ग्ल्यामरको ताजदेखि रजतपटको ब्लकबस्टर यात्रामा दौडिएकी ‘न्यान्सी खड्का’

म्यूजिक खबर
प्रकाशित: २९ असार २०८३, सोमबार २१:२१

काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रमा हरेक वर्ष नयाँ अनुहारको आगमन हुन्छ, तर थोरैले मात्र पहिलो प्रयासमै दर्शकको मन र बक्स अफिसमा बलियो छाप छोड्न सफल हुन्छन्। सौन्दर्य प्रतियोगिताको बौद्धिक मञ्चबाट बाहिरिएर नेपाली चलचित्रको पर्दामा एकैपटक तहल्का मच्चाउने एउटा यस्तै प्रतिभाशाली नाम हो – न्यान्सी खड्का। ‘मिस नेपाल इन्टरनेसनल २०२२’ को ताज पहिरिएकी न्यान्सी आज नेपाली सिनेमा जगत्‌की आशालाग्दो र व्यस्त अभिनेत्रीका रूपमा स्थापित भइसकेकी छिन्।
धेरैलाई लाग्न सक्छ, न्यान्सीको यात्रा मिस नेपालको मञ्चबाट सिधै सुरु भयो। तर, यसको जग निकै बलियो थियो। सन् २०१६ देखि २०२० सम्म उनले अमेरिकाको क्यालिफोर्नियामा कम्युनिकेसन स्टडिज (सञ्चार अध्ययन तथा वक्तृत्वकला) मा स्नातक र साइकोलोजी (मनोविज्ञान) मा माइनर गरेकी थिइन्।
अमेरिकामा अध्ययनकै क्रममा उनले मोडलिङलाई अगाडि बढाइन्। उनको सुन्दरता र व्यक्तित्वकै कारण उनी प्रतिष्ठित अन्तर्राष्ट्रिय मुभि र पेरिस म्यागजिन मा समेत फिचर हुन सफल भइन्। यही शैक्षिक पृष्ठभूमि र सञ्चार कलाले उनलाई भीडमा सधैँ फरक र प्रखर बनायो।
सन् २०२२ मा नेपाल फर्किएर न्यान्सीले ‘मिस नेपाल इन्टरनेसनल’ को उपाधि जितिन्। तर उनी केवल एउटा सुन्दर अनुहार मात्र थिइनन्। आफ्नो कार्यकालभरि उनले सामाजिक मुद्दा, विशेष गरी मानसिक स्वास्थ्य चेतना (Mental Health Awareness) सम्बन्धी अभियानमा आफूलाई सक्रिय रूपमा अगाडि बढाइन्।

त्यसपछि उनले जापानको टोकियोमा आयोजित ६० औँ मिस इन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट प्रभावशाली प्रतिनिधित्व गर्दै नेपाली सुन्दरीको बौद्धिकता र कलालाई विश्वमञ्चमा प्रस्तुत गरिन्।

मिस नेपालको कार्यकाल सकिएपछि धेरैले न्यान्सीको आगामी यात्रा के होला भनेर चासो राखिरहेका थिए। उनले सबैलाई सरप्राइज दिँदै चलचित्र क्षेत्र रोजिन्। एक्सन स्टार विराज भट्टको निर्देशनमा बनेको वर्षकै प्रतिक्षित र ब्लकबस्टर चलचित्र ⁠‘१२ गाउँ’ बाट उनले मुख्य अभिनेत्रीका रूपमा डेब्यु गरिन्।

फिल्ममा नवनायक समिर भट्टको जोडी बनेर ‘अंकिता’को भूमिका निर्वाह गरेकी न्यान्सीलाई दर्शकले पर्दामा निकै रुचाए। पहिलो फिल्म व्यावसायिक रूपमा ब्लकबस्टर भएपछि उनको फिल्मी यात्राले एकाएक नयाँ उचाइ लियो।

पहिलो चलचित्र व्यावसायिक र एक्सनप्रधान भए पनि न्यान्सी आफूलाई भर्सटायल अभिनेत्रीका रूपमा चिनाउन चाहन्छिन्। यसै क्रममा उनी निर्देशक विनयराज पौडेलको चलचित्र ‘अक्षरा’मा मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भइन्। हालै सार्वजनिक भएको ‘अक्षरा’ को पहिलो लुक्स र पोस्टरमा उनको गम्भीर एवं भावुक अवतारलाई लिएर सिने वृत्तमा निकै प्रशंसा भइरहेको छ। उनले भर्खरै यस चलचित्रको डबिङ कार्य समेत उत्साहका साथ सम्पन्न गरेकी छिन्।

न्यान्सीको लोभलाग्दो व्यस्तता यतिमा मात्र सीमित छैन। उनी मेगास्टार अनमोल केसी र भुवन केसीको बहुप्रतिक्षित रोमान्टिक चलचित्र ‘बाटुलो जुन’ मा पनि महत्त्वपूर्ण भूमिकामा अनुबन्धित भएर काम गरिसकेकी छिन्, जुन चलचित्र छिट्टै प्रदर्शनमा आउने तयारीमा छ।

नेपाली चलचित्र उद्योगमा विगतमा कतिपय ‘मिस नेपाल’ हरूको फिल्मी यात्रा लामो समय टिक्न नसकेको इतिहास छ। तर, न्यान्सी खड्काले आफ्नो बलियो शैक्षिक पृष्ठभूमि, गम्भीर अभिनयप्रतिको लगाव र बुद्धिमानीपूर्वक गरिने स्क्रिप्ट छनोटका कारण यो भ्रमलाई चिर्दै छिन्। पहिलो फिल्मको सफलता र हातमा रहेका ठूला ब्यानरका चलचित्रहरूले के स्पष्ट पार्छ भने -न्यान्सी खड्का नेपाली रजतपटमा लामो रेसको घोडा बन्ने दौडमा छिन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु