संगीत उद्योगको मार्गदर्शक को ?

म्यूजिक खबर
प्रकाशित: ८ भाद्र २०७२, मंगलवार

सुमन बैरागी


आजभोलि बजारमा मौलिक संस्कृति हरायो, पाइरेसी बढ्यो, संगीतको बजार खस्कियो भन्नेहरुको कमी छैन र भएको पनि त्यस्तै छ । कुरा किन यसरी भइरहेको छ ? भन्ने विषयमा भने हामी अझसम्म कुनै उपायको खोजीमा रहेका छैनौं । मौलिक कला संस्कृति हराउनुमा कसको दोष छ त ? पाइरेसी गर्ने र संगीत बजार घाटामा लैजाने को हुन् त ?
संगीत सिर्जना गर्नेहरु बजारमा नै दौडिरहेका छन् । को हुन् त मौलिक सिर्जना बजारमा ल्याउने हकदार स्रष्टा । किन सबै स्रष्टाको दायित्व बराबर हुँदैन भन्नुप¥यो । दिनदिनै बजारमा एल्बमहरु सार्वजनिक भइरहेका छन्, त्यो त औपचारिक कार्यक्रम गरेर बजारमा ल्याइएका एल्बमहरुको हिसाब गरियो । तर रेकर्ड गर्ने र कुनै पनि औपचारिक कार्यक्रम बिना बजारमा ल्याइराख्ने गीतसंगीतको संख्या हेर्ने हो भने प्रष्ट हुन्छ गीतसंगीतको बजार खस्किएको छैन । यदि गीतसंगीतको बजार खस्किएको भन्ने कुनै सप्रमाण छ भने संगीतकर्मीहरु किन आवाज उठाउन सक्दैनन् ? बजार खस्कियो, पाइरेसी बढ्यो भनेर कुर्लिने संगीतकर्मीहरु आफैं त्यसको पक्षमा रहेका छन्, तिनीहरु नै बजारमा ब्रम्हलुट मच्चाउनेहरु हुन् भन्दा फरक पर्दैन ।

Police officers look on as a road roller is used to destroy confiscated pornographic DVDs and pirated publications in Xi'an

पाइरेसी बढ्यो भन्नेहरुको कुरा गरौं, जो पाइरेसीको कुरा गर्छ त्यो नै सबैभन्दा बढी पाइरेसी गरिरहेको हुन्छ । स्रष्टाले पाइरेसीको कुरा गर्दा ऊ आफैं त्यसको सुरुवात गर्ने मान्छे हो । मेरो गीत यस्तो भयो र उस्तो भयो भनेर प्रविधिको दुरुपयोग गर्ने पहिलो व्यक्ति नै स्रष्टा आफैं नै हुनजान्छ । स्रष्टाबाट सुरु भएको पाइरेसीलाई अरुबाट रोक्न खोज्नु पनि दुस्साहस हो भन्ने मैले बुझेको छु । तर स्रष्टाबाट भएको थोरै पाइरेसीको पछाडि अवैध रुपमा स्रष्टाका सिर्जना बेच्ने दलालहरुका कारण पाइरेसी बढेको भने पक्कै हो । छोटो समयमा करोडौं कमाउने हिसाबले संगीतमा चलखेल गर्ने कथित व्यापारीहरुको एउटा जत्था छ, उनीहरु यस क्षेत्रमा यसरी मरिमेटी लागिरहेको छन् की, स्रष्टालाई कसरी बेचुँ र स्रष्टाको सिर्जनामा कसरी आफ्नो हालीमुहाली गरौं भन्ने ध्याउन्नबाहेक अरु सोच्न सकेका छैनन् । तिनै कथित व्यापारीहरुको आडमा नाम मात्रको संगीत उद्योग पनि जसोतसो चलिरहेको लाग्छ । संगीत उद्योगका नाममा उनीहरुले कुनैबेला केही रकम प्रदान गर्नेहरुले मात्र पाइरेसी गर्न पाइनेछ भनेर अनुमति दिएका थिए । फलतः त्यसको पनि पूर्ण रुपमा छेद भएको छ । अहिले बजारमा मोबाइल पसल, घडी पसललगायतका कम्प्युटर अगाडि राखेर बस्ने नाङ्ले व्यापारीहरु छन् उनीहरु सबै गीत पाइरेसी गरेर प्रति गीतको ५० रुपैयाँका दरले रकम असुलिरहेका छन् । तर त्यो सिर्जना गर्ने स्रष्टाले भने जति लगानी ग¥यो त्यसको लगानीसमेत उठाउन सकिरहेको छैन । हाम्रो संगीत उद्योगको बिडम्वना नै बनिरहेको छ पाइरेसी काण्ड ।

अब कुरा गरौं मौलिक कला संस्कृति हराएको छ भन्ने कुराको । अघिल्ला पुस्ताका केही स्रष्टाहरु भन्ने गर्छन् मौलिक कला संस्कृति हरायो, लोकसंगीतमा पश्चिमा शैलीका गीतहरुको हावी भयो । लोकदोहोरी बजारमा आइरहेका छन् तर पश्चिमा शैलीले गाँजेको हुँदा त्यो दोहोरी मात्र भन्न सकिने भयो भने लोक थप्नु आफैंमा गलत हो भनिरहेका छन् । वास्तविक रुपमा लोक संगीतको कुरा गर्दा अहिले बजारमा एउटा पनि लोकसंगीत भेटिँदैन । वास्तविकताभन्दा धेरै पर पुगिसकेको लोकसंगीत । आजभोलिको पश्चिमा शैलीका गीतहरुले गर्दा दोहोरी मात्र भन्न सीमित हुनुपरेको दृष्टान्तले गर्दा लोक संगीतमा मौलिकता हराएको भने पक्कै हो ।

folk song lok
गीतको अगाडिपट्टि लाजै नमानीकन लोक थप्ने तर गीतको प्रकृति न लोक, न आधुनिक, न पप अझ भनौं लिङ्ग नै नछुट्टिने खालका गीत गाएर, बनाएर अनि बजारमा पृथक शैलीको गीत बनाएँ भनेर डंका पिट्नेहरु छ्यास्छ्यास्ती भेटिन्छन् । पछिल्लो समय विश्व संगीत जगतमा चल्ती गीतको प्रभाव बढ्दै गएको छ । त्यसैको सिको गरेर स्टेज गीतको नाममा पाङ्ग न पुच्छरका भाका, अश्लिल र अर्थ बाझिने शब्द, परिवारसँगै बसेर हेर्न नमिल्ने भिडियो बनाएर नेपाली लोकसंगीतलाई बदनाम गराउने निर्लज्ज जथ्थाहरु पनि चियापसलमा खुराफाती गफ हाँकिरहेका हुन्छन् । अझ बिडम्वना के छ भने यस्तै शैलीका गीत गाउने र बनाउनेहरु समयको माग हो भनेर गफ चुट्न पछि पर्दैनन् । अब मौलिक लोकसंस्कृति हरायो भनेर गफ चुटेर बस्ने की योगदान पनि गर्ने ? यो नै महत्वपूर्ण प्रश्न संगीतकर्मीलाई ।

छोटो समयमा सस्तो लोकप्रियता कमाउने उद्देश्यले प्रवेश गरेका हाम्रा स्रष्टा भनाउँदाहरु रातारात गीत रेकर्ड गराएर बजारमा केही पत्रपत्रिकामा छपाउने र पलायन हुने सोच भन्दा माथि उठ्न सकेका छैनन् । पलायन हुने कलाकारहरुको सूची केलाउने हो भने कुनै समय चल्तीमा रहेका प्रेमराजा महत, भगवान् भण्डारी, बुद्धिसागर बस्यालदेखि राजेन्द्र लम्साल क्षेत्री अनि पछिल्लो पुस्ताका विमल डाँगी निशा सुनारसम्मको लाइन नेपालदेखि अमेरिकासम्म छ । उनीहरु यो देशबाट टाढा रहेका छन् तर हामी विदेशमा रहेर पनि नेपाली कलासंस्कृतिको संरक्षण र सम्बद्र्धनमा लागिरहेका छौं भन्न भने पछि पर्दैनन् । होला आक्कल झुक्कल प्रेमराजा महत कहिलेकाहीँ नेपाल छिर्ने गर्छन् र गीतसंगीत सिर्जना पनि गर्ने गर्छन् । विमल डाँगी पनि उतै बसेर नेपालमा गीत निकालिरहेका छन् ।

अब नेपालमै रहने कलाकारहरुको कुरा गरौं । बमबहादुर कार्की, नारायण रायमाझी, दुर्गा रायमाझी, इन्द्र जिसी, पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, अम्बर विरही गुरुङ जस्ता लोकगीतका हस्तीहरु यही नेपालभित्रै छन् । तर वास्कविक मौलिक कला संस्कृति हरायो भनेर बजारमा यतिको हल्ला चलिरहेको बेला भने यिनीहरु कहाँ कसरी बसिरहेका छन् ? जसलाई लोकसंस्कृतिको क्षेत्रमा कुलदेवताझैं पुज्ने गर्छन् तर यिनीहरुले किन यसको बारेमा कुनै कुरा उठाउँदैनन् र संस्कृतिको जगेर्ना गर्नका लागि मार्गदर्शन गर्न सक्दैनन् । जुन बेला मौलिक कलासंस्कृति थियो त्यो बेला आफैं बनेको रहेछ र अहिले हराएको हो यसको मार्गदर्शन गर्न सक्ने व्यक्ति कोही नभएको हो भन्ने कुरा पनि यहाँ प्रष्ट भएको छ ।
अहिले बजारमा ३० सेकेन्डको गीतसंगीतले मात्र बजार पाएको छ । सिआरबीटी र पिआरबीट भन्दै हिंड्नेहरुले मात्र यो बजार धानिरहेको भन्नेहरुको पनि कमी छैन । विदेशबाट आउने आरबीटीको रकमले यहाँ करोडौं कमाउनेहरुको पनि कमी छैन । रातारात घर ठड्याउने, कार चढ्ने उद्देश्यले हिंडिरहेका अवैध संगीतकर्मीहरु र पैसा भएका बुद्धि नभएका केही संगीतकर्मीहरु मिलेर नै यो संगीत उद्योग धरापमा पारेका हुन् । सस्तो लोकप्रियताका नाममा पलायन मोह राख्नेहरुले गर्दा पनि संगीत उद्योग खस्किएको हो । तर संगीत सिर्जना गर्नेहरुको भने प्रविधिको विकाससँगै ‘नटबल्टु’ गायक गायिकाको भीड भने दिनदिनै लागिरहेको छ । यसले गर्दा वास्तविक गायकगायिकाहरु र संगीतकारहरु पनि मर्कामा परिरहेका छन् । अध्ययनबिना संगीतमा भित्रनेहरुको जमातले गर्दा आज संगीत उद्योगको अवस्था नाजुक बनिरहेको हो । यसको मार्गदर्शक को हो त ? यसको जिम्मेवारी कसले लिने त ? संगीत उद्योग आफैंमा सबल भएर पनि यसलाई असफल बनाउनेहरुको जमातले निराशामा परिणत गराएको छ । यसको अन्त्य जबसम्म हुँदैन तबसम्म हाम्रो संगीत उद्योगले विकासको गति लिँदैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु