‘मेरा लागि दोहोरी साँझ पाठशाला बनेको छ’

म्यूजिक खबर
प्रकाशित: २५ पुष २०७४, मंगलवार

राजन ठकुरी/म्यूजिकखबर


२५ पुष, काठमाडौं । कल्पना सुनुवार अहिले लोकदोहोरी गायनमा चर्चा बटुल्दै गरेकी गायिका हुन् । डाँडैमा विजुली आयो बोलको गीतबाट गायनमा प्रवेश गरेकी कल्पनाले एकाएक चर्चा बटुल्न सफल भइन् । जुन गीत म्यूजिक खबर म्यूजिक अवार्डमा पाँच विधामा पर्न सफल भयो भने तीन विधामा अवार्ड चुम्न सफल पनि भयो । त्यसपछि अहिले आँखै नलाउनी गीत बजारमा ल्याउने तयारीमा रहेकी छन् । स्टेजलाई केन्द्रित गर्दै फरक स्वादमा मौलिकता झल्कने गरी बजारमा ल्याउने तयारीमा छिन् । उनी यसरी चर्चित हुनेमा गायक विरही कार्कीको सबैभन्दा ठूलो सपोर्ट रहेको गायिका कल्पना बताउँछिन् । गायक कार्कीकै गीत सुनेर उनी लोकदोहोरी गाउन थालेको उनले बताइन् । बुबा पहिला रेडियो, घडी, क्यासेटहरु बनाउने काम गर्नुहुन्थ्यो, त्यतिबेला लोकदोहोरी गीतहरु धेरै सुनिन्थ्यो । सुनखानीमा सुन, आमा तिम्ले लगाएको चुरा फुट्दा खेरी जस्ता गीत गायक विरही कार्कीको सुनें र म उहाँको फ्यान बन्न पुगेँ । त्यही कारण आज उहाँसँगै नयाँ गीतहरु गर्ने अवसर पाएको हुँ, गायिका कल्पनाले भनिन् ।

रामेछाप घर भएकी कल्पनाले २०६८ एसएलसी भने लालबन्दी सर्लाहीबाट दिएकी हुन् । उनी एसएलसी दिएपछि सर्लाही रेडियोमा लोकदोहोरीको कार्यक्रम संचालन गर्न थालेकी थिइन् । दोहोरी गाउने कायक्रम भएकाले उनको स्वरको प्रशंसा त्यहाँ पनि हुन थाल्यो । पहिला पहिला मेलापात, पूजाआजामा गीत गाउँदा पनि गाउँलेले उनको प्रशंसा धेरै नै गर्थे । साथीभाइहरु मैले गीत नगाएसम्म कहिँ पनि नजाने भएका थिए कल्पनाले पुराना दिन सम्झिँदै भनिन् – ‘मेरो स्वरको प्रशंसाकै कारण मलाई रेडियो सर्लाहीका अध्यक्ष चुडामणि वाग्ले सरले काठमाडौं जाने सल्लाह दिनुभएको हो । उहाँले काठमाडौं जाउ एल्बम निकाल भनेर पठाउनुभयो र नै काठमाडौं आउन सफल भएँ ।’


गायिका कल्पना काठमाडौं प्रवेश गरेर गायिका बन्ने सपना बोकेर हिंडेकी थिइन् । तर उनले सोचेजस्तो सजिलो काठमाडौं भने रहेनछ । गीतसंगीतमा धेरै गाह्रो रहेछ, गाउँमा जस्तो सजिलो गरेर गीत गाउन नसकिने ठाउँ रहेछ, उनले भनिन् । काठमाडौं आउनेवित्तिकै दोहोरी साँझ काम गर्न थालेकी कल्पनाले धेरै उतार चढाव भोगेकी छन् । पहिलोपटक एल्बम निकाल्ने सोचले सेलो गीत गाएकी कल्पनाले त्यो गीत बजारमा ल्याउन पाइनन् । गीत रेकर्ड भयो तर जोसँग मिलेर काम गरेकी थिइन् उसले पैसा खाइदिएर फरार भइदिँदा सपना चकनाचुर भयो र गीतमा लगानी गर्न उनको मन लागेन । त्यसको ७–८ वर्षपछि बल्ल डाँडैमा विजुली आयोबाट उनको डेब्यू भएको हो रेकर्डको दुनियाँमा । स्टुडियोमा पहिलोपटक गीत गाउँदा डर लाग्यो उनले भनिन्– गाउँको कार्यक्रममा गाएजस्तो हुँदो रहेनछ । बुबाले गाउँमा शिक्षिका बनाउने रहर लिनुभएको थियो तर म भने गायिका बन्ने रहर बोकेर हिंडेकी थिएँ । मैले जब गीत गाउने पेशा रोजें बुबासँग केही समय बोलचाल पनि भएन रिसाउनु भयो । तर मैले गाएका गीत चर्चामा आउन थाले, टिभीमा आउन थालेपछि कमाइ पनि राम्रो हुन थाल्यो र बुबाले पनि ठीकै पेशा रोजेकी रैछ छोरीले भन्नुभयो । अहिले खुशी हुनुहुन्छ ।

दोहोरी साँझमा काम गर्ने भन्ने वित्तिकै फरक किसिमले सोच्ने गरिन्छ । आखिर गीतसंगीतको माध्यमले त्यहाँ व्यवसाय गरिएको हो तर गलत तरिकाले त्यसलाई लिनुपर्ने देखिँदैन । आफ्नो स्वर प्रस्तुत गर्ने हो, ड्यूटी सकिएपछि घर फर्कने हो । तर दोहोरी भन्ने वित्तिकै नेगेटिभ सोच्नुपर्ने कारण देख्दिनँ । दोहोरी साँझमा आउनेले त फरक सोच्ने गर्छन् भने गाउँलेले सोच्नु स्वभाविक नै हो किनकी गाउँबाट दोहोरीको वातावरण बुझ्न सकिँदैन । बरु दोहोरी साँझमा गायक गायिकाले ग्राहक बोलाउन नसके जागिरबाट निकालिदिनेसम्मका कुराहरु हुन्छन्, कल्पनाले भनिन्– मेरा लागि दोहोरी साँझ पाठशाला भएको छ । जहाँ म गायनसँगै संगीतको क्लास लिइरहेको हुन्छु ।

काठ क्षेत्रको बासिन्दा तर गायिका कल्पनालाई भने पश्चिमी गीतहरुले आकर्षित गर्ने गर्छ । काठे गीत पनि गाएकी छन् तर उनलाई पश्चिमी दोहोरी नै बढी मन पर्ने गर्छ । डाँडैमा विजुली आयो, आँखै नलाउनी जस्ता पश्चिमी लोकशैलीलाई आत्मसात गरेकी कल्पनालाई गीतसंगीत भनेको औषधीजस्तै लाग्ने गर्छ । दुःखपीडा होस् वा जीवनका हरेक मोडमा होस् गीतसंगीतले प्रभाव पार्ने भएकाले यो एउटा मेडिटेशनका रुपमा उनले लिने गरेकी छन् । अबका दिन पनि गीतसंगीतमा नै निरन्तर लाग्ने सोच बोकेकी कल्पनाले स्रोताहरुकै मायाको कारण स्थापित भएको बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु