नेतृत्व चुनिएका थियो । उद्योग वाणिज्य महासंघका शंकर पाण्डेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।

nepal music industries

गफ मात्रै हुन्छ कि काम पनि !

नेपाल संगीत उद्योग संघ संगीत व्यवसायीहरुको छाता संगठनका रुपमा गठन भएको संस्था हो । यो संस्थाले आफ्नो स्थापनाकालदेखि धेरै अनुहारहरु फेरिसकेको छ । रञ्जना म्यूजिकका भगवानकुमार श्रेष्ठदेखि श्रद्धा डिजिटलका शम्भु राई, कर्णाली इन्टरटेनमेन्टका पदम बुढा हुँदै अर्जुन बोहराको नेतृत्वसमेत यस संघले पाइसकेको छ । विगतलाई पल्टाएर हेर्दा म्यूजिक नेपालको ढोकामा धनुष्टंकार नगरेसम्म यो संघ चलेको पाइँदैन । अनामनगरका गल्ली गल्लीमा ठूला गफ दिने, नेतृत्व पाएपछि सिन्को नभाँच्ने प्रवृत्ति पनि केही नेतृत्वकर्तामा देखिएकै हो । कुनै बेला संगीत उद्योग संघको नेतृत्वमा रोयल्टीका लागि आन्दोलन पनि भयो तर त्यसको मूर्त रुप भने ‘३० हजार रुपैयाँ तिर्नेलाई पाइरेसी गर्न छुट’ हुने गरी आन्दोलन तुहिएको थियो ।

nepal sangeet udhog
यतिबेला संघका अगाडि धेरै चुनौतिहरु देखिएका छन् । व्यवसायीभित्र धेरै खेमा भए पनि एकै ठाउँमा समेटेर लैजान भने कसैले सकेका छैनन् । चुनाव नजिक आउँदा भोट माग्नका लागि अफिस अफिस धाउने र म यस्तो गर्छु, उस्तो गर्छु भन्नेहरु चुनाव जितिसकेपछि दूलोमा छिरेको मुसो जस्तै हुने गर्छन् । कसैको तथास्तुबाट मात्र संघ चल्छ भन्ने मान्यता अन्त्य होस् । हो चुनाव भित्र अस्वस्थ प्रतिस्पर्धा हुन्छ, तर स्वस्थ नेतृत्व कहिले पाउँछ संघले भन्ने चिन्ता सधै खड्किरहेको छ । यतिबेला धरासायी बनिरहेको संगीतको क्षेत्रमा संघको नयाँ नेतृत्वले गफ मात्रै गर्छ कि काम पनि गर्छ भन्ने प्रश्न उब्जिरहेको छ । ‘जुन जोगी आए नि कानै चिरेका’ भन्ने उखान सूर्य मगरको नेतृत्वमा नदेखियोस् ।

मगरको नेतृत्वमा आएको नयाँ कार्यसमितिलाई म्यूजिक खबर डटकम सफल कार्यकाल एवं उद्योगका लागि सम्झनयोग्य काम गरोस् भन्ने शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु